अर्कोतिर महाभूकम्पसँगै चाउचाउ र बिस्कुट चारचौरास छरिएको छ। भूकम्प प्रभावित क्षेत्रका आमाहरू आफ्ना बालबालिकालाई बिस्कुट–चाउचाउले नै तृप्त पार्न प्रयासरत छन्। भूकम्पको त्रासदीमा उनीहरूलाई स्वास्थ्यबारे सोच्ने फुर्सद पनि छैन। भूकम्पपछिको अव्यवस्थाले सबैको स्वास्थ्यमा नकारात्मक असर पारेको छ। त्यसमाथि, चाउचाउ र बिस्कुट जस्तो पत्रु खानाले असंख्य बालबालिकाको स्वास्थ्यमा असर गरिरहेको छ।
स्वास्थ्य मन्त्रालय र दाता निकायहरूको ध्यान गाउँ–गाउँमा खाद्यान्न पुर्याउनेमा छ तर पुगिरहेको छ– पत्रु खाना। पोषणलाई कम मह140व दिइँदा यस्तो भइरहेको छ। महामारी आउन नदिन सरकार र संघस्ांस्थाले गरेको प्रयास भने फलदायी भएको छ। जनस्वास्थ्य विशेषज्ञहरूले भूकम्पपछि रोगको महामारी आउन सक्ने चेतावनी दिए अनुसारको प्रयास भएकैले जनस्वास्थ्य जोगियो। भविष्यमा कुपोषणको महामारी फैलिन सक्नेमा भने कसैको ध्यान गएको छैन।
तातोको शक्ति
भूकम्प प्रभावित ठाउँहरूमा पुग्दा महिलाहरूले 'तात्तातो पकाएको खान पाए भने कस्तो आनन्द आउँथ्यो' भनेको सुनियो। कतिले 'तातो भात र दाल खाएपछि त यस्तो कठिन अवस्थामा पनि मजासँग निदाउन सकिन्छ' भनिरहेका थिए। कतिपय ठाउँमा युवकहरूले थुप्रै मानिसलाई भात, दाल र तरकारी पकाएर खुवाएको पनि देखियो। हरिसिद्धिको पालमा बसेका विभिन्न परिवारले केही न केही खानेकुरा ल्याएर एउटै भान्सामा पकाइरहेका थिए। वास्तवमा तातो खाना खानु पेट भरिनु मात्र होइन, मनमा आनन्दको भाव जगाउनु पनि हो। चाउचाउ र बिस्कुटले न यस्तो भाव जगाउन सक्छ न त तागत दिन।
तातो घरेलु खानेकुराले कठिन परिस्थितिमा पनि सहनशक्ति र तागत दिन्छ। त्यही कारण, थुप्रै मानिस भूकम्पनहरूको बीचमा घरभित्र छिटो–छिटो पकाएर तात्तातो खाएर पालमा आएर बसे। घरभित्र पस्न डराउनेहरू पनि भान्सामा चाहिं गए। मैले भोटेचौरदेखि साँखु र भक्तपुरदेखि बुङ्गमतीसम्मका साझ्ा बासहरूमा तातो पकाई खाएर जीवनलाई स्फुर्ती पारेको थुप्रै उत्साहजनक दृश्य देखें। तातो खानाले उनीहरूलाई सामान्यतिर फर्कन पक्कै सघाएको हुनुपर्छ। व्यक्तिगत र सामूहिक रूपमा पकाएर खाँदा सामाजिक–पारिवारिक जीवनमा सहजता ल्याउन मद्दत गरेको हुनुपर्छ। विभिन्न संस्था र सरकारले दिएको चाउचाउ–बिस्कुटको मात्रै भर परेको भए यतिबेलासम्म मान्छेहरू धेरै ओइलाइसकेका हुनेथिए।
पोषणको छलफल
महाविनाशपछिको यो बेलामा विशेषगरी बालबालिका र गर्भवतीहरू कुपोषणको ठूलो जोखिममा छन्। अनौठो के छ भने, उनीहरूले भूकम्पपछि खान नपाएर हैन, बढी चाउचाउ खाएर शारीरिक कमजोरी आर्जन गरेका छन्। यसको अर्को घातक पक्ष छ– अरू बेला कम चाउचाउ–बिस्कुट खाएकाहरू पनि अहिले धेरै खाने बानी परेका छन्।
अब उनीहरूलाई पहिलाकै जस्तो, रैथाने खानेकुरामा नफर्काई हुँदैन। चाउचाउमा बानी परेकाहरूलाई पोषणयुक्त तत्वले भरिपूर्ण खाद्यान्नले स्वास्थ्यलाई राम्रो पार्छ भनेर सम्झाउनुपर्छ।
भूकम्पपीडित क्षेत्रका बालबालिकालाई भिटामिन र क्याल्सियमको खाँचो हुन्छ भनेर औषधिको रूपमा ट्याब्लेट वा प्लास्टिकका पोकामा 'सूक्ष्म पोषणतत्व' दिने संस्थाहरूले अब तिल, ज्वानो, आलस, राजमा, दही आदिमा भरपुर क्याल्सियम पाइन्छ भनेर प्रचार गर्नुपर्छ। विश्वका विभिन्न ठाउँबाट नेपाल आउने पोषणविद्हरूले अब अनेक थरीका प्रोटिन, बिस्कुट, सूक्ष्म पोषण तत्व भएका चकलेट ल्याएर 'यो खाएर तगडा बन' भन्नेछन्। त्यस्ता बाहिरी वस्तुको कृत्रिम स्वादमा परेपछि घरमा पकाएको तातो भात, तरकारी बेस्वादको लाग्नेछ। अनि पछि जब जीवन सामान्य भइसक्छ, हाम्रा बालबालिका 'त्यही औषधि र चकलेट' खोजिरहने छन्, कुपोषणको शिकार बन्नेछन्।
इन्जिनियरहरूले सस्तोमा बलियो घर बनाउन सिकाए झैं अब जनस्वास्थ्यविज्ञ र स्वास्थ्यकर्मीहरूले गाउँ–शहरका अभिभावकलाई पोषण–स्वास्थ्यबारे जानकारी दिनुपर्छ। ओझ्ेलमा परेका हाम्रा परम्परागत खानेकुराका गुणहरूलाई प्रकाशमा ल्याउनुपर्छ। सहज र सस्तोमा उपलब्ध पौष्टिक खाद्यान्नले बालबालिका र गर्भवतीलाई पुर्याउने सहयोगको व्यापक चर्चा गरिनुपर्छ। गाउँमा सहजै पाइने तरकारी, तरुल, लट्टे, आलु आदिको प्रयोग तथा परिकारमा विविधता ल्याउनुपर्छ।