३-९ जेठ २०७२ | 17-23 May 2015

झनै जोखिममा बालबालिका

Share:
  
- सञ्जीव शर्मा
महाविपत्को यहीबेला बालबालिका ओसारपसार, यौनदुर्व्यवहार, शोषण, मानसिक आघात जस्ता घटना बढ्छ।

बिक्रम राई
ललितपुरको नख्खुस्थित निर्मल स्कूलमा ल्याइएका धादिङका बालबालिका।
महाभूकम्पको विपत्मा हेरचाह गर्ने भन्दै २४ वैशाखमा धादिङका ४६ जना बालबालिका ललितपुरस्थित निर्मल स्कूल ल्याइए। तर, केन्द्रीय बालकल्याण समितिको अनुसन्धानले ती बालबालिका ल्याउनेले कानूनी प्रक्रिया पूरा नगरेको ठहर गर्‍यो। हेरचाहमा सफा नियत नदेखिएको भन्दै केन्द्रले जिल्ला बालकल्याण समितिको समन्वय र गैरसरकारी संस्थाहरूको प्रयासमा सबै बालबालिकालाई 'परिवार' मै पुनर्स्थापना गर्न निर्देशन दिएको छ।

भूकम्पमा बाबु–आमा र भाइ गुमाएकी धादिङकै सल्यानटारकी १३ वर्षीया बालिका संरक्षणमा व्यक्ति र संस्थाको घुइँचो नै लाग्यो। यो थाहा पाउने बित्तिकै बालकल्याण समितिका प्रतिनिधिले बालिकासँग भेटे। परामर्शपछि मात्र बोल्न र रुन सकेकी ती बालिकाले कसैसँग कतै नगई हजुरबुबा–आमासँगै बस्ने इच्छा जनाइन्। उनको पढाइको खर्च बालकल्याण समितिले जुटाइदिने भएको छ।

धादिङका यी घटना उदाहरण मात्र हुन्। विज्ञहरूको भनाइमा पनि सामान्य अवस्थाभन्दा विपत्का बेला बालबालिका बढी जोखिममा हुन्छन्। यस्तो बेला बालबालिकाको ओसारपसार र गलत प्रयोगको सम्भावना ह्वात्तै बढ्छ।

“विपत्का बेला पीडित बालबालिका देखाएर कतिपयले बालगृहका नाममा 'धन्दा' चलाउने, धर्म परिवर्तन, यौन दुर्व्यवहार, श्रमशोषण र आतंककारी गतिविधिमा समेत प्रयोग गर्ने खतरा रहन्छ”, केन्द्रीय बालकल्याण समितिका प्रमुख कार्यकारी अधिकृत तारक धिताल भन्छन्। उनी पीडित बालबालिका पुनर्स्थापनामा सकेसम्म परिवार, आफन्त नभए समाज र त्यो पनि सम्भव नदेखिएमा मात्र अन्य विकल्प सोच्नुपर्ने बताउँछन्। भन्छन्, “आफ्नो समाज, संस्कृति र परम्परामै हुर्कन–बढ्न पाउनु बालबालिकाको अधिकार हो।”

विपत्मा बालबालिका उच्च जोखिममा पर्ने कुरालाई बुझ्ेरै हुनुपर्छ, सरकारले भूकम्पलगत्तै नयाँ बालगृह दर्तामा रोक लगाएको छ। पुरानो बालगृहमा नयाँ बालबालिका थप गर्न पनि नपाइने नियम बनाएको छ। भूकम्पका निहुँमा बालबालिकालाई विदेश नपठाउने निर्णय पनि गरेको छ।

१२ वैशाखको महाभूकम्पमा टुँडिखेलमा योग सिकाइरहेका भारतीय योगगुरु रामदेवले पनि पीडित नेपाली बालबालिकालाई हरिद्वारस्थित पतञ्जली योगपीठ ट्रष्टले आश्रय दिने बताएका थिए। तर, तत्कालको सरकारी कदमले हुनसक्छ, कुनै पनि बालबालिका योगपीठ पुगेको जानकारी बालकल्याण समितिसँग छैन।

तर, बाल मजदूर सरोकार केन्द्र (सिविन) की सचिव सुम्निमा तुलाधर अबको दुई–तीन महीनापछि बालबालिका ओसारपसारको खतरा बढ्न सक्ने बताउँछिन्। उनी सर्वस्व गुमाएका बालबालिका बिस्तारै नजिकका शहर र विशेषगरी राजधानीतर्फ आउने सम्भावना देख्छिन्। “राजधानीमा किशोरी र बालिका यौनकार्य र मजदूरीमा लगाइने सम्भावना अधिक छ, त्यसबारे सोच्न ढिलो भइसकेको छ”, उनी भन्छिन्।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले महाभूकम्पबाट करीब १० लाख बालबालिका प्रभावित भएको जनाएको छ। तर, बालकल्याण समितिका धिताल प्रभावितको यो संख्या बढ्न सक्ने बताउँछन्।

मनोवैज्ञानिक परामर्श

३१ वैशाखमा सिन्धुपाल्चोकको मेलम्चीबाट उद्धार गरी बालकल्याण समिति ल्याइएका १२ वर्षीय बालक एकोहोरो 'आयो आयो' मात्र भनिरहन्थे। उनलाई परामर्श गर्ने जनशक्ति समेत समितिमा थिएन। समितिकै पहलमा राजधानीकै 'अमृता फाउन्डेशन' ले बालकको उपचारको जिम्मा लिएको छ।

ठूलो विपत्तिपछि बालबालिकामा पर्ने मानसिक आघात झ्नै बढी हुन्छ। अभिभावक यस्तो आघातबाट ग्रसित भए सन्तानले थप असर बेहोर्नुपर्छ।

भूकम्पबाट संकटग्रस्त जिल्लाका अधिकांश बालबालिका पढ्ने विद्यालय र घर भत्किएका/ चर्किएका छन्। कतिले परिवारका सदस्य र आफन्त गुमाएका छन्। उनीहरू अझ्सम्म त्रस्त छन्। यस्तो अवस्थामा धेरै बालबालिका 'पोष्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर' नामक मानसिक समस्याबाट पीडित हुने सम्भावना हुन्छ। आघातमा परेका अभिभावक सानो–सानो कुरामा र्झ्किने–रिसाउने गर्दा पनि बालबालिका झ्नै कमजोर हुने खतरा रहन्छ।

भूकम्पलगत्तै यसखाले समस्या भएका काठमाडौं वरपरका १५ जना बालबालिकालाई सिविनले आश्रयस्थलमै राखेर मनोवैज्ञानिक परामर्श दिनुपरेको थियो। अहिले पनि पीडित बालबालिका आउने क्रम जारी छ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सहसचिव राधिका अर्याल बालबालिकाकेन्द्रित मनोपरामर्शका लागि महिला तथा बालबालिका कार्यालय र बालकल्याण समितिसँगको समन्वयमा युनिसेफ, सिविन लगायतका संस्था प्रभावित जिल्लामा खटिएको बताउँछिन्। विभिन्न संस्थाको सहकार्यमा 'बालमैत्री स्थान' को व्यवस्था गरी लेखपढ गर्न, खेल्न र चित्र बनाउने जस्ता गतिविधिमा व्यस्त राखिएको अर्यालको भनाइ छ। “भूकम्प अतिप्रभावित १४ वटै जिल्लामा १०/१० वटाका दरले बालमैत्री स्थान निर्माणको योजना भए पनि अहिले ५० वटा मात्रै सञ्चालन गर्न सकिएको छ”, उनी भन्छिन् ।


काठमाडौंका बालबालिका झापामा

महाभूकम्पले आश्रयस्थल भत्काएपछि धापासी, काठमाडौंस्थित 'हाम्रो बाल संरक्षण धरोहर' का २० बालबालिका झापामा शरणागत छन्।

गोपाल गडतौला
झापास्थित चाहना समूहमा शरणागत धापासी काठमाडौंका 'हाम्रो बाल संरक्षण धरोहर' का बालबालिका तथा सञ्चालकहरु।

विनिता अर्याल (२३) ले ६ वर्षअघि धापासीको टोखामा शुरू गरेको 'हाम्रो बाल संरक्षण धरोहर' रहेको भाडाको घर १२ वैशाखको भूकम्पले नराम्रोसँग चर्कियो। मासिक रु.२५ हजार भाडा तिरेर बस्दै आएको आश्रमका घरका भित्ता मुश्किलले अडिएका छन्। छिमेकका केही घर भत्किएका र केही डरलाग्दो हिसाबले चर्किएका छन्। अर्याल भन्छिन्, “किच्ला भन्ने डरले आत्तिंदै नानीहरू लिएर सडकमा पुगें।” महाभूकम्प गएको आधा घण्टापछिदेखि सञ्चालिका विनिता सबै बालबालिका लिएर चौरमा बस्न पुगिन् जहाँ टोलछिमेकका कैयौं मानिस पाल र जस्तापाताका अस्थायी ओतमुनि बसेका थिए।

सडकछेउको ओतमुनि बस्दा केहीलाई झाडापखाला शुरू भएपछि तीनदेखि १४ वर्षसम्मका बालबालिका हुर्काएर बसेकी विनिताले सकेसम्म छिटो बालबालिका काठमाडौं बाहिर निकाल्ने सुर कसिन् र सहयोगी खोज्न थालिन्। “अचानक उहाँहरूसँग सम्पर्क भयो”, बिर्तामोडको एउटा गैरसरकारी संस्था चाहना समूहका अध्यक्ष रवि श्रेष्ठलाई देखाउँदै उनले भनिन्, “दुःख सुनाएपछि उहाँहरूले केही समयका लागि शरण दिन राजी हुनुभयो र लिन मोटर पठाउनुभयो।”

१८ वैशाख दिउँसो बिर्तामोड ल्याइएका बालबालिकालाई कन्काई पौडीपोखरीको कम्पाउण्डमा राखिएको छ। उनीहरूलाई बिर्तामोडको बीएण्डसी अस्पतालले निःशुल्क उपचार गरिरहेको छ। ब्युटीपार्लर व्यवसायी विनिता खाडीमा रोजगाररत श्रीमान् इन्द्र अर्यालको कमाइको केही भाग कटाएर र दाताहरूको सहयोगको भरमा बाल आश्रम चलाउँदै आएको बताउँछिन्।

भूकम्पका कारण विस्थापित आश्रमका सञ्चालक र बालबालिकाको खानाका लागि स्थानीय समुदायबाट जुटाउने गरिएको चाहना समूहले जनाएको छ। समूहका अध्यक्ष श्रेष्ठ भन्छन्, “काठमाडौंमा पुनर्स्थापना हुन नसकुन्जेल उनीहरूलाई बिर्तामोडमै राख्ने प्रबन्ध मिलाएका छौं।”

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम