सरकारले १८ फागुन २०७१ मा २० वर्ष पुराना गाडी दुई वर्षभित्रमा हटाइसक्ने सूचना जारी गरेको थियो। तर, सरकारी निर्णयको 'प्रेसर हर्न' नसुने झैं लुम्बिनीमा ५० वर्ष पुराना झ्न्डै ३८ वटा जीप बेरोकटोक चलिरहेका छन्। यी जीप पडरिया स्टेशनबाट १० किलोमिटर दूरीको नेपाल–भारत सीमा कक्रहवा र २२ किलोमिटर परको सूर्यपुरासम्म चल्छन्।
आफू जतिसुकै थोत्रा भए पनि यी जीपले लुम्बिनी आउने पर्यटकसँगै बिहेका जन्ती, दुलाहादुलही र बिरामीसम्म बोक्न भ्याइरहेका छन्। यीमध्ये अधिकांश रसियन भोल्गा कम्पनी र भारतीय महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका छन्।
लु १ ज ९ तिनै जीपमध्येकै हो। १९६४ मोडलको यो जीप २०४७ सालमा लुम्बिनी यातायात व्यवस्था कार्यालय बुटवलमा नामसारी दर्ता भएको थियो। यसका मालिक र चालक दुवै एकै व्यक्ति हुन्, लुम्बिनी निवासी मनौअर हुसेन।
यिनै पुराना जीप र टेम्पो मार्फत नै भैरहवास्थित सिद्धार्थ यातायात स्थापना भएको थियो। तर, २० वर्ष पुराना सवारीसाधन हटाउने अभियान अन्तर्गत सिद्धार्थ यातायातले दुई वर्षअघिदेखि पुराना जीप विस्थापित गर्दै नयाँ बस भित्र्याउन थाल्यो। सिद्धार्थ यातायातका अध्यक्ष सूर्यकुमार सारु पुराना विस्थापित गरी नयाँ ल्याएमा दर्ता शुल्कमा भारी छूट दिने सरकारी निर्णयसँगै ४० वटा जीप हटाइएको बताउँछन्। तर, केही जीपधनीले यसो गर्न नमानेपछि उक्त सवारीलाई संगठनबाट निष्काशन गरिएको पनि उनले बताए। अहिले चलिरहेका पुराना जीप तिनैमध्येका हुन्। अहिले यी जीप बुटवलको यातायात मजदूर तथा व्यवसायी भलाइ कोष मार्फत अनौपचारिक रूपमा सञ्चालित छन्। कोषले बीमा र चलानीको व्यवस्था मिलाएको छ।
यातायात व्यवस्था कार्यालय लुम्बिनीका सूचना अधिकृत बालकृष्ण हुमागाईं दुई वर्षभित्र पुराना सवारी स्वतः टुंगो लाग्ने दाबी गर्छन्। तर, दुईदशकभन्दा पुराना सवारीको नवीकरण र नामसारी रोक्न सिद्धार्थ यातायातले पत्र पठाएपछि कार्यालयले राजधानीस्थित यातायात व्यवस्था विभागको अनुमति पर्खिरहेको छ।
यातायात कार्यालयका अनुसार लुम्बिनीमा जीप, ट्रक, ट्रयाक्टर, बस गरी करीब ५०० सवारी साधन २० वर्षभन्दा पुराना छन्। रूपन्देहीको बुटवलमा करीब १००, नवलपरासीमा १०० र कपिलवस्तुमा ७५ वटा यस्ता सवारी गुडिरहेका छन्।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओमप्रकाश अर्याल थोत्रा गाडीले लुम्बिनी आउने पर्यटकलाई दिक्क बनाइरहेको बताउँछन्। “पर्यटक आकर्षित गर्न प्रदूषणरहित नयाँ सुविधासम्पन्न सवारी साधनको विकल्प छैन”, उनी भन्छन्।
१९६४ मा निर्मित लु. १ ज ९ नम्बरका जीपधनी र चालक मनौअर हुसेन दुःखले जोडेको सम्पत्ति त्यत्तिकै फाल्न नसक्ने बताउँछन्। “यो फाले हामीले के पाउने?” उनको प्रश्न छ। जीप व्यवसायी लैश महोम्मदको भनाइ पनि उस्तै छ। उनी पश्चिम नेपाल बस व्यवसायी समितिले जस्तै पुराना फालेर नयाँ किन्ने विशेष सुविधा दिनुपर्नेमा जोड दिन्छन्।
यातायात व्यवसायी सनाउल्ला मुसलमान विकल्प नै नदिई सिद्धार्थ यातायातले समितिबाट निष्काशित गरेर मारमा पारेको बताउँछन्।
अलपत्र ई–रिक्सा
रिक्सा सञ्चालनबारे थुप्रै कोशिश गरिए पनि कोषका कर्मचारी र सदस्यसचिव अजितमान तामाङबीचको विवाद प्रमुख भएको बताइन्छ। कोषका सदस्य सुवर्णमुनि शाक्यको संयोजकत्वमा बनेको रिक्सा सञ्चालन सम्बन्धी कार्यविधि निर्माणमा विवाद भएपछि रिक्सा प्रयोगहीन भएका हुन्। अहिले भने कार्यविधि टुंगो लगाउने जिम्मा स्वयं सदस्यसचिव तामाङले नै पाएका छन्।
“एकातिर धुवाँको मुस्लो फाल्दै वर्षौ पुराना गाडी दौडिनु र अर्कातिर वातावरण जोगाउने इ–रिक्सा त्यत्तिकै थन्किनु जस्तो लाजमर्दो के होला र?” स्थानीय मुरलीधर रायको टिप्पणी छ ।