२७ वैशाख - २ जेठ २०७२ | 10-16 May 2015

विपत्मा एकाकार

Share:
  
जातीय र क्षेत्रीय राजनीतिले पहाडे–मधेशीबीच दूरी बढाउँदै लगे पनि विपत्तिमा दुवै मन एकाकार हुने संस्कार मेटिएको छैन। महाभूकम्पको विपत्तिले यसलाई फेरि प्रमाणित गरेको छ।

नेत्रज्योति संघ रुपन्देहीका पदाधिकारी धादिङको केवलपुरमा राहत बाँड्दै।
१२ वैशाखमा गएको ७.८ म्याग्निच्यूडको महाभूकम्पको केन्द्र मध्यपहाडी जिल्ला गोरखाको बारपाक थियो। शक्तिशाली भूकम्पले मध्यपहाडका १२ जिल्लामा २४ वैशाखसम्ममा मृत्यु हुनेको संख्या ७ हजार ८०२ पुगेको छ। १६ हजारभन्दा बढी घाइते भएका छन्, झ्न्डै तीनलाख घर भत्किए। तर, व्यक्तिको जीवन र सपनाको असामयिक मृत्युको कुनै हिसाब हुँदैन। निमेषभरको झ्ट्काले पूरै देशलाई शोकाकुल बनाउन पर्याप्त बन्यो।

महाभूकम्पले मध्यपहाडमा महाविपत् निम्त्यायो। तर, सिंगो देशले यसको पीडा अनुभूत गर्‍यो। सुदूरपश्चिमदेखि पूर्वी मधेशसम्मका जनता, संघ–संस्था, राजनीतिक दल र प्रशासन स्वस्फूर्त संकटग्रस्त १२ जिल्लालाई नयाँ जीवन दिन लागिपरेका छन्। मधेशको यो सत्प्रयासले एकातर्फ भूकम्पले सर्वस्व गुमाएकाको घाउमा मल्हम लगाएको छ भने अर्कोतर्फ पछिल्ला वर्षहरूमा राजनीतिले कोरेको सामाजिक विखण्डनका रेखा मेट्न खोजेको छ।

पहाडको पीडा, तराईको मल्हम

सुरेश बिडारी, वीरगञ्ज

'पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ,

आँधी आए तराईमा पहाडले छेक्नुपर्छ।

हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र।

माटोलाई चोट लाग्दा मुटुहरू रुनुपर्छ।'

महाभूकम्पले यो गीत समय सान्दर्भिक बनाइदियो। भूकम्पलगत्तै तराईका रेडियो र एफएमहरूबाट पटकपटक यही गीत बज्यो। राहत माग्न हिंड्नेहरूले पनि यही गीतलाई आफ्नो 'सिग्नेचर' धुन बनाए।

दिनेश अधिकारीको शब्द, आलोकश्रीको संगीत र सत्यराज आचार्यको स्वरको यो गीतले भने जस्तै मध्यपहाडी जिल्लावासीमा परेको भूकम्पका गहिरा चोटमा तराईवासीको मुटु पनि रोएको छ। त्यसैले हुनुपर्छ, देश संघीयतामा जाँदा 'तराईमा पहाडको एकइन्च जमीन गाभिनु हुन्न' भन्ने कतिपय मधेशी दलका नेताहरू नै राहत बोकेर पहाड पुगेका छन्।

भक्तपुरमा राहत बाँडेर फर्किएका मधेशी जनअधिकार फोरम नेपाल, पर्साका अध्यक्ष प्रदीप यादव भन्छन्, “हाम्रो लडाईं त राज्यसँग हो। पहाडी, मधेशी दुवै नेपाल आमाकै सन्तान हुन्।” पर्साकै राष्ट्रिय मधेश समाजवादी पार्टीले झ्न्डै रु.१० लाख मूल्य बराबरको सामग्री सिन्धुपाल्चोक, भक्तपुर र काभ्रेका भूकम्प पीडितमाझ् बाँड्यो।

वीरगंज उद्योग वाणिज्य संघ, व्यापारिक घराना चाचान ग्रुप, टेमानी फाउण्डेशन, रुङ्गटा वेलफेयर सोसाइटी, समर्पण सेवा संस्था, रिलिफ सोसाइटी अफ कमर्श, नेपाल रेडक्रस सोसाइटी, लायन्स तथा लियो क्लब, विभिन्न गैरसरकारी तथा सहकारी संस्थाहरू भूकम्प अति प्रभावित क्षेत्रमा राहत पठाउन सक्रिय छन्।

जिल्ला दैवी विपत् व्यवस्थापन समन्वय समिति पर्साका अनुसार २२ वैशाखसम्म २२७ ट्रक राहत सामग्री भूकम्प प्रभावित १६ जिल्लामा पठाइसकिएको छ। समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे भन्छन्, “रु.१३ करोड मूल्य बराबरको राहत सामग्री प्रभावित जिल्लामा पठाइसकेको अनुमान गरेका छौं।” प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि पर्साबाट रु.१२ लाख ७६ हजार ८१९ जम्मा भइसकेको छ।

पर्साका प्रहरी प्रवक्ता वीरबहादुर ओलीका अनुसार वीरगञ्ज नाका भएर भारतबाट आएका १३१ ट्रक र वीरगञ्ज उद्योग वाणिज्य संघ लगायत विभिन्न गैरसरकारी संघ–संस्था, युवा समूह, राजनीतिक दल, व्यक्तिगत सहयोगबाट संकलित ९६ ट्रक राहत सामग्री प्रभावित जिल्लामा पठाइएको छ। पर्सा, ठोरीको सरस्वती उच्च मावि, वीरगञ्जको टि्रनिटी हाइटेक माविमा जुनियर रेडक्रस सर्कलमा आवद्ध विद्यार्थीले खाजा खर्च रु.१७ हजार १०० भूकम्प पीडितलाई प्रदान गरे।

बाराका राजाबाबु साहले पनि रु.५ लाख ५० बराबरको राहत सामग्री दिए। सहकारी संस्थाहरूले पनि राहत उठाएर मकवानपुर फाखेलका भूकम्प पीडितलाई बाँडे। तराई सिमरा यातायात व्यवसायी संघ, सूर्य नेपाल प्रालिका कर्मचारी पनि राहतमा खटिएका छन्।

जनकपुरस्थित नेपाल–भारत मैत्री युवा संघका सदस्य राहत सामग्री लिएर दोलखाको चरिकोटमा।

महाभूकम्पले पुर्‍याएको क्षति बुझ्न र राहत बाँड्न गोरखा पुगेका तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी।

राहत बाड्ने क्रममा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भक्तपुरमा ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलाल बाराबाट रु.५० लाख बराबरको राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा गएको बताउँछन्। “कतिले प्रधानमन्त्री कोषमा नगद बुझाएका छन्, कतिले आ–आफ्नै ढंगले लगेका छन्”, उनी भन्छन्। गढीमाई नगरपालिका–८ का नागरिक सचेतना केन्द्रका महिलाले पनि खाजाखर्च बापतको रु.१० हजार १०० जिल्ला प्रशासन कार्यालयमा बुझाए।

रौतहटबाट नगद र जिन्सी गरी रु.४३ लाख बराबरको राहत सामग्री प्रभावित जिल्लामा पठाइएको छ। जिल्ला विपत् व्यवस्थापन समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार जिल्लाका विभिन्न संघ–संस्थाले संकलन गरेको रु.४० लाख बराबरको राहत सामग्री भूकम्प अति प्रभावित काठमाडौं, गोरखा, लमजुङ, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रे, सिन्धुली, रसुवामा पठाइएको छ। मदरसा दवतुल कुरुवान, जामिया उल्माय नेपाल रौतहटले मात्रै रु.१३ लाख ७३ हजार बराबरका सामग्री सहयोग गरेको भुजेलले बताए।
एमाले चन्द्रपुर नगर कमिटिले रु.१ लाख ३७ हजार र अन्य संस्थाले दिएको नगद गरी रु.२ लाख ५० हजार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ। “रौतहटवासीले स्वतस्फूर्त अन्न सहयोग गरे, गरिरहेकै छन्”, प्रजिअ भुजेल भन्छन्।


पहाड–मधेश पीडा उस्तै

दीपक ज्ञवाली, बुटबल

महाभूकम्पमा परी मृत्यु भएकाहरुको सद्गतका लागि सुदूरपश्चिमबाट दाउरा काठमाडौं पठाइँदै।
पहाडे र मधेशीका नाममा बेलाबेला तनाव भइरहने पश्चिम तराईको नवलपरासीमा गएको साताको दृश्य फरक थियो। जिल्लाका मधेशी समुदाय भूकम्पले तहसनहस पारेको मध्यपहाडी जिल्लाहरूका लागि सहयोगको याचना गरिरहेका थिए। तराई मधेश लोकतान्त्रिक पार्टीले त भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमै रु.१५ लाखभन्दा बढीको राहत सामग्री वितरण गर्‍यो। पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी स्वयं बारपाक पुगे।

“पहाड–मधेशका जनता एकै हुन्, पीडा सबैलाई उस्तै हुन्छ। विपत्मा सहयोग गर्नु सबैको कर्तव्य हो”, त्रिपाठी भन्छन्। उनी बाढी, आगलागी जस्ता विपत्बाट पटक पटक पीडित हुने मधेशीलाई पहाडवासीले गरेको ठूलो सहयोग यतिबेला बिर्सन नहुने बताउँछन्।

हिन्दू–मुसलमान झ्गडाको साक्षी कपिलवस्तुका मुस्लिम समुदायले भूकम्प पीडित पहाडवासीका लागि रु.१ करोडभन्दा बढीको राहत सामग्री जुटाए। कृष्णनगरस्थित मुस्लिम विश्वविद्यालय जामिया सिराजुल–उलम अलसलाफियाले गतसाता ती सामग्री गोरखा पठायो। विश्वविद्यालयका प्रवक्ता मौलाना मसहुद खाँ पहाडे नेपालीको दुःखले तराईका मुस्लिम पनि दुःखी बनेको बताउँछन्।

जिल्लामा राहतका लागि राजनीतिक पार्टीहरू पनि सक्रिय छन्। एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार पार्टीले टोलटोलमा राहतका लागि कार्यकर्ता परिचालन गरेको छ। कांग्रेसले पनि क्रियाशील सदस्यसँग रकम संकलन गरिरहेको छ। रूपन्देहीको नेत्र ज्योति संघले रु.७१ लाख बराबरको राहत सामग्री धादिङवासीसामु वितरण गरेको छ। गोरखा, लमजुङ, सिन्धुपाल्चोक लगायतका भूकम्प अति प्रभावित जिल्लामा राहत लिएर जानेको लर्को नै लागेको छ।

रूपन्देहीबाट मात्रै रु.११ करोडभन्दा बढीको राहत भूकम्प पीडित जिल्लामा गएको अनुमान छ। जिल्ला राहत संकलन र वितरणमा उदाहरणीय देखिएको प्रमुख जिल्ला अधिकारी तोयम रायमाझ्ी बताउँछन्। नवलपरासी र कपिलवस्तु समेतको गरी राहतमा रु.१८ करोड भन्दा बढी प्रभावित क्षेत्रमा पुगेको अनुमान छ।
विपत्तिका कारण यस वर्षको बुद्धजयन्ती औपचारिक रूपमा मनाइएन। रूपन्देहीस्थित लुम्बिनी विकास कोषले बुद्धजयन्ती मनाउन छुट्याइएको रु.४० लाख भूकम्प पीडितलाई प्रदान गर्ने निर्णय गरेको छ।

सहयोग गर्न धन होइन, मन भए पुग्छ भन्ने उदाहरण रूपन्देहीका रिक्सा चालक बनेका छन्। रिक्सा चालक भलाइ कोषले भूकम्प पीडितका लागि रु.१० हजार रुपैयाँ सहयोग गर्‍यो। सीमावर्ती क्षेत्र मर्चवारका किसानले पनि एक ट्रक राहत सामग्री पहाडका पीडितलाई पठाए भने भैरहवाको बिहानी हिंडाइ समूहले भूकम्प पीडितका नाममा रु.५७ हजार ५०० संकलन गरे।

गोरखामा राहत पुर्‍याएर फर्किएका रूपन्देहीस्थित पुस्तक तथा स्टेशनरी व्यवसायी संघका अध्यक्ष त्रिलोचन ज्ञवाली राहतको लहरले आपसी सद्भाव बढाएको बताउँछन्।

गोरखाका प्रजिअ उद्धव तिमिल्सिना तराईका जिल्लाबाट आएको राहत अनुकरणीय भएको बताउँछन्। “पहाडको विपत् व्यवस्थापनमा तराईले ठूलो गुन लगाएको छ”, उनी भन्छन्।


सुदूर रहेन सहयोग

बच्चु बिक, महेन्द्रनगर

प्रशन्न पोखरेल/रासस
सिभिक लीडरसिप स्कूल (सीएलएस–टीम), लहानका युवा काठमाडौंमा पानी पठाउँदै
महाभूकम्प गएको भोलिपल्टै १३ वैशाखमा कञ्चनपुर जिल्लास्थित महेन्द्रनगरको अमिटी कलेजका विद्यार्थीले सहयोग जुटाउन थाले। विद्यार्थीसँग खाजा खर्च संकलन गरी रु.१३ हजार ९४५ जम्मा गरे। त्यो रकममा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीले उठाएको रकम पनि जोडेर ५४ थान टेन्ट, ४५ क्वीन्टल चामल, चाउचाउ, बिस्कुट र पानी किनी अर्को दिन काठमाडौं पठाए।

भूकम्प पीडितका लागि महेन्द्रनगरको पुनर्वास क्षेत्रको कालिका बजार व्यवस्थापन समिति पनि कस्सियो। पुनर्वासकै शान्ति उच्च माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकले पनि राहत संकलनमा सघाए।

मध्यपहाडी क्षेत्रमा केन्द्रित भूकम्पको झ्ट्का पश्चिम तराईले महसूस गर्नु परेन। तर, विपत्तिको पीडाले भूगोल भनेन।

धनगढी नगरपालिका–६ वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रले आफ्ना सदस्य तथा पदाधिकारीबाट उठाई रु.२ हजार ५५५ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्‍यो। “थोपा थोपा मिलेर समुद्र बन्छ भन्छन्”, स्थानीय पशुपति सुवेदीले भनिन्।

कैलालीबाट राहत कोषमा रकम जम्मा गर्ने सुरुआत नेपाल मधेशी निजामती कर्मचारी मञ्चले गरेको थियो। १३ वैशाखमै मञ्चले रु.५० हजार कोषमा दाखिला गर्‍यो। अहिलेसम्म ५० भन्दा बढी संस्थाले सहयोग रकम जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्। कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिम यातायात व्यवसायी समिति, सेती महाकाली ईंटा उद्योग व्यवसायी समितिले रु.१–१ लाख र व्यापारी राहत तथा उद्धार समिति, कैलालीले रु.२ लाख ११ हजार कोषमा जम्मा गरेको छ।

प्रशासनको अनुमतिमा १० वटा संस्थाले प्रभावित क्षेत्रमा राहत पठाइसकेका छन्। अनुमति नलिई राहत लिएर जाने पनि थुप्रै छन्। “करीब रु.१ करोडभन्दा माथिको सहयोग पठाइएको छ”, कैलालीका प्रमुख जिल्ला अधिकारी महादेव पन्त भन्छन्।

कर्णाली रिभरसाइड यातायात व्यवसायी समिति, एलईओ क्लब, एनएमएसआरए संस्था, केआई नेपाल, सेती महाकाली ट्रक व्यवसायी समिति, जनचेतना तथा युवा जागरण मञ्च नेपाल मात्र होइन धनगढीको रोटरी, लायन्स, हेल्थ एण्ड मेडिको, लियो क्लब, नैनादेवी भगवती मन्दिर व्यवस्थापन समितिले पनि राहत पुर्‍याएका छन्।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द कार्की कञ्चनपुर र छिमेकी भारतका शहरबाट झ्न्डै रु.२ करोड बराबरको ३ हजार ६९० थान त्रिपाल, एक हजार ४५ थान टेन्ट तथा १२०० क्वीन्टल भन्दा बढी खाद्यान्न भूकम्प प्रभावित जिल्लामा पठाइसकिएको बताउँछन्। कार्कीका अनुसार उत्तरप्रदेश र उत्तराखण्डका विभिन्न शहरका दुई दर्जनभन्दा बढी संघसंस्थाले राहत पठाएका छन्।

कञ्चनपुरबाट दुई दर्जन भन्दा बढी टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् भने केही टोली गोरखा, रसुवा, नुवाकोट, भक्तपुर लगायतका जिल्लामा उद्धार र राहतमा खटिएका छन्। “हाम्रो एक टोली उतै छ, अर्को टोलीले ५०० थान त्रिपाल र टेन्ट लिएर जाँदैछ”, महेन्द्रनगर जेसिजका महासचिव अमर चन्द भन्छन्। महेन्द्रनगरको मदन चोकमा स्टल राखेर राहत उठाएको सुदूरपश्चिमाञ्चल समाजले दुई ट्रक खाद्यान्न तथा लुगा सिन्धुपाल्चोक पठाएको छ।

कञ्चनपुरबाट राहतस्वरुप पशुपति आर्यघाटका लागि दाउरा समेत पठाइएको छ। आर्यघाटमा शव जलाउन दाउराको अभाव भएको थाहा पाएपछि काठ व्यवसायी पवन विक्रम सिंह, घनानन्द लेखक र हरिप्रसाद खनालले ९०० क्वीन्टल दाउरा पठाएका छन्।


सम्पूर्ण सद्भाव

श्रवणकुमार देव, राजविराज

कपिलवस्तुका मुस्लिम अगुवा गोरखामा राहत वितरण गर्दै ।
भूकम्प पीडितका लागि सिरहा कारागारका कैदी बन्दीहरूले रु.५१ हजार जिल्ला दैवी उद्धार प्रकोप समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँलाई बुझाए। कारागारका मूल नाइके श्रीदेव कापर यो बेला पनि पीडितलाई सहयोग नगरे 'आत्माले धिक्कार्ने' बताउँछन्।

सिरहा लहानकै सामाजिक कार्यकर्ता रामभरोसी महतोले बजारमा जे पाए, त्यही बटुले। उनको अगुवाइमा एलइवाइ र सिएलएस युवा टीमले १० क्वीन्टल चामल, ४० क्वीन्टल फर्सी, ८ क्वीन्टल भिन्डी, २१० कार्टुन पानी, दाल, आलु, प्याज, दालमोट, चाउचाउ र त्रिपाल १४ वैशाखमै ललितपुरको भूकम्प प्रभावित मानिखेल गाविस पुर्‍याए।

भूकम्प पीडितको दुःखमा सप्तरीका युवा पनि मनकारी देखिए। सप्तरीका इन्डिपेन्डेन्ट युथ र डिहबार बाबा टोल विकास संस्थाले राहत सामग्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ।

भूकम्प प्रभावितका लागि सप्तकोशी नगरपालिकावासीले १ हजार ७४९ कार्टुन पानी, नून, भुजा, चिउरा, चामल र बिस्कुट पठाए। राजविराजस्थित दुर्गा सेकेण्डरी बोर्डिङ्ग स्कूल, नेपाल सहकारी संस्था लिमिटेड, मारबाडी सेवा समिति, लहानकै मुसलमान समुदायले पनि आफ्नै ढंगबाट राहत काठमाडौं पठाएका छन्।
“पीडितका लागि गाउँ गाउँमा राहत संकलन भइरहेको छ”, सिरहा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अशोक साह भन्छन्, “विपत्मा जहिले पनि मधेश–पहाडबीच सद्भाव र समर्पण देखिएको छ।”

मधेशवादी दलहरू पनि राहत उठाइरहेका छन्। मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह दलहरू संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा मार्फत अन्न संकलनमा जुटेको बताउँछन्। सप्तरीबाट १०० क्वीन्टल चामल र खाद्यान्न पठाउने योजना रहेको बताउँदै साह राहतमा मधेशी र पहाडी भन्न नहुने तर्क गर्छन्।

सप्तरी उद्योग वाणिज्य संघ, राजविराज जेसिज, निर्माण व्यवसायी संघ मिलेर संकलित राहत प्याकेजकै रूपमा ३०० जना भूकम्प पीडितलाई दिने योजना रहेको राजविराज जेसिजका पूर्व अध्यक्ष सतिश दत्त बताउँछन्। जिल्लामा एमाले, एमाओवादी, बेरियर विकास समाज कञ्चनपुर, मानवअधिकार एलाइन्स सहितका दर्जनौं संस्था सहयोगी भावनाका साथ राहत संकलनमा लागेका छन्। विपत्तिमा सिरहास्थित मधेशी पत्रकार समाज, प्रहरी, संस्था र उद्योग वाणिज्य संघको सहकार्यमा खाद्यान्न संकलन गरिएको छ।

सिरहाका अधिकारकर्मी देवराज पोखरेल पहाड समस्यामा पर्दा मधेशले गरिरहेको सहयोगले दुई समुदायबीचको सम्बन्ध मजबूत हुने विश्वास व्यक्त गर्छन्।


दुःख बाँड्दै

ईश्वरचन्द्र झा, जनकपुर

जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी दोलखामा राहत वितरण गर्दै।
महाभूकम्पको तेस्रो दिन १५ वैशाखमा जनकपुर युथ डेभलपमेन्ट फोर्सका युवा गोरखाको विकट ताप्ले गाविस पुगिसकेका थिए। एक ट्रक राहत सामग्री लिएर पुगेका उनीहरूलाई ताप्लेवासीले देउतै ठाने। राहत बोकेर यो समूह पछि सिन्धुली र दोलखा पनि पुग्यो।

नेपाल–भारत मैत्री युवा संघ, धनुषाका महासचिव कृष्णा सिंह सहितको टोलीले पनि दोलखा र धादिङ पुगी राहतसहित भूकम्प पीडितसँग दुःख साट्यो।
भूकम्प पीडितका लागि तराईका धनुषा, महोत्तरी र सर्लाहीबाट हालसम्म तीन दर्जनभन्दा बढी ट्रक राहत सामग्री सहित मध्यपहाडी जिल्ला पुगिसकेका छन्। नेपाल औषधि व्यवसायी संघ जनकपुरले २०० थान त्रिपालसहित बाल्टी, चाउचाउ, चिउरा, चिनी, टर्च लगायतका सामग्री वितरण गर्‍यो।

उद्योग वाणिज्य संघ, जनकपुरले पनि दोलखाका विभिन्न गाविसमा भूकम्प प्रभावित ३०० परिवारलाई अत्यावश्यक राहत पुर्‍यायो।

राष्ट्रिय मधेश समाजवादी पार्टीको युवा संगठन अध्यक्ष ज्ञानेन्द्र झा र सभासद् दिनेश साहको अगुवाइमा जनकपुरको टोली राहतसहित गोरखाको बारपाक क्षेत्र पुग्यो। समाजवादी विद्यार्थी संघ, रमानन्द युवा क्लब, नेपाली कांग्रेस र पिडारी युवा कमिटिले २४० परिवारलाई १५ दिनसम्म पुग्ने गरी त्रिपालसहित खाद्य सामग्री लिएर दोलखाको चरिकोट पुगिसकेको छ। महोत्तरीबाट पनि २५ ट्रक राहत दोलखा र सिन्धुलीका पहाड उक्लेका छन्।

उद्योग वाणिज्य संघ जलेश्वर, मटिहानी, गौशाला, सम्सी, रामगोपालपुर र फैजुल्लाह इस्लामिक मदरसा सम्सी लगायतका संस्थाले ५०० घरपरिवारलाई ७ दिनसम्म पुग्ने उपभोग्य सामग्री र एक हजार थान त्रिपाल जिल्ला प्रशासन कार्यालय दोलखा र सिन्धुलीलाई हस्तान्तरण गरेको छ।

comments powered by Disqus

रमझम