१७-२३ जेठ २०७२ | 31 May - 5 June 2015

गोरखामा कम्पन पोखरा र लुम्बिनीमा असर

Share:
  
- माधव बराल, पोखरा
महाभूकम्पमा जनधनको क्षति नभएका पर्यटकीय केन्द्र पोखरा र लुम्बिनीको पर्यटन व्यवसायलाई त्यसैको अप्रत्यक्ष असरले चौपट पारेको छ।

तस्वीरहरुः माधव बराल
पर्यटक आउन छाडेपछि फुर्सदिला बनेका फेवातालका डुंगा सञ्चालक
१२ वैशाखमा गोरखाको बारपाक आसपासलाई केन्द्र बनाएर आएको ७.८ म्याग्निच्यूडको भूकम्पले त्यसपूर्वका जिल्लामा जनधनको ठूलो क्षति गर्‍यो। प्रमुख पर्यटकीय नगरी गोरखा पश्चिमको पोखरा भाग्यमानी ठहरियो, महाभूकम्पबाट मानवीय तथा भौतिक क्षति नभएकाले। यसरी महाभूकम्पको प्रत्यक्ष मारबाट जोगिए पनि त्यसको अप्रत्यक्ष असरबाट पोखरा थिलथिलो बनेको छ। “१० वर्षे द्वन्द्वकालमा पनि यस्तो असर परेको थिएन”, पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष विप्लव पौडेल भन्छन्, “१२ वैशाखअघि ८० प्रतिशत रहेको होटल 'अकुपेन्सी' अहिले पाँच प्रतिशतमा छ।”

संघका अध्यक्ष भरतराज पराजुलीका अनुसार, जून–जुलाईसम्मका सबै बुकिङ रद्द भएको छ। मुक्तिनाथ दर्शन र गर्मी छल्न भारतीय तथा चिनियाँ पर्यटकहरू आउने यो 'पिक सिजन' मा आगमन शून्यप्रायः छ। यो बेला पर्यटकले खचाखच हुने होटलहरू खाली–खाली छन्। होटल संचालन खर्च धान्न 'अकुपेन्सी' कम्तीमा ५५ प्रतिशत हुनुपर्ने व्यवसायीहरू बताउँछन्। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले बन्द गर्दा झ्न् नराम्रो सन्देश जाने भएकाले ठूलो घाटा सहेरै रेस्टुरेन्टहरू चलिरहेको बताए।

टे्रकिङ एजेन्सीहरू पनि पदयात्री नपाएर बसेका छन्। ट्रेकिङ एजेन्ट्स एसोसिएसन नेपाल (टान) पोखराका अध्यक्ष रामचन्द्र शर्माले अन्नपूर्ण सहित गण्डकी र धौलागिरिका कुनै पनि पदमार्गमा समस्या नभए पनि महाभूकम्पपछि पदयात्री नआएको बताए। टानमा आबद्ध पोखराका ११० टे्रकिङ एजेन्सीका १५ जूनसम्मका बुकिङ रद्द भएका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले भूकम्पपछि स्वदेशी पाहुना त झ्नै ठप्प भएको बताए। काठमाडौं उपत्यकाका विश्व सम्पदास्थलहरू भग्नावशेष बन्नु, त्यसले नेपाल नै ध्वस्त भयो भन्ने खालको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा जानु र पोखरामा सीधै पर्यटक भित्र्याउने अन्तर्राष्ट्रिय विमानस्थल नहुनुले यो अवस्था आएको व्यवसायी बताउँछन्।

चौतर्फी असर

पोखराको अर्को विशेषता साहसिक पर्यटन पनि अहिले ठप्प छ। दैनिक १८ वटासम्म उडान गर्ने ४६ वटा प्याराग्लाइडिङ कम्पनी अहिले तीन–चार उडानमा झ्रेका छन्। प्याराग्लाइडिङका ६० जना विदेशी पाइलट घर फर्केका छन् भने करीब १०० जना नेपाली पाइलट फुर्सदिला बनेका छन्। एभिया क्लबका म्यानेजर रिजन रिजालले दैनिक ९० वटासम्म हुने अल्ट्रालाइट उडान दुई–तीन खेपमा झ्रेको बताए। त्यस्तै, भूकम्पअघि दैनिक ६०/७० जनाले जीपफ्लायर र त्यति नै जनाले बञ्जीजम्प गर्ने गरेकोमा अहिले फाट्टफुट्ट पर्यटक मात्र आइरहेका छन्।

बसपार्कमा थन्किएका पर्यटक बस।
पृथ्वी राजमार्ग बस संचालक समितिले महाभूकम्पअघि दैनिक ४२४ बस चलाइरहेकोमा अहिले मुश्किलले २०० बस चलिरहेका छन्। नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार, यो सिजनमा पोखरा–काठमाडौं–पोखरा रुटमा एकतर्फी कम्तीमा २३ वटा पर्यटक बस चल्ने गरेकोमा अहिले ५/६ वटा गुडिरहेका छन्। त्यस्तै, काठमाडौंका चार वटा विमान कम्पनीले दैनिक ३० उडान पोखरामा गर्दै आएकोमा अहिले १३ उडान भइरहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले बताए। काठमाडौं―पोखरा दैनिक आठ उडान गर्ने बुद्ध एअर दुई उडानमा खुम्चेको छ। पोखरा–जोमसोम उडान पनि ५० प्रतिशत घटेको छ।

लुम्बिनीको बेहाल

१२ र २९ वैशाखका महाकम्पनहरूले काठमाडौंका धेरै पर्यटकीयस्थल क्षत–विक्षत बन्दा गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धको बाल्यकाल बितेको कपिलवस्तु, मावली देवदह र बुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम सुरक्षित रहे। तर, त्यस लगत्तैबाट यी विश्व पर्यटनस्थलहरू सुनसान छन्। लुम्बिनी होटल व्यवसायी संघका महासचिव लीलामणि पौडेल प्राकृतिक प्रकोपबाट बचे पनि सही सूचना र अन्तर्राष्ट्रिय विमानस्थलको अभावका कारण महाभूकम्पपछि लुम्बिनी क्षेत्रमा पर्यटक आउन छाडेको बताउँछन्।

सडकमार्गबाट भएर सबभन्दा बढी पर्यटक भित्रिने रूपन्देहीको बेलहिया नाकामा पर्यटक पातलिएका छन्। भारतमा नेपाल असुरक्षित छ भन्ने सन्देश प्रवाह भएकोले यो अवस्था आएको नेपाली व्यवसायीहरू बताउँछन्। नेपाल सरकारले लुम्बिनी सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्दै नगरेको होटल व्यवसायी संघ लुम्बिनीका अध्यक्ष मिथुनराज श्रेष्ठ बताउँछन्। महाभूकम्पका कारण यसपटक बुद्धजयन्तीको अवसरमा लुम्बिनीमै पनि औपचारिक कार्यक्रम गरिएन। यसबाट पनि समस्या थपिएको लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङ बताउँछन्।

तङ्ग्रिने प्रयास

महाभूकम्पका कारण एक महीनामै थिलथिलो बनेको पर्यटन व्यवसायलाई पुनर्जीवन दिन पोखराका व्यवसायीहरूले भारत र चीनमा प्रवर्द्धनात्मक अभियान चलाउने भएका छन्। व्यवसायी गणेशबहादुर भट्टराईको संयोजकत्वमा गठित पोखरा पर्यटन पुनरुत्थान समितिले भारतीय शहरहरूमा सीधा हवाई सेवा सञ्चालन गर्ने पहल थालेको छ। महाभूकम्पपछि फैलिएको पूरै नेपाल असुरक्षित भएको भ्रम नहटाई पोखराको पर्यटनले पुनर्जीवन नपाउने देखेर यो कदम चालिएको भट्टराईले बताए।

पोखराका व्यवसायीहरूले पर्यटक आकर्षित गर्न भारी छूटका प्याकेज समेत घोषणा गरेका छन्। होटल, लज र गेस्टहाउसमा ५० प्रतिशत छूट छ भने रेस्टुरेन्टमा २०, ट्रेकिङ प्याकेजमा ३० र पर्यटक बसमा २० प्रतिशत छूट दिने व्यवस्था गरिएको छ। यसैगरी, प्याराग्लाइडिङ र अल्ट्रालाइटमा १५, जीपफ्लायर र बञ्जीजम्पमा ५० तथा पदयात्री गाइड शुल्कमा २० प्रतिशत छूट गरिएको छ। तर, यतिले पुग्ने अवस्था नरहेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष टीकाराम सापकोटा बताउँछन्। नेपाल ध्वस्त बनेको भनेर अन्तर्राष्ट्रिय जगतमा फैलिएको भ्रम नै चिर्न अत्यावश्यक भएको उनले बताए। “महाभूकम्पले काठमाडौंमा क्षति पुर्‍याए पनि पोखरा, सौराहा, बर्दिया लगायतका पर्यटकीय स्थलहरू पूर्ववत् अवस्थामा रहेको सन्देश प्रवाह गर्नैपर्ने अवस्था आइलागेको छ”, सापकोटा भन्छन्।

साथमा दीपक ज्ञवाली, बुटवल


व्यापार पनि उस्तै

महाभूकम्पपछिको एक महीनामा देशको प्रमुख आर्थिक नाका वीरगञ्जको व्यापार नराम्ररी खस्केको छ। १२ वैशाखअघि दैनिक १०/१५ टन प्याज र आलु बिक्री गर्ने वीरगञ्जका व्यापारीहरू अहिले दुई/तीन टनमा सीमित छन्। शिवदेवी स्टोर्सका सञ्चालक गान्धीप्रसाद साह धेरै व्यापारीले काठमाडौं छाडेकाले उताको माग समेत घटेको बताउँछन्। व्यापारिक घराना चाचान ग्रुपका अध्यक्ष बाबुलाल चाचान भन्छन्, “देशकै अवस्था खराब भएपछि यहाँको व्यापार–व्यवसाय कसरी राम्रो हुनु!”

चाचानका अनुसार, वीरगंज नाकाबाट भित्रिएकामध्ये ७० प्रतिशत मालसामान काठमाडौं, पोखरा लगायत पहाडका शहरमा जाने गरेकोछ। महाभूकम्पले मध्य पहाडकै अवस्था नाजुक बनाइदिएपछि व्यापार स्वतः ओरालो लागेको चाचानले बताए। यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य विजय सरावगी भन्छन्, “बजारबाट माग नै नआएपछि आयात गरिएका सामान पनि गोदाममा थन्क्याएर राख्नुपरेको छ।”

पहाडमा भूकम्पले पारेको असरको मार बारा–पर्सा करिडोरका करीब ४०० खाद्य उद्योगमा परेको छ। यिनैमध्येको एक मोहित एग्रो इण्डष्ट्रीजका सञ्चालक सुबोध गुप्ताका अनुसार, यहाँबाट देशभरिकै लागि उत्पादनहरू काठमाडौं पठाइन्छ। “काठमाडौं सहित पूरै पहाड महाभूकम्पको चपेटामा परेकोले सारा सामानको माग प्रभावित भएको छ”, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष गुप्ता भन्छन्, “अरु त अरु ब्यांकिङ कारोबार समेत चल्न सकेको छैन।”

महाभूकम्पपछि वीरगञ्जका होटल–लजहरू पनि सुनसान छन्। भूकम्पको दुई सातासम्म त कोही आउँदै नआएको होटल व्यवसायीहरू बताउँछन्। अहिले यहाँका होटलहरूको व्यापार २० प्रतिशतको हाराहारी झारेको विश्व होटलका सञ्चालक दीपकमान श्रेष्ठले बताए। “धन्न, कर्मचारी खर्च चाहिं वैवाहिक कार्यक्रमहरूले धानिरहेका छन्”, होटल एसोसिएसन वीरगञ्जका अध्यक्ष श्रेष्ठले भने।

सुरेश बिडारी, वीरगञ्ज

comments powered by Disqus

रमझम