३-९ जेठ २०७२ | 17-23 May 2015

जोगिए किताब जोगिएनन् पुस्तकालय

Share:
  
- तुफान न्यौपाने
महाभूकम्पले दुई प्रति नभएका पुराना लिखत र दुर्लभ किताब रहेका पुस्तकालयको 'ब्याक अप' बारे सोच्नैपर्ने शिक्षा दिएको छ।

डिल्लीरमण―कल्याणी रेग्मी पुस्तकालय।
महाभूकम्पबाट क्षतिग्रस्त त्रिभुवन विश्व–विद्यालयको केन्द्रीय पुस्तकालय भवनलाई इन्जिनियरहरूले मर्मत गरेर समेत बस्न नमिल्ने ठहर्‍याएका छन्। पुस्तकालय भवन ढलेको भए 'डिजिटलाइज्ड ब्याक अप' नभएका र एक प्रति मात्र भएका किताब बर्बाद हुनेथिए। “५०० जति थेसिसलाई 'डिजिटलाइज्ड' गरेको अवस्थामा महाभूकम्प आयो”, पुस्तकालय प्रमुख जनार्दन ढुंगाना भन्छन्, “भवन पूरै भत्केको भए त्रिविका पछिल्लो ५५ वर्षका सबै सामग्री खेर जान सक्थे।”

१२ वैशाख २०७२ को महाभूकम्पले नेपाल राष्ट्रिय पुस्तकालय, मदन पुरस्कार पुस्तकालय (मपुपु), केशर पुस्तकालय, डिल्लीरमण–कल्याणी रेग्मी पुस्तकालय लगायत काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक पुस्तकालयका भवन भत्किएका/चर्किएका छन्। इतिहासकार दाजुभाइ महेशराज र दिनेशराज पन्तले संरक्षण गरेका निजी र संशोधन मण्डलका पुस्तकालयमा भने र्‍याक/दराज ढल्नुबाहेक कुनै क्षति भएको छैन। यो महाभूकम्पमा सुरक्षित रहे पनि आर्थिक अभावका कारण आफ्नो निजी र संशोधन मण्डलको पुस्तकालयका सामग्रीको 'डिजिटलाइज्ड' हुन नसकेको महेशराज पन्तले बताए।

मपुपु र राष्ट्रिय पुस्तकालय अन्यत्र नसारी सञ्चालन गर्नै नमिल्ने अवस्थामा छन् भने अन्य चाहिं मर्मतपछि साबिककै भवनमा चलाउन सकिने अवस्थामा छन् (हे. बक्सहरू)। यी सबै पुस्तकालयका ऐतिहासिक सामग्री बचेका छन्, तिनीहरूलाई जोगाउन अपनाइएको सतर्कता/पूर्वतयारीका कारण नभई, भवन नभत्केकोले। मपुपुका सम्पादक दीपक अर्याल महाभूकम्पले संकलित सामग्रीलाई 'डिजिटलाइज्ड' गरेर वा थप प्रति निकालेर देशभित्र वा बाहिर सुरक्षित राख्नैपर्ने शिक्षा दिएको बताउँछन्। उनका अनुसार, करीब १० प्रतिशत सामग्रीको डिजिटलाइज्ड भएको मपुपुले केही 'माइक्रो फिल्म' ब्रिटिश लाइब्रेरी र रोजा मुथैया रिसर्च लाइब्रेरी चेन्नईमा राखेको छ। “संकलित सामग्री एकैठाउँमा मात्र राख्दा आइलाग्ने समस्या अहिले सिकियो”, अर्याल भन्छन्।

काठमाडौंका ठूला पाँच पुस्तकालयमध्ये त्रिविको केन्द्रीय पुस्तकालय मात्र त्यही प्रयोजनको लागि बनाइएको भवनमा छ। राष्ट्रिय, केशर, मपुपु लगायतका पुस्तकालय अरू नै प्रयोजनको सय वर्ष पुराना भवनमा थिए। डिल्लीरमण पुस्तकालयका प्रमुख भोलाकुमार श्रेष्ठले अरू नै प्रयोजनका लागि बनाइएको भवनमा पुस्तक सुरक्षाका सामान्य उपाय पनि अपनाउन नसकेको अहिले थाहा भएको बताए।

सेवा बन्द

इन्जिनियरहरूले बस्न नमिल्ने रातो स्टीकर टाँसिदिएपछि नेपाल राष्ट्रिय पुस्तकालय बन्द भएको छ। पुस्तकालयले जर्नलहरूलाई इन्टरनेशनल स्ट्यान्डर्ड नम्बर (आईएसएसएन) दिने सेवा पनि रोकेको छ। “अन्य जिल्लामा शाखा भएको भए अहिले सेवालाई निरन्तरता दिन सकिने रहेछ”, पुस्तकालय प्रमुख यादवचन्द्र निरौला भन्छन्, “यहाँ क्षति हुँदा अन्यत्र बच्नेथियो।”

उता, केशरमहलमा रहेको केशर पुस्तकालयका कर्मचारी चउरमा पाल टाँगेर बसेका छन्। सरकारी इन्जिनियरहरूले मर्मत नगरी बस्न नमिल्ने भन्दै भवनमा पहेंलो स्टीकर टाँसिदिएका छन्। अहिले बाहिरै बसेर पत्रपत्रिका पढ्ने सेवा मात्र दिन सकिएको पुस्तकालय प्रमुख जानकी कर्माचार्यले बताइन्। नेपाली भाषाको सबभन्दा ठूलो अभिलेखालय मानिएको मपुपुले पनि सबै सेवा बन्द गरेको छ। “भवनबाट सामग्री सुरक्षित रूपमा निकाल्दैछौं”, सम्पादक अर्यालले भने, “तीन महीनाभित्र 'डिजिटलाइज्ड' सामग्री पढ्न दिन सक्ने गरी काम भइरहेको छ।” त्रिविको केन्द्रीय पुस्तकालयले आईएसबी नम्बर र विद्युतीय स्रोत सामग्री (ई–रिसोर्स) बाहेकका सेवा कम्तीमा ६ महीना दिन नसक्ने जनाएको छ।


मदन पुरस्कार पुस्तकालय

बिक्रम राई

२०१३ सालमा स्थापित मपुपुमा ३५ हजार पुस्तक, साढे पाँच हजार शीर्षकका पत्रपत्रिका, ५० हजार तस्वीर, १५ हजार इफिमेरा (पर्चा, पम्प्लेट, पोस्टर आदि) र १० हजार हस्तलिखित तथा अडियोभिडियो सामग्री संकलित छन्। नेपाली भाषाका सबभन्दा पुराना पुस्तक लगायत जंगबहादुरको मुलुकी ऐन, गोरखापत्र का सबै अंक, हस्तलिखित सामग्री, राणाकालीन फोटा तथा ऐतिहासिक पर्चा संरक्षण गरेको पुस्तकालय भवन १२ वैशाखको भूकम्पपछि क्षतिग्रस्त छ। अहिले पुनःनिर्माणका लागि भवन भत्काउने कामसँगै अर्काइभ सुरक्षाको काम भइरहेको छ। छानाबाट क्रमशः तला भत्काउँदै अडियो–भिडियो, डिजिटलाइज्ड सामग्री र किताबहरू निकाल्ने काम भइरहेको सम्पादक अर्यालले बताए। सम्पदाको रुपमा रहेका सबै चिज जोगाउन सके पनि रेफरेन्स सेवा चाहने थेसिसका विद्यार्थी लगायतले एक वर्ष पर्खनुपर्ने दुःखलाग्दो अवस्था रहेको उनले बताए।

केन्द्रीय पुस्तकालय, त्रिवि

तस्वीरहरुः तुफान न्यौपाने

२०१६ सालमा त्रिविसँगै स्थापना भएको केन्द्रीय पुस्तकालय अहिले 'रिसर्च लाइब्रेरी' को रूपमा छ। १२०० किताबबाट शुरु भएको पुस्तकालयमा अहिले साढे तीन लाख किताब छन्, वार्षिक सरदर ४५० शीर्षकका पत्रपत्रिका संकलन भइरहेका छन्। पुस्तकालयमा करीब २५ हजार पत्रपत्रिका/म्यागजिन छन्। सन् २००० बाट आईएसबीएन उपलब्ध गराउने राष्ट्रिय एजेन्सीको रूपमा रहेको यो पुस्तकालयले अक्सफोर्ड विश्वविद्यालयसँगको समन्वयमा गत पुसबाट अन्तर्राष्ट्रिय अनलाइन जर्नल, किताब र डाटाबेसमा निःशुल्क पहुँच दिएको छ। देशभरका ५५ क्याम्पस तथा संघसंस्थाले यो सेवा लिइरहेका थिए। पुस्तकालयमा नेपाल कलेक्सन, अर्काइभ कलेक्सन, रेफरेन्स कलेक्सन लगायत २४ शाखा छन्। पुस्तकालयलाई महाभूकम्पअघिको अवस्थामा फर्काउन 'आइटी एक्स्पर्ट' र 'लाइब्रेरी प्रोफेसनल' हरू आवश्यक भएको छ। त्यस्ता दक्ष जनशक्ति उपलब्ध भए पनि सबै सेवा सुचारु पार्न कम्तीमा ६ महीना लाग्ने पुस्तकालयका प्रमुख ढुंगानाले बताए।

केशर पुस्तकालय

केशर पुस्तकालयमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले विश्व दस्तावेजको सूचीमा दर्ता गरेको १ हजार ३३४ वर्ष पुरानो सुश्रृतसंहिता संकलित छ। औषधि विज्ञानको शल्यचिकित्सा विद्यासँग सम्बन्धित यो 'स्त्रि्कप्ट डिजिटलाइज्ड' भइसकेको छ। यो पुस्तकालयमा ७०० बन्डल पुराना दस्तावेज छन्। केशरमहल भत्केको भए यी दस्तावेजसँगै पुराना तस्वीर, पेन्टिङ, मूर्ति लगायतका अमूल्य सामग्री नासिने थिए। केशर पुस्तकालयमा नेपाल–चीन सम्झौता हुँदाको तस्वीरका साथै पशुपति, पाटन दरबार, स्वयम्भू आदिका पुराना तस्वीर छन्। संग्रहालयको रूपमा समेत रहेको पुस्तकालयमा पुरातात्विक महत्वका थुप्रै सामग्री भुईंचालो आउँदा खसेर फुटेको पुस्तकालय प्रमुख जानकी कर्माचार्यले बताइन्।

नेपाल राष्ट्रिय पुस्तकालय

२०१३ सालमा सिंहदरबारमा खोलिएको राष्ट्रिय पुस्तकालय २०१८ मा ललितपुरको हरिहर भवनमा सारिएको थियो। पुस्तकालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय न्यायिक प्रतिष्ठान र निजामती किताबखाना रहेको हरिहर भवनलाई १२ वैशाखको कम्पनपछि सरकारी इन्जिनियरले रातो स्टीकर टाँसेका छन्। राष्ट्रिय पुस्तकालयमा विभिन्न भाषाभाषीका गरी एक लाख किताब, तीन हजारभन्दा बढी थेसिस, एक हजार जर्नल र त्यति नै पत्रपत्रिका संकलित छन्। पुस्तकालयको 'एनएनएल क्याट्लग' एप्स पनि अहिले निष्त्रि्कय छ। भूकम्पले भवनको छानो भत्काएकाले पानी चुहिएर किताब सड्ने अवस्था छ। पुस्तकालय प्रमुख निरौला भन्छन्, “तालीमप्राप्त उद्धारकर्मीको सहयोग पाए तत्काल सेवा दिन नसके पनि किताबहरू झिक्न सकिन्थ्यो।”

संशोधन मण्डल पुस्तकालय

विक्रम राई

इतिहासकार महेशराज पन्तले काठमाडौंको डल्लु आवासमार्गस्थित आफ्नो पाँचतले घरको तीन तलामा संशोधन मण्डल र आफ्नो निजी पुस्तकालय बनाएका छन्। महाभूकम्पले पुस्तकालयका दराज, र्‍याक, कुर्सी, टेबुल आदिको क्षति पुर्‍याए पनि भूकम्प प्रतिरोधी घर भएकोले किताबहरु सुरक्षित भए। यो पुस्तकालयमा अन्यत्र नभएको हस्तलिखित लक्ष्मीपति–नयराज संग्रहका साथै नेपालको इतिहास, ज्योतिष विद्या र जर्नल गरी करीब १० हजार पुस्तक छन्। महेशराजका भाइ दिनेशराज पन्तको आफ्नै घरमा रहेको वेद, पुराण, गणित र नेपाली इतिहासको संकलन पनि सुरक्षित छ। “र्‍याक, दराज लडेका थिए, उठायौं”, इतिहासकार दिनेशराज भन्छन्, “भूकम्पपछि शुभेच्छुकहरू हेर्न आउनुभयो, अन्यत्र सेवा बन्द भएको बेला अध्येताहरु पनि आएर पुस्तकालयबाट फाइदा उठाउन् भन्ने चाहेको छु।”

comments powered by Disqus

रमझम