२४-३० जेठ २०७२ | 7-13 June 2015

बहुतले घर: होचालाई अन्याय

Share:
  
- रामेश्वर बोहरा
'जो होचो उसकै मुखमा घोचो' भन्ने उखानले अपार्टमेन्ट वरिपरिका घरको अवस्था चित्रण गरिरहेको छ।

तस्वीरहरुः विक्रम राई
बालकुमारी, ललितपुरस्थित वेस्टार अपार्टमेन्टको क्षतिग्रस्त भवन छेउमै रहेको घर अगाडि ईश्वर ढकाल।
२० वर्षअघि काठमाडौंको धापासीहाइटमा बनाएको अढाइतले घर रमेश कुँवरका लागि 'स्वर्ग जस्तो' थियो। चिटिक्कको त्यो घरमा दूरसञ्चार संस्थानबाट अवकाशप्राप्त कुँवरका बुबासहित ११ जनाको परिवार हाँसीखुशी थियो। “अब यही घरले पुर्ने हो कि भनेर दिनरात त्रसित छौं” कुँवर भन्छन्, “अर्को उपाय भइदिए एकछिन पनि यहाँ बसिंदैनथ्यो।”

'वाल सिस्टम' को रमेशको घरलाई महाभूकम्पले केही गरेको छैन। छिमेकका अरू घर पनि सद्दे नै छन्, तर त्यही नजिक ठडिएको १८ तले 'पार्क भ्यू होराइजन अपार्टमेन्ट' कुन बेला कता ढल्ला झैं भएको छ। शहरी विकास तथा भवन निर्माण विभागले यो अपार्टमेन्टमा अति जोखिमपूर्ण जनाउने रातो स्टीकर टाँसेको छ। यो 'टावर' को नजिक भएर हिंड्ने बटुवा समेत त्राहिमाम् हुन्छन्। महाभूकम्पपछिको एक महीना खुला चउर र पार्टी प्यालेसहरूमा बिताएको कुँवर परिवार लगायतका छिमेकीहरू अहिले आ–आफ्नो घर फर्केका छन्, तर सबैको चैन हराएको छ। “यो अपार्टमेन्ट बनेपछि बिहानदेखि साँझ्सम्म घाम पर्ने घर पूरै छायाँमा पर्‍यो” कुँवर भन्छन्, “त्यसपछि बेचेर सर्न खोज्यौं, तर कसैले किन्नै चाहेनन्, अब त झ्न् कसले किन्ला र!”

२०६४ मा सरकारी जागिरबाट निवृत्त भोजपुरका ईश्वर ढकाल (६६) ले ललितपुर उपमहानगरपालिका–९, बालकुमारीमा अढाइतलाको घर बनाए, बाँकी जीवन यही घरमा बिताउने योजनासाथ। तर, अहिले यही घर आतंक बनेको र छाडेर जाने ठाउँ पनि नभएको ढकाल बताउँछन्। उनको घरलाई भूकम्पले केही गरेको छैन, तर छेवैमा पछि ठडिएको १३ तले 'वेस्टार अपार्टमेन्ट' चिराचिरा परेको छ। त्यो कतिखेर ढलेर थिच्न आइपुग्ने हो भन्ने त्रास छिमेकमा व्याप्त छ। भवन विभागले 'वेस्टार टावर' मा बस्न नमिल्ने भन्दै पहेंलो स्टीकर टाँसेको छ। “जीवनभरको कमाइ हालेर बुढेसकालमा ओत लाग्न बनाएको घरमा बस्न नसकिने भो”, एक महीना चउरमा बस्दा बिरामी हुन थालेपछि घर फर्केका ढकाल भन्छन्, “हाम्रो जीउज्यानको सुरक्षा कसले गर्ने?”

धापासी हाइटका रमेश कुँवर र बालकुमारीका ईश्वर ढकाल दुवैले बस्ती विकास भएका ठाउँमा जग्गा किने, दुःख गरेर घर बनाए। क्रमशः घना बन्दै गएका ती बस्तीबीचमै व्यापारिक उद्देश्यका अपार्टमेन्टहरू खडा गरिए। अपार्टमेन्ट निर्माणका क्रममा चलाइएका 'हेभी इक्विप्मेन्ट' का कारण शुरूमै वरिपरिका घरहरू चर्किए, पानीको स्रोत खल्बलियो। अपार्टमेन्ट बनिसकेपछि ती घरहरूमा घाम हरायो। आफूहरूले पाँच म्याग्निच्यूडको जस्तो कम्पन अपार्टमेन्ट बन्दै बेहोरेको बताउँदै ढकाल भन्छन्, “अब त्यही अपार्टमेन्टले काल बनेर तर्साइरहेको छ।”

आन्दोलनको सहारा

धापासी, काठमाडौंस्थित पार्क भ्यू होराइजनसँगैको जोखिमपूर्ण घरमा रमेश कुँवर ।
पार्क भ्यू होराइजन अपार्टमेन्टको पश्चिम गेट छेउमा झुन्डिएको व्यानरमा वरपरका बासिन्दाको सुरक्षा सम्बन्धी माग छन्। २३ वैशाखमा टोखा नगरपालिका पुगेर जीउ–धनको सुरक्षा गरिपाऊँ भन्दै निवेदन दिएका अपार्टमेन्ट वरपरका १६६ परिवारले धराप भत्काएर, हटाएर वा जे गरेर भए पनि आफूहरूको बास सुरक्षित पारिदिन माग गरेका छन्। माग लिएर एक महीनासम्म जिल्ला प्रशासन, भवन विभाग, संसदीय अनुगमन समिति लगायतका निकाय धाएका उनीहरूले आश्वासन मात्र पाएका छन्।

वेस्टार अपार्टमेन्ट छेउछाउका करीब ७० परिवारले पनि संघर्ष समिति बनाएर ललितपुर उपमहानगरपालिका, जिल्ला प्रशासन र भवन विभाग धाएर आफ्नो समस्या राखेका छन्। तर, उधारो आश्वासन बाहेक केही नपाएको समितिका सदस्य ईश्वरप्रसाद ढकालले बताए। अलग–अलग जाँदा माग सुनुवाई नभएपछि उनीहरूले अपार्टमेन्ट पीडितहरूको संयुक्त संघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनको तयारी थालेका छन्। संघर्ष समितिमा अपार्टमेन्ट वरपरका बासिन्दासँगै अपार्टमेन्टमा फ्ल्याट किनेकाहरू पनि संगठित भएका/हुँदै छन्।

काठमाडौं उपत्यकामा निर्माणाधीन समेत गरेर ७० भन्दा बढी अपार्टमेन्ट छन्। तीमध्ये ३० वटा जति १० तलाभन्दा अग्ला छन्। सबै अपार्टमेन्ट बस्तीबीचमै बनेका छन्। तीमध्ये अधिकांश अपार्टमेन्ट चर्केका र वरपरका छिमेकी त्रसित छन्। संयुक्त संघर्ष समितिका संयोजक गणेशमानसिंह कार्की अपार्टमेन्ट छेउछाउका सद्दे घरहरूलाई जे गरेर भए पनि सुरक्षित बनाइनुपर्ने बताउँछन्। “धेरैजसो अपार्टमेन्ट नियम मिचेर बनेकाले अदालतबाट पनि न्याय पाइएला”, कार्की भन्छन्, “तर, त्यसका लागि वर्षौं लाग्छ, हामीलाई अहिल्यै सुरक्षित बसोबास चाहिएको छ।”

व्यापार पक्षधर कानून!

बहुतले अपार्टमेन्ट बनाउँदा लामो कानूनी प्रक्रिया पूरा गर्नुपर्छ। सुरक्षाका लागि आवश्यक सबैखाले मापदण्ड निर्माण क्रममै पूरा गर्नुपर्छ। काठमाडौंका अपार्टमेन्टहरूले निर्माण मापदण्ड पूरा गरे/नगरेको बारे विस्तृत अध्ययन हुन बाँकी नै छ, तर मापदण्ड पूरा नगरेकै कारण भूकम्पबाट क्षतिग्रस्त भएको प्रारम्भिक अध्ययनहरूले देखाएका छन्। अपार्टमेन्ट वरपर पहिल्यै बनेका घरहरूप्रतिको सरकारी तथा कानूनी उपेक्षा उस्तै डरलाग्दो छ। जीवनभरको आर्जनबाट ओत लाग्ने घर बनाएका सर्वसाधारणको हितलाई उपेक्षा गरेका नियमकानून व्यापारिक प्रयोजनका लागि अपार्टमेन्ट बनाउनेहरूको पक्षमा देखिन्छन्।

काठमाडौं उपत्यकाको नगरपालिका र नगरउन्मुख गाविसहरूमा गरिने निर्माण सम्बन्धी मापदण्ड २०६४ ले चक्रपथभित्र अपार्टमेन्ट बनाउँदा अगाडि ६ मिटर तथा दायाँ, बायाँ र पछाडि ४ मिटर खाली जग्गा छाड्नुपर्ने व्यवस्था गरेको छ। चक्रपथ बाहिर चाहिं अगाडि ८ मिटर, दायाँ, बायाँ र पछाडि ६ मिटर छाड्नुपर्छ। यो भनेको वरिपरिका घर र अपार्टमेन्टको दूरी हो। शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको डिभिजन कार्यालय काठमाडौंका प्रमुख बुद्धिसागर थापा यही मापदण्ड अनुसार अपार्टमेन्टहरू बन्ने र सार्वजनिक यातायात सञ्चालन हुने सडक पूर्वाधार समेतलाई हेरेर निर्माणको स्वीकृति दिइने गरिएको बताउँछन्।

यसबाट स्वाभाविक प्रश्न उठ्छ– १५ वा १८ तले अपार्टमेन्ट कुनै कारणवश पूरै वा आंशिक रूपमा ढल्दा त्यसको चार वा ६ मिटर परका अरू घर र त्यहाँ बस्ने मानिसहरूलाई के होला? सरकारले मापदण्ड बनाउँदा यो हेक्का राखेको देखिन्न। सामान्यतया भूकम्प वा अन्य कारणले अपार्टमेन्टहरू भत्कँदा त्यसका अवशेषहरू त्यसैको कम्पाउण्डभित्र रहनुपर्छ। तर, काठमाडौंका अधिकांश अपार्टमेन्ट भत्कँदा बस्तीका अरू घरमा खस्ने गरी बनाइएका छन्। कति ठाउँमा त सार्वजनिक सडक नै धरापमा छन्। अपार्टमेन्ट पीडित संघर्ष समितिका संयोजक कार्की भन्छन्, “नियम–कानून नै व्यापारी पक्षधर छन्, हाम्रो सुरक्षामा कसले ध्यान दिने?”

अपार्टमेन्टहरूले वरपरको जनजीवनलाई कहालीलाग्दो बनाएका छन्। बालकुमारीस्थित वेस्टार अपार्टमेन्ट निर्माणसँगै छिमेकमा बद्री पौडेलको इनार सुक्यो। अपार्टमेन्टहरूले पानी निकास हुने ठाउँमै अग्लो पर्खाल बनाएकाले वर्षात्मा बस्ती नै डुब्छ। संघर्ष समितिका सदस्य ईश्वर ढकाल भन्छन्, “यो समस्या लिएर जाँदा उप–महानगरपालिका र भवन विभागका अधिकारीहरूले 'हाम्रा प्राविधिकले फिल्डमै पुगेर हेरिसके, सबै कुरा ठीक छ, अपार्टमेन्ट निर्मातालाई झूटो आरोप लगाउने' भन्दै हामीलाई नै थर्काए।”

comments powered by Disqus

रमझम