१०- १६ जेठ २०७२ | 24-30 May 2015

वेह्युलको पुनर्जीवन!

Share:
  
- फुर्पा तामाङ
७,२४६ मीटर अग्लो लाङटाङ लिरुङ हिमाल फेदीको लाङटाङ गाउँबाट विस्थापितहरू आफ्नै बस्ती आसपास सामूहिक पुनर्वास चाहन्छन्।

रसुवा जिल्लाको सबभन्दा माथिल्लो भागमा रहेको सुन्दर हिमाली गाउँ लाङटाङलाई १२ वैशाखको महाभूकम्पले क्षणभरमै नामेट बनाइदियो– माथिबाट विशाल हिमपहिरो खसाएर। लाङटाङमा स–साना हिमपहिरो चलिबस्थ्यो, तर ती गाउँसम्म आइनपुग्दै बीचमै हराउँथे। यसपालि भने कसैले नसोचेको भयो। पाखामा थुप्रिएको हिउँ महाभूकम्पसँगै गाउँ छोपेर बगाउन आइपुग्यो।

फुर्पा तामाङ
स्वयम्भूस्थित पहेंलो गुम्बामा उद्धारपछि लाङटाङवासी।

हिउँपहिरोमा गाउँले मात्र १७८ जना परेको पुष्टि भएको छ। स्वदेशी–विदेशी पर्यटक, पथप्रदर्शक र भरिया कति परे पुष्टि हुन बाँकी छ। अहिलेसम्म ६० जना गाउँलेको शव भेटिएको छ। घाइतेहरूलाई महाभूकम्पको तेस्रो दिनबाट उद्धार गरेर केहीलाई जिल्ला सदरमुकाम धुन्चे र केहीलाई काठमाडौं ल्याइयो। २९ वैशाखमा शक्तिशाली 'आफ्टरशक्' आएपछि लाङटाङवासी सबैलाई सरकारले काठमाडौं ल्याएर स्वयम्भू नजिकै पहेंलो गुम्बा परिसरमा राखेको छ।

विनाश र पुनर्वास

गाउँबाट उत्तर–पश्चिममा रहेको गुम्बामा घेवा नभएको भए १२ वैशाखमा लाङटाङका सबै सिद्धिनेथिए। गाउँमा हुनेहरू कोही उम्कन पाएनन्। लाक्पा जाङबा लामा (३५) ले पृथ्वी हल्लिएसँगै ठूलो आवाजका साथ हिउँपहिरो र्झ्दा क्याङजेनमा ढुंगा, मुढा, जस्तापाता र मान्छेहरू उडाएको देखेको बताए। उनी लाङटाङको घेवाबाट क्याङजेन फर्केको केही मिनेटमै भूकम्पले हिउँपहिरो खसाएको थियो। त्यसको भोलिपल्ट हेलिकोप्टरबाट लाङटाङ पुगेका तेम्बा लामा (३८) ले आमा, भाइको पूरै परिवार र आफन्तहरू गुमेको पाए। काठमाडौंमा भएकोले उनका बुबा र परिवार जोगिए।

लाङटाङः १२ वैशाखको महाभूकम्भ अघि र पछि।

हजुरआमा, ठूलीदिदी सहित १४ जना आफन्त गुमाएकी मुन्डु गाउँकी कार्टोक लामा (३३) ले बाँचे पनि जीवन व्यर्थ भएको बताइन्। हिमपहिरो आउँदा ओढारतिर कुदेर बाँचेकी उनले लाङटाङमा पाइलैपिच्छे चिनारुहरूको लाश र याक, चौंरी, घोडाहरू मरेको देखेको बताइन्। यति बताइनसक्दै उनी डाँको छोडेर रोइन्। अहिले पहेंलो गुम्बामा शरणागत कार्टोक लगायतका विस्थापितहरू चर्को मानसिक आघातमा छन्। त्यहीं रहेका ग्याल्बो तामाङ (४०) धेरै बेरसम्म बोल्नै सकेनन्। “मेरा बुबा–आमा, दिदी–भिनाजु, बहिनी–ज्वाईं सहित थुप्रै आफन्त परे”, रुँदै उनले भने, “हामी चाहिं श्रीमतीको जिद्दीले गर्दा बाँच्यौं।”

ग्याल्बोका अनुसार, रातभर गुम्बामा बसेर फर्केका उनी घरमा केहीबेर सुत्न चाहेका थिए, तर श्रीमतीले क्याङजेनको पसलमा काम छ भन्दै ढिपी गरेर दुई छोराछोरी समेतलाई हिंडाइन्। यो परिवार लाङटाङबाट मुन्डु र सिन्दुम काटेर नेसपली पुग्दा नपुग्दै महाभूकम्प र हिउँपहिरो आइहाल्यो। “अब हाम्रो गाउँ, घर आफन्त कोही छैन, त्यहीं फर्केर कसरी बस्नु?” ग्याल्बो भन्छन्।

त्यो दिन थाङस्याफमा रहेकाले बाँचेका शिक्षक फिन्जो तामाङ (४२) सरकारले लाङटाङवासीलाई तत्कालै सुरक्षित बासस्थानको व्यवस्था गरिदिनुपर्ने बताउँछन्। परिवार छरेर पुनर्वास गराउँदा भाषा, भेषभूषा र सांस्कृतिक अभ्यास कठिन हुने ठान्ने लाङटाङका विस्थापित तामाङहरू लाङटाङ आसपासमै सामूहिक बसोबासका लागि छट्पटाइरहेका छन्। उद्धार गरेर काठमाडौं ल्याएका वृद्धवृद्धाहरू अहिले नै लाङटाङ नजिक कतै फर्कन चाहिरहेका छन्। उनीहरू काठमाडौंको तातो हावापानीमा निस्सासिएका छन्। अहिले उनीहरूसँग बाँचेको ज्यानबाहेक परिवारजन, आफन्त, घर–धनसम्पत्ति केही छैन। यसकारण पनि सामूहिक पुनर्वास महत्वपूर्ण बनेको छ।

पुनःनिर्माण तथा पुनर्वासको लागि सामूहिक छलफल गर्दै।

लाङटाङ गाउँ पर्यटनको लागि नामूद थियो। यसलाई पर्यटकीय गाउँ बनाउन महत्वपूर्ण भूमिका खेलेका पुराना अगुवामध्येका रिन्जेन दोर्जे तामाङ तीन वर्षअघि दिवंगत भएका थिए भने अर्का अगुवा तेन्जिन पासाङ लोप्चनलाई यसपालिको हिउँपहिरोले निल्यो। पुरानो पुस्ताका अर्का अगुवा ठिले लामा त जोगिए, तर छोङ ठिले तामाङ, ग्याल्बो तामाङ (सचिव), उर्केन तामाङ लगायतका नयाँ पुस्ताका चल्तापुर्जाहरू हिउँपहिरोमा हराएका छन्। यो मानवीय क्षतिसँगै आठौं शताब्दीमा गुरु पद्मसम्भवले स्थापना गरेको टासी गोमाङ क्षोर्तेन सहित सबै गुम्बा, मानी लगायतका सम्पदा नास भएका छन्। मानी–मेन्दाङ केही बाँकी छैन।

'वेह्युल' अर्थात् भगवानले लुकाएको पवित्र भूमि मानिने लाङटाङको कुल जनसंख्या ६६६ मात्र छ। मर्ने त मरिहाले बाँचेकाहरूका लागि अब यही स्थानमा बस्ती निर्माण सम्भव देखिन्न। जसलाई बसाउनुपर्ने हो, उनीहरू पनि पुरानै ठाउँ असुरक्षित भएको बताउँछन्, तर उनीहरू टाढा जाने पक्षमा पनि छैनन्।

बूढापाकाहरूका अनुसार, ९० सालको महाभूकम्पले नुमथाङ गाउँलाई ध्वस्त पारेपछि त्यहाँको बस्ती लाङटाङ सरेको थियो। अब सरकारले लाङटाङ आसपासकै कुनै सुरक्षित स्थानमा पुनर्वास गराउनुपर्ने विस्थापितहरूको माग छ। स्याफ्रुबेसी, धुन्चे र काठमाडौं पनि उनीहरूको रोजाइमा पर्दैनन्। यसका लागि उनीहरू तदर्थ समिति मार्फत सरकारलाई आग्रह गर्ने तयारीमा लागेका छन्।

comments powered by Disqus

रमझम