खोज्दै जाँदा थाहा भयो, चार महीनायता पुराना टायर सबै देवदह नगरपालिकास्थित केरवानीमा खोलिएको स्पीड इनर्जी इन्डस्ट्रिज प्रालिमा पुग्दोरहेछ। जहाँ फालिएका र थोत्रा टायरबाट तेल निकालिंदोरहेछ। उद्योगका लागि फालिएका टायर जहाँ भेटिन्छन् त्यहींबाट संकलन गरिन्छ। उद्योगका प्रबन्ध निर्देशक अजयमान श्रेष्ठ भन्छन्, “थोत्रो टायर प्रतिकेजी २० रुपैयाँसम्ममा किन्छौं। ल्याउनेलाई पनि फाइदा, हामीलाई पनि फाइदा, वातावरण पनि सफा!”
तह लाग्छ टायर
फालिएका टायर वातावरणका शत्रु हुन्। टायर जलाउँदा निस्कने धुवाँबाट हुने प्रदूषणको असर झ्नै गहिरो छ। तर, त्यही फोहोरबाट बुटवलका उद्योगी भुपालकुमार श्रेष्ठ र अजयमान श्रेष्ठसहित चारजनाको समूहले मोहर कमाइरहेका छन्।
यो उद्योगको मुख्य कच्चा पदार्थ टायर हुन्। त्यसबाट औद्योगिक इन्धन (फर्निस तेल) उत्पादन गरिन्छ। यो तेल छड, धातु, बिस्कुट, दालमोठ लगायतका ठूला उद्योग र होटलमा इन्धनका रूपमा प्रयोग हुन्छ। नेपालमा यस्तो तेल दुबई, सिंगापुर, ताइवान, भारत लगायतबाट आयात गरिन्थ्यो। पञ्चकन्या उद्योगमा मासिक १० हजार लीटर फर्निस तेल प्रयोग हुन्छ। फोहोर व्यवस्थापनमा समेत योगदान पुर्याउने यस्तो उद्योग गत वर्ष पहिलोपटक कपिलवस्तुको चन्द्रौटामा खोलिएको थियो।
टायर गालेर तेल निकालिने भए पनि उद्योगमा धुवाँरहित प्रविधि जडान गरिएको स्पीड इनर्जीका अध्यक्ष भुपालकुमार श्रेष्ठको दाबी छ।
उद्योगका प्राविधिक सञ्जय देशदलहीका अनुसार टायर गालेर तेल निकाल्ने यो पानी, ग्याँस र ताप केन्द्रित प्रविधि हो। मेसीनमा थोत्रा टायर राखेर ४२५ डिग्री सेल्सियससम्म तापक्रम दिइन्छ। मेसीनमा आफैं ग्याँस उत्पन्न हुन्छ। र, ग्याँसबाटै ताप बढ्दै जान्छ। निश्चित तापक्रममा टायरको कार्बन र मसिना रड अर्कातिर जम्मा हुन्छन्।
ग्याँसबाट उत्पन्न तरल पदार्थ पानीजन्य र तेलजन्य पाइपमा जम्मा हुन्छ। त्यही तेल ट्यांकरमा भण्डारण गरिन्छ। यस्तो तेलको बजार मूल्य प्रतिलीटर रु.५५ पर्छ। प्रबन्ध निर्देशक अजयमान एक सय किलो टायर बराबर ४० लीटर तेल उत्पादन गर्न सकिने बताउँछन्। उनी भन्छन्, “माग उच्च छ। तर, हामीले पाँच प्रतिशत मात्र तेल उत्पादन गर्न सकेका छौं।”
देशभर हरेक महीना करीब ६०० टन टायर बेकामे हुन्छन्। जसले उद्योगमा कच्चा पदार्थको मात्रा धानिरहेका छन्। तर पुराना टायर भारततर्फ लैजाने क्रम नरोकिने हो भने केही वर्षपछि कच्चा पदार्थ अभावको सम्भावना हुने उद्योगीहरू बताउँछन्।
रि–साइकल आकर्षण
बुटवल औद्योगिक क्षेत्रको मेटल काष्ठ उद्योग यिनै कच्चापदार्थ प्रयोग गरी एल्बो, सिलाई मेसीनका खुट्टा लगायतका वस्तु उत्पादन गर्छ।
रूपन्देहीमा रहेका ५० भन्दा बढी प्लाष्टिक उद्योगमध्ये रेशमी प्लाष्टिक, श्रेष्ठ प्लाष्टिक, एभरेष्ट प्लाष्टिक, आलम प्लाष्टिक, एब्रासिभ प्लाष्टिक लगायतका उद्योगहरूले पुराना र फ्याँकिएका प्लाष्टिक नै प्रयोग गर्छन्। यहाँका प्लाष्टिक उद्योगमा दैनिक २५ ट्रकभन्दा बढी बेकामे प्लाष्टिक खपत हुने आलमको भनाइ छ।
भैरहवाको रिलायन्स पेपर मीलले पनि फालिएका पुराना कागज संकलन गर्छ। मधौलियामा रहेको टेक्सयार्न रिसाइक्लिन उद्योगले पुराना कपडाबाट नयाँ धागो बनाउँछ। रूपन्देहीमा यस्ता तीन दर्जन उद्योग सञ्चालनमा छन्।
देशभर दुई हजारभन्दा बढी पुनःप्रयोगका लागि प्रशोधन गर्ने उद्योग रहेको अनुमान छ। रूपन्देही उद्योग संघका अध्यक्ष बोनिन पिया पछिल्लो समय यस्ता उद्योगहरू बढेको बताउँछन्। भन्छन्, “आफ्नै गाउँ–शहरमा भेटिने खेर गइरहेका सामान नै कच्चा पदार्थका रूपमा प्रयोग हुन थालेपछि सरसफाइ र वातावरणमा टेवा पुगेको छ।”