३-९ जेठ २०७२ | 17-23 May 2015

अपांगलाई आपत्

Share:
  
- मनिषा गौचन
महाभूकम्पले धेरै नेपालीलाई अपांग बनाएको छ। तर, सरकार उनीहरूको पीडाप्रति संवेदनाहीन छ।

१२ वैशाखको विनाशकारी महाभूकम्पले पूरै नेपाल अस्तव्यस्त छ। धेरै अभिभावक, सन्तान र प्रियजनविहीन भएका छन्। घाइते र मनोवैज्ञानिक प्रभावमा परेकाको समस्या बल्ल सुन्न थालिएको छ। तर, कमै ख्याल गरिएका अपांगता भएकाहरूको पीडाको कथा बेग्लै र जटिल छ।

भूकम्पका बेला भाग्न नसक्दा अपांगता भएका धेरै व्यक्ति घरभित्रै पुरिएका छन्। तर, कति पुरिए भन्ने तथ्यांक सार्वजनिक भइसकेको छैन।

कल्पना गरौं, महाभूकम्पको समयमा खुट्टा नभएर भाग्न नसकेको अवस्था, हात नहुँदा पुरिंदै गरेकालाई तान्न नसकेको पीडा, बोल्न नसकेर सतर्कताको सूचना दिन नसक्दाको आक्रोश, सुन्न नसकेर कसैको सम्बोधन बुझ्न नसक्दाको ग्लानि, आफ्नै सुरक्षाका लागि सोच्न नसक्दाको मानसिक विराम। यस्ता अपांगता भएकाहरूका लागि भूकम्पले कस्तो कहाली ल्यायो होला? कति प्रताडित र प्रभावित बने होलान्? यसको तथ्यांक कसैसँग छैन।

“अपांगता भएकामध्ये कति घरमै पुरिए, कति के भए कुनै तथ्यांक छैन” सडक दुर्घटनाका कारण मेरुदण्ड पक्षघात भएकी देवी आचार्य भन्छिन्। आचार्य सहित भूकम्पबाट जोगिएका अपांगता भएका केही व्यक्तिहरू ललितपुरको जावलाखेलस्थित खेलकुद मैदानमा आश्रय लिइरहेका छन्। स्वावलम्बन जीवन पद्धति केन्द्रले सञ्चालन गरेको यो आश्रयस्थलमा २५ देखि ३० जना अपांगता भएका व्यक्ति अटाएका छन्।

केन्द्रकी कोषाध्यक्ष आचार्य कतिपय भूकम्प पीडित अपांगता भएका व्यक्तिहरू भने अझ्ौसम्म सम्पर्कमा आउनै नसकेको बताउँछिन्। कतिपय आश्रयस्थलमा आउन चाहे पनि अप्ठेरो बाटोका कारण आउन सकेका छैनन्। उनीहरूका ह्वीलचियर र बैसाखी पनि घरमै पुरिएका छन्।

पोलियोबाट अपांगता भएका केन्द्रका अध्यक्ष गणेश केसी र सदस्य भोजराज श्रेष्ठ अन्य अपांगता भएकाहरूको सुरक्षित बसाइका लागि जुटिरहेका छन्।

“उनीहरूका लागि अपांगतामैत्री आवासको जरूरी छ। त्रिपालको भरमा बर्खे झरी थाम्न गाह्रो छ। मेरुदण्ड पक्षघात भएकाहरूका लागि सुत्नका लागि म्याट्रेस भएर हुन्न खाट नै चाहिन्छ”, आचार्य भन्छिन्। तर, बाहिरबाट चिटिक्क देखिने त्रिपालभित्र न खाट थिए न भुईं छोपिने म्याट्रेस। अध्यक्ष श्रेष्ठका अनुसार रेडक्रसले केही सहयोग गरे पनि खानेकुरा र अन्य अत्यावश्यक सामग्री कसरी जुटाउने भन्ने चिन्ता बाँकी नै छ।

राहतका नाममा केही पोका चाउचाउ र बिस्कुट बाँड्नेका अनुहारले फेसबुकको वाल भरिएको छ। कतिपय धनाढ्य राहत बोकेर यहाँ, त्यहाँ पुगें भन्दै गर्वानुभूत गरिरहेका छन्। तर, पहुँच नपुगेका अपांगता भएकाहरू राहत पाउन होइन सुन्न विवश छन्। उनीहरू सबलांग जस्तो अगाडि सरेर राहत माग्न सक्दैनन्। सर्नका लागि बैसाखी, ह्वीलचियर र सेतो छडी चाहिन्छ। सबै भएर पनि उनीहरू हिंड्न सक्ने बाटो, भवन र सवारी साधन चाहिन्छ। अडिन समेत अपांगमैत्री ठाउँ चाहिन्छ। त्यसकारण पनि यतिबेला उनीहरू एउटै कुनामा छट्पटाएर बस्नुको विकल्प छैन।

आफ्नो दुःख एकातिर छँदैछ, तर अपांगता भएकाहरू भूकम्पपछि अपांग बनेकाहरूप्रति ज्यादा चिन्तित देखिन्छन्। भूकम्पका कारण मेरुदण्ड पक्षघातदेखि हात, खुट्टा र आँखा गुमाउनेको संख्या बढ्दो छ।

“मेरुदण्ड पक्षघातका बिरामी मात्रै चार सय जना पुगे भन्ने सुनिएको छ, अरू खालका अपांगता भएकाहरू कति छन् थाहा पाउन सकिएको छैन”, आचार्यको चिन्ता छ। भूकम्पका कारण अपांगता हुनेहरूमा विस्तारै मनोसामाजिक समस्याको संभावना अधिक देखिन्छ। “समयमै यो समस्यामा विचार नपुर्‍याए विकराल रूप लिने देखिन्छ”, गणेश केसी भन्छन्।

comments powered by Disqus

रमझम