१७-२३ जेठ २०७२ | 31 May - 5 June 2015

थातथलो छाडेर काठमाडौं

Share:
  
- सन्त गाहा मगर
महाभूकम्पपछिका कम्पन छल्न लाखौं काठमाडौंवासी आ–आफ्नो गृहजिल्ला फर्केका बेला भूकम्प प्रभावित जिल्लाका पीडित भने काठमाडौं आएर पालमा बस्न थालेका छन्।

तस्वीरहरुः देवकी बिष्ट
श्रीमान् गुमाएकी सिन्धुपाल्चोक तातोपानीकी बेलकुमारी थापा भक्तपुरको बोडेस्थित शिविरमा।
विनाशकारी भूकम्प आएको एक महीना पुग्दा तातोपानी–४, सिन्धुपाल्चोककी बेलकुमारी थापा (४२) भक्तपुरको बोडेमा भेटिइन्। उपत्यका बाहिरका भूकम्प पीडितहरूले भरिएको बोडेचौरमा बेलकुमारी सहित १४ जना एउटै पालमा सुत्छन्। त्यहाँ त्यस्ता ९६ वटा पाल छन्। एक हप्ता पहिले बोडे आएकी बेलकुमारीले त्यसअघि दुई दिन भक्तपुरकै सल्लाघारीमा बसेको बताइन्। छोरा र छोरी लिएर काठमाडौं आउने क्रममा ट्रक बिग्रिएपछि उनले दुई दिन बाउन्न किलो भन्ने ठाउँमा बिताउनुपरेको थियो। उनले तातोपानीबाट बोडे आइपुग्दाको कष्टकर यात्रा अघिका दुई साता कहालीमा बिताएकी थिइन्।

१२ वैशाखको मध्याह्न महाभूकम्प आउँदा बेलकुमारी बस्तु चराइरहेकी थिइन्। भूकम्प रोकिनासाथ दौडेर आउँदा उनको घर भग्नावशेषमा परिणत भइसकेको थियो। त्यो भग्नावशेषमा थिचिएका श्रीमान्लाई उनले जीवितै निकाल्न सकिनन्। त्यसपछि छोराछोरीको ज्यान जोगाउन भाग्दाभाग्दै श्रीमान्को शोक मनाउन समेत नपाएको पीडा पचाउने भगीरथ प्रयासमा छिन्, बेलकुमारी। “श्रीमान्को १३ दिने सकेर छोराछोरीलाई बारीको पाटामा ओत लगाएकी थिएँ”, बेलकुमारीले भनिन्, “फेरि २९ जेठमा आएको कम्पनले बारी नै चिरा–चिरा पार्‍यो अनि गाउँलेसँगै थातथलो छाडेर काठमाडौं आयौं।”

वनबास–पालबास

महाभूकम्पमा भाँचिएको दायाँ खुट्टाको जोरपाटीस्थित अपाङ्ग अस्पतालमा नौ दिन उपचार गराएका मिङमार तामाङ (३५) पनि बरुवा–५ सिन्धुपाल्चोकमा रहेको गाउँ फर्कन नसकेर बोडेचौरमै बसेका छन्। भग्नावशेष बनेको घर र चिरा–चिरा परेको खेतबारी रुङ्न जानुभन्दा यतै बसेर ज्यान जोगाउनु बेस भनेर पालमा बस्न आएको उनी बताउँछन्। खुट्टा भाँचिएको तेह्रौं दिनबाट उपचार पाएका उनले १२ वैशाखमा आफूसँगै बात मारिरहेका दाजु र भिनाजु गुमाए। “भूकम्पले हाम्रो वडामा मात्र ३३ जनाको ज्यान लियो”, मिङमार भन्छन्।

भक्तपुरको सल्लाघारीमा ट्रकमा बसेका दुई परिवार।
बेलकुमारी थापा र मिङमार तामाङ जस्ता थातथलो छाडेर काठमाडौं उपत्यका पस्ने भूकम्पपीडितहरूको संख्या बढ्दो छ। नेपाली सेनाका अनुसार, ७ जेठसम्ममा सिन्धुपाल्चोकबाट भक्तपुर आएका विस्थापितहरूको संख्या ५७० पुगेको छ।

उनीहरू २९ वैशाखको कम्पनपछि तातोपानी, फुल्पिङ्गकट्टी, लिस्ती, मार्मिङ, बरुवा लगायतका गाविसबाट आएका हुन्। उनीहरू सल्लाघारी, बोडे, मूलपानी, काठमाडौंको खुलामञ्च लगायतका खुला चौरमा बसिरहेका छन्। खुलामञ्चमा तातोपानीका १९ परिवार रहेको मिङमा शेर्पा (३४) ले बताइन्। उनको ९ जनाको परिवार तिनैमध्ये एक भएको छ।

सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक लगायतका जिल्लामा घर भत्किएका, खेतबारी चिरा परेका र ढुंगा–पहिरोको जोखिममा रहेका परिवार काठमाडौं उपत्यका पसेको नेपाल प्रहरी प्रवक्ता कमलसिंह बमले बताए। तिनैमध्येका एक पासाङ तामाङ (३०) ले सिन्धुपाल्चोकको मार्मिङस्थित आफ्नो गाउँमा पानी पर्दा पहिरो जाने खतरा बढेकोले श्रीमती, एक छोरा र दुई छोरी लिएर पलायन भएको बताए। उनी भन्छन्, “भूकम्पले वनबास बनाएको एक महीना नाघ्यो।”

बर्खाको पीर

सल्लाघारीमा आफैंले चलाएको ट्रकलाई बासस्थान बनाएका पासाङ बर्खा कटाएर गाउँ फर्किने सोचमा छन्। उनको ट्रकमा मार्मिङको अर्को एक परिवारले पनि आश्रय लिएको छ। १२ वैशाखमा घाइते भएकी सासूआमालाई काठमाडौंमा उपचार गरेर भक्तपुरको जगातेस्थित सालीको कोठामा पुर्‍याएका पासाङले २९ वैशाखमा गाउँ चिरा–चिरा भएपछि बस्न सक्ने अवस्था नरहेको बताए। “चिरा परेको गाउँमा ढुंगा खसेको खस्यै छन्”, उनले भने, “१२ र २९ वैशाखमा बाँचेका बस्तुभाउ छाडा छोडेर हिंडेको, के भइसके, केही थाहा छैन।”

सिन्धुपाल्चोक बरुवाका मिङमार तामाङ ।
लिस्दी–९, सिन्धुपाल्चोकका मानबहादुर श्रेष्ठ (४३) ले पनि गाई र बाख्रा चरनमै छाडेर पाँच जनाको परिवारसहित बोडेचौरमा पाल हालेका छन्। लिस्दीको पुरानो घर र तातोपानीमा गत वर्ष बनाएको पिलरवाला घर भग्नावशेष बनेपछि काठमाडौं आएको उनले बताए। “ऋण नतिर्दै नयाँ घर ढलेपछि के गरौं, कसो गरौं भएको छ”, श्रेष्ठले भने।

महाभूकम्प आउँदा खासामा चिनियाँ प्रहरीले नेपाल पस्ने गेट बन्द गरेर धेरै नेपालीको ज्यान जोगाएको उनी बताउँछन्। चिनियाँ प्रहरीले ढुंगाको पहिरो खस्दाखस्दै घर फर्कन लागेका नेपालीलाई साँझ् ५ बजेसम्म रोकेको उनले बताए। ३१ वैशाखमा काठमाडौं आएपछि आफूले भूकम्प आएको चालै पाउन छाडेकोमा श्रेष्ठ अचम्मित छन्। “लिस्दी वा तातोपानीतिर जस्तो नहल्लाएकाले हो कि!” उनले भने।

८ जेठमा बोडेचौर आइपुगेका तातोपानी–७ का सोमबहादुर बिक (७०) ले १२ वैशाख कली बौलाएको बताए। कली नबौलाएको भए सरकारले नै बनाएको दुङ्नागढी नभत्कने उनको अनुमान छ। आफूहरूले खाँदै आएको पानीको मुहान सुक्नु र सुक्खा ठाउँमा पानी निस्कनुलाई भने उनले चमत्कारै ठानेका छन्। उनका अनुसार, चारपाटा र गोलपोखरीमा माथिबाट ड्याम्म ढुंगा खसेको ठाउँमा मूल फुटेका छन्। तीन साता पर्खंदा पनि कली बौलाउन नछोडेपछि जीउ जोगाउन बस चढेर काठमाडौं आएको बताउने सोमबहादुर भदौ–असोजसम्म जेनतेन यतै बसेर घर फर्कने सोचमा छन्। प्रधानमन्त्री सुशील कोइरालाले बोडेचौर पुगेर भूकम्पपीडितलाई कम्तीमा जस्तापाताको अस्थायी घर बनाइदिने बताएकोमा उनी आशावादी छन्।

कोदारीकी माया शेर्पा (३६) ले चाहिं अस्थायी घर बनेपछि मात्र प्रधानमन्त्रीको कुरा पत्याउने बताइन्। ढलान घर भत्किएपछि भक्तपुरको पालमा आएकी दुई छोराकी आमा उनले सरकारले बाह्रबिसे–तातोपानी सडक खुलाउन समेत नसकेकोले आश्वासन अनुसार काम गर्नेमा विश्वास नरहेको बताइन्। “चिनियाँहरूले सडक नखोलिदिएको भए हामी काठमाडौं आउनै सक्ने थिएनौं”, मायाले भनिन्।

मार्मिङ–९ का इन्द्र श्रेष्ठ (३३) सरकारले समयमै उद्धार गरेको भए धेरै घाइतेको ज्यान जोगिने बताउँछन्। काठमाडौं–खासा रुटमा मालबाहक ट्रक चलाउने उनले ढुंगाले लागेर हात छिनिएका एक जना प्रहरीले समयमा उपचार नपाएर ज्यान गुमाउनुपरेकोमा दिक्दारी प्रकट गरे।

साथमा देवकी बिष्ट

comments powered by Disqus

रमझम