१३-१९ वैशाख २०७२ | 26 April - 2 May 2015

सफा–सुन्दर शौचालय

Share:
  

झाडी, जंगल वा एकान्तमा दिसा–पिसाब गर्ने चलन अहिले पनि नेपाली गाउँबस्तीमा हट्न सकेको छैन। त्यही भएर सरकार र गैरसरकारी संस्थाहरूले नेपाललाई 'खुला दिसामुक्त क्षेत्र' घोषणा गर्ने अभियानमा छन्। सबै जिल्लालाई खुला दिसामुक्त क्षेत्रमा परिणत गर्न सके जनस्वास्थ्यका दृष्टिले मुलुकले ठूलो फड्को मार्ने विकासविद्हरूको धारणा छ। शौचालय बाहिर दिसा–पिसाब गर्नु रोगको महत्वपूर्ण कारण मानिंदै आएको छ। गाउँघरमा यसप्रति चेतना बढ्दै जाँदा शौचालय निर्माणले गति लिंदो छ।

गाउँका लागि शौचालय बन्नु नै ठूलो कुरा भए पनि शहरमा भने कस्तो शौचालय बनाउने भन्ने कुरा प्राथमिकतामा पर्न थालेको छ।

शहर–बजारका आधुनिक शौचालयमा आकर्षक टायल, ट्वाइलेट सीट, सावर, बाथटब, क्याबिनेट (सानो दराज) जस्ता सामग्रीका साथै प्रकाशको मात्रा समेत मिलाइएको हुन्छ। कतिपयले शौचालयमा फूल राखेका हुन्छन्। “तातोपानी प्रयोग गर्दा झ्याल र ऐनामा वाफ जम्मा हुन्छ। फूलले वाफ सोस्ने भएकाले कोठा गुम्सिन पाउँदैन। त्यसैले शौचालयमा गमला राख्नु राम्रो हो”, आर्किटेक्ट शिवेन्द्र पात्रवंश भन्छन्।

शहरमा जनघनत्व बढेसँगै घरनिर्माण पनि बाक्लिंदो छ। थोरै जग्गामा पनि घर ठडिएका छन्। घरका कोठा फराकिलो पार्ने निहुँमा शौचालय चाहिं कुचुक्क भएका घर पनि नभएका होइनन्। तर, सानै ठाउँमा पनि ढंग पुर्‍याएर बनाउने हो भने शौचालय सुन्दर देखिन्छ। आर्किटेक्ट पात्रवंश भन्छन्, “सावर, बेसिन, ट्वाइलेट सीट जडानमा ध्यान दिनुपर्छ। नत्र ट्वाइलेट ओसिलो र फोहोरी देखिन्छ।”

शौचालयमा एन्टी–स्लिप सेरामिक्स टायल ओछ्याउँदा चिप्लने खतरा कम हुन्छ। ठूलो झ्याल वा भेन्टिलेसनले उज्यालो त छर्छन् नै शौचालयको दुर्गन्ध पनि हराउँछ। तर, झ्याल फराकिलो पार्न नसकिए शौचालय नियमित सफा गर्ने, फ्लस गर्ने, धेरै बेर ढोका बन्द नगर्ने आदि गर्नुका साथै एयर फ्रेस्नर प्रयोग गर्न सकिन्छ।

शौचालयमा प्रयोग हुने सामग्री थन्काउन क्याबिनेट राख्न सकिन्छ। रुमाल वा लुगा झुण्ड्याउने ह्यांगर, साबुन/स्याम्पू राख्ने ह्यान्डल आदि बनाउनाले कोठा अस्तव्यस्त हुनबाट जोगिन्छ। शौचालयको अवस्थाले घर–परिवारको मनोदशा दर्साउने भएकाले पनि यसतर्फ ध्यान नदिई धरै छैन। पछिल्लो समय शौचालय सजावट गर्ने प्रवृत्ति पनि बढ्दो छ।

सबैको चाहना 'अट्याच्ड बाथरुम' भए पनि शहरका अधिकांश घरमा धेरैले एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यता कायम छ। डेरामा बस्नेलाई त यसको विकल्प नै छैन। काठमाडौं, सामाखुशीमा डेरा गरी बस्ने उमा आले मगर (२६) भन्छिन्, “तीन–चार वटा परिवारले एउटै ट्वाइलेट प्रयोग गर्नुपर्छ। पखाला लाग्दा त आपत् नै पर्छ।”

डेरावालको यस्तो समस्या बुझ्ोरै सामाखुशीकै श्रीधर थापा (४१) ले घरका प्रत्येक फ्ल्याटमा दुइटा शौचालय बनाएका छन्। “एउटामा नुहाई–धुवाई गर्ने र अर्कोमा दिसा–पिसाब गर्ने, यसो गर्दा निकै सजिलो हुँदोरै'छ”, उनी भन्छन्।

सफाई मानव व्यवहारसँग प्रत्यक्ष सम्बन्ध राख्ने कुरा हो। व्यवहारले सभ्यता विकासमा बल दिन्छ। त्यसैले खानासँगै सफा र सुन्दर शौचालय हाम्रो लागि अपरिहार्य छ।

प्रस्तुतिः सजना बराल

comments powered by Disqus

रमझम