२०-२६ वैशाख २०७२ | 3-9 May 2015

कत्रो कम्पन, कत्रो ऊर्जा!

Share:
  
सगरमाथा क्षेत्र हुनुको गर्व लिएसँगै यो भूखण्डका लागि महाभूकम्प एउटा नियमित आकस्मिकता बनेको छ।

दुई ठूला टेक्टोनिक प्लेट इन्डो–अष्ट्रेलियन र यूरो–एशियनको टकराव नै नेपाल र यस क्षेत्रमा आउने भूकम्पको स्रोत बन्दै आएको छ, लाखौं वर्षदेखि। टेक्टोनिक टकरावकै परिणाम हो, विश्वकै उच्चतम भूभाग यो क्षेत्रमा हुनु– जसलाई हामी सगर्व सगरमाथा भन्छौं।

काठमाडौंबाट पश्चिम नेपालमा केन्द्रबिन्दु भएको ठूलो भूकम्प नगएको ३०० वर्षभन्दा बढी भइसकेकाले निरन्तर घर्षणको अवस्थामा रहेका दुई शक्तिशाली प्लेटमा जम्मा भइरहेको ऊर्जा जुनसुकै बेला निस्किने वैज्ञानिकहरूको अनुमान थियो। त्यही ऊर्जाले १२ वैशाखमा निकास लियो, तर अनुमान भन्दा अलि फरक पूर्वतर्फको केन्द्रबिन्दु र अलि सानो शक्तिको भूकम्पको रूपमा।

घर्षणको परिणाम

सात करोड वर्ष पहिले अफ्रिकाबाट छुट्टिएर आएको इन्डो–अष्ट्रेलियन प्लेट लाखौं वर्षदेखि वर्षेनि ४–५ सेन्टिमीटर (हाम्रो नङ बढ्ने गतिमा) उत्तरतर्फ घुसि्रंदै आएको छ भने यूरो–एशियन प्लेटले रोक्दै आएको छ। इन्डो–अष्ट्रेलियन प्लेटको अघि बढ्ने चाहना यूरो–एशियनले पूरा नगरिदिंदाको टकरावका कारण पृथ्वीको गर्भमा रहेका चट्टानका पत्रहरु भाँचिन्छन्/फुट्छन्, जसको परिणाम भूकम्प हो। दुई प्लेटको निरन्तरको घर्षणको कारण भूगर्भमा रहेका चट्टानहरूमा असंख्य चिरा (फल्टलाइन) बनिरहेका छन्, जो त्यहाँ उत्पन्न हुने ऊर्जा प्रवाहका माध्यम हुन्। यिनै 'फल्टलाइन' माथि अवस्थित नेपाल र भारतका बिहार तथा उत्तरप्रदेश यस्ता कम्पनबाट अत्यधिक प्रभावित हुने भूकम्पीय जोखिमका क्षेत्र हुन्। करीब २४ सय किलोमीटर लामो यो भूकम्पीय जोखिम क्षेत्रको एकतिहाइ नेपालमा पर्छ।

दुइटा प्लेटको निरन्तरको घर्षणका कारण वर्षौंदेखि जम्मा भइरहेको ऊर्जा भूसतहमा आउने जोग यस पटक १२ वैशाखको बिहान ११ बजेर ५६ मिनेटमा जुर्‍यो। त्यसक्रममा सतहभन्दा करीब १५ किलोमीटर तल ५४ अर्ब किलोग्राम भन्दा केही कम विस्फोटक पदार्थ पड्के बराबरको शक्तिको कम्पनले जनकपुर पश्चिम चितवन र तनहुँको सीमासम्म; चितवन र तनहुँदेखि उत्तरी गोरखासम्म; गोरखा भएर तिब्बतका केही भाग छोएर रसुवा–सिन्धुपाल्चोकहुँदै मध्य दोलखा र त्यहाँबाट दक्षिणतर्फ पश्चिमी रामेछापदेखि सिन्धुलीसम्मका करीब ९० माइल (१४५ किलोमीटर) तथा ५५ माइल अर्थात् ९० किलोमीटर चौडाइको ईंटाकार क्षेत्रलाई हल्लाइदियो। परिणाम, यो क्षेत्रभित्र जनधनको ठूलो नोक्सानी भयो भने यसभन्दा बाहिरी भाग पनि प्रभावित भयो– सामान्य क्षति सहित।

दुई वटा प्लेटबीचको निरन्तर ठेलमठेलबाट उत्पन्न भइरहने कम्पन यो क्षेत्रको नियति नै हो। युरो–एशियन प्लेटलाई उत्तर धकेल्न नसकेपछि त्यसैको मुन्तिर घुस्दै जानु इन्डो–अष्ट्रेलियन प्लेटको नियति हो। यसक्रममा आएको पछिल्लो महाकम्पनबाट माथि उल्लिखित ईंटाकार क्षेत्र करीब ३.४ मीटर दक्षिण सरेको अनुमान छ।

यो क्षेत्रमा दिनहुँजसो २ देखि ३ म्याग्निच्यूडका कम्पनहरू आइरहने पछिल्लो तीन दशकको तथ्यांकले देखाउँछ। मानिसलाई महसूसै नहुने त्यस्ता कम्पन भइरहने यो भूखण्डले निश्चित कालखण्डमा भने विनाशकारी महाभूकम्प बेहोर्दै आएको छ। काठमाडौंको बुङ्मतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिरका पञ्जु (पुजारी) हरूले करीब ८०० वर्षदेखि राख्दै आएको भूकम्पको अभिलेखले ८० देखि १०० वर्षको अन्तरालमा महाभूकम्प आउने गरेको देखाउँछ। १२ वैशाखको महाभूकम्प १९९० सालपछिको ८२ वर्षमा आएको थियो।

महाभूकम्प नै हो

१२ वैशाख २०७२ मा आएको भूकम्प नै ९० सालपछिको महाभूकम्प हो त? ७.८ म्याग्निच्यूडको मुख्य कम्पनपछि क्रमशः न्यून हुँदै निस्किएको अनेक पराकम्पन (आफ्टर शक) को प्रवृत्तिले यो नै ८२ वर्षयताको अर्को महाभूकम्प भएको मान्ने आधार दिएको छ। मुख्य कम्पनपछि ६ म्याग्निच्यूड माथिका २ र ५ म्याग्निच्यूड भन्दा ठूला २१ वटा भूकम्प गइसकेकाले अब अर्को ठूलो भूकम्पका लागि शक्ति जम्मा हुन लामै समय लाग्ने देखिन्छ।

त्यसबाहेक, नेपालस्थित भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) तथा विभिन्न अन्तर्राष्ट्रिय भौगर्भिक संस्थाहरुले भूकम्पले पार्ने क्षतिको परिमाणका आधारमा मापन गर्ने 'मर्काली इन्टेन्सिटी' (हे. चार्ट तल) को १२ मध्ये ९औं अर्थात् 'ध्वंसात्मक' अवस्थाले पनि यसलाई महाभूकम्प मानिएको छ। यो 'फल्टलाइन' मा नेपाललाई असर पार्ने गरी आएका भूकम्पहरूको ८०–१०० वर्षे चक्रले समेत यसलाई महाभूकम्प मान्न थप बल दिएको छ। भूकम्प जाने समय, स्थान र त्यसको शक्तिको पूर्व अनुमान गर्न नसके झै यो नै महाभूकम्प हो कि होइन भनेर बताउन पनि असमर्थ छ, विज्ञान।

किरण नेपाल

comments powered by Disqus

रमझम