पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले दुई/तीन वर्ष टिक्ने तीन किसिमका घर र एउटा विद्यालयको नमूना क्याम्पस परिसरमा प्रदर्शनीमा राखेका छन्। विद्यार्थीको आश्रय नेपाल नामक समूहले आश्रय रिलिफ सेल्टर, रोबोटिक्स क्लबको छरितो घर, विद्यालय र हल तथा नेपाल अर्थक्विक रिलिफ फण्ड, दिल्ली समूहले 'ट्रान्जिसनल ब्याम्बो हाउस' बनाएका छन्।
आश्रय नेपालको घरमा स्टिलको रडबाहिर एमएस पाइप छिराएर सुरुङ आकारमा पिलर गाडिएको छ। ९*१२ फिट क्षेत्रफलमा बनाइने यस्तो घरको पर्खालमा ईंटा वा ढुंगाको गारो लगाएर छानामा जस्तापाता राखिन्छ। हावाले जस्ता नउडाओस् र भित्र बढी तातो नहोस् भनेर जस्तापातामाथि प्लास्टिक, माटो र स्याउला राखिएको छ। समूहका सदस्य २४ वर्षीय सुगन्ध सुवेदी ५/६ जनाको परिवारलार्ई यो घर ठिक्क हुने बताउँछन्।
रोबोटिक्स क्लबले चाहिं रु.४० हजारमा तयार हुने सुविधाजनक घरको नमूना राखेको छ। दुई बण्डल जस्तापाता, ७ वटा फलामे रड, १२ मिटरको इन्सुलेटिङ म्याट, एक किलो तार र एउटा प्लाइउडबाट बन्ने क्लबको 'छरितो घर' मा सोलार बत्ती जडान गरिएको छ। सोलारले ७ वाटको एउटा बल्ब बाल्नुका साथै दुइटा मोबाइल चार्ज गर्न सक्ने क्लबका सञ्जिव पौडेल (२३) ले बताए। १२138१५ फिटका गोलाकार घरमा चिम्नी र आकाशे पानी संकलन गर्ने प्रणाली पनि छ। क्याम्पस परिसरमा निर्मित घरकै छेउमा शौचालय र विद्यालय समेतको नमूना तयार पारेको क्लबले हालसम्म काठमाडौंको गोलढुंगा, काभ्रे, भक्तपुर र ललितपुरमा गरी ५० वटा 'छरिता घर' बनाएको छ।
नेपाल सरकारले पनि भूकम्प प्रभावित क्षेत्रका लागि 'दुईनाले घर' को नमूना सार्वजनिक गरेको छ। राष्ट्रिय योजना आयोग र शहरी विकास मन्त्रालयको पहलमा भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) का प्राविधिकले डिजाइन गरेको 'दुईनाले घर' स्थानीय सामग्रीबाट बन्छ। “बाँस वा काठको स्ट्रक्चरमा ढोड, स्याउला, खर आदि खापेर भित्ता बनाएपछि जस्ताको छानो राखिन्छ”, एनसेटकी भुवनेश्वरी पराजुली भन्छिन्, “हरेक जोर्नीमा बाँधिएको तारले घरलाई बलियो पार्छ।”
उनका अनुसार, परम्परागत शैलीमा थोरै परिष्कार गरेर बनाइएको यस्तो घरमा दुई वर्षसम्म मजाले बस्न मिल्छ। त्यसपछि अन्य प्रयोजनमा उपयोग गर्न सकिन्छ।
प्रि–फ्याब लहर
उनले डिजाइन गरेको ३५०138५०० फिटको एकतले घरमा फलाम वा काठको स्ट्रक्चर बनाएर भित्ता र छानोमा ६ इन्चका प्रि–फ्याब्रिकेटेड स्याडविच प्यानल जडान गरिन्छ। छेउ–कुनामा नट–बोल्ट कसेर प्यानललाई दह्रो बनाइन्छ। यस्तो घर बनाउँदा एक तलाको लागि ढेड फिट जग खने पुग्छ।
यस्तै प्रि–फ्याब घरका सामग्री बिक्री–वितरण गर्ने हिमालयन प्रि–फ्याब प्रालिले देशभर १०० भन्दा बढी प्रि–फ्याब घर बनाइसकेको छ। आठ वर्षअघि प्रि–फ्याब प्रविधिबाट बनेको कम्पनीको लैनचौरस्थित कार्यालयमा अहिले सोधपुछ गर्न आउनेको संख्या ह्वात्तै बढेको कम्पनीका अपरेसन म्यानेजर गणेशकुमार पाण्डे बताउँछन्। उनका अनुसार, यस्ता घर ४० वर्षसम्म टिक्छन्।
स्टील बिममा प्यानल राखेर बनाइने प्रि–फ्याब घरलाई एकबाट अर्को ठाउँमा सार्दा १० प्रतिशत जति मात्र बिग्रने व्यवसायी बताउँछन्। हिमालयन प्रि–फ्याबको दुई बेडरुम, एक किचन, एक कमन रुम र एउटा ट्वाइलेट भएको एकतले घरलाई रु.८ लाख पर्छ।
त्यसो त, नेपालीका लागि प्रि–फ्याब प्रविधि निकै महँगो भएकाले तत्कालका लागि यो राम्रो विकल्प हुनै सक्दैन भन्नेहरू पनि छन्। बेलायतमा जेनेरल बिल्डरको तालीम लिएर आठ वर्ष उतै काम गरेका देवेन्द्रबाबु तिवारी (३६) प्रि–फ्याब प्रविधि आम नेपालीका लागि 'अफोर्डेबल' नभएको बताउँछन्। “हाम्रो कमाइ त्यति धेरै छैन”, तिवारी भन्छन्, “त्यसमाथि धन–जनको यत्रो क्षति भएको बेला लाखौंको घर बनाउन सहज नहोला।”
फूलखर्क भूकम्प सहयोग कोषको आर्थिक सहयोगमा 'रम्ड अर्थ सोलुसन' ले काठमाडौंको गोलढुंगामा खलिलीको शैली पछ्याएका छन्, जसलाई 'पृथ्वी झ्ोला घर' भनिएको छ। कोषका अध्यक्ष ज्योति अधिकारीका अनुसार, 'झ्ोला घर' मा ६०० वटा बोरामा माटो भरेर गारो लगाइएको छ। रडको आडमा खप्टाइएका बोरालाई तारले कस्तै माथि उठाएर छानामा जस्ता राखिएको छ। छुट्टै भान्सा कोठा र शौचालय सहितको घरलाई राम्रो देखाउन भित्र–बाहिर माटोले लिपिएको छ। यो घर रु.२ लाखमा तयार गरेको अध्यक्ष अधिकारीले बताए।
त्यस्तै, पाटनको भ्याली प्लस प्रालिले सेरा बोर्डको घर बनाउने शैली भित्र्याएको छ। ग्लास उल इन्सुलेसन जडित सेरा बोर्ड घरको भुईं, भित्ता र सिलिङमा लगाइन्छ। भ्याली प्लसका सरोज जोशीका अनुसार, यो पनि एक प्रकारको प्रि–फ्याब प्रविधि नै हो, जसमा प्यानलको सट्टा बोर्ड प्रयोग गरिन्छ। दुई बेडरुम, एक किचेन–डाइनिङ रुम, कमन रुम र शौचालय सहित ५५० वर्ग फिटको पश्चिमा शैलीको सेरा बोर्डको घरलाई लगभग रु.१२ लाख पर्छ।
नेपाटपको 'सेफ होम्स'
३० वर्षको वारेन्टी रहेको 'सेफ होम्स' को फिटिङ नेपाटपले नै गरिदिन्छ। देशभर ८ वटा इन्स्टलेसन प्वाइन्ट भएकाले जहाँका बासिन्दाले पनि यस्तो घर बनाउन सक्ने संस्थाले जनाएको छ। समुदायले नै यस्तो प्रि–फ्याब घर बनाए प्राकृतिक विपत्का बेला जनधनको क्षति नहुने कम्पनीका अध्यक्ष श्रेष्ठ बताउँछन्।