३१ जेठ - ५ असार २०७२ | 14-20 June 2015

अब कस्तो बीउ?

Share:
  
- सन्त गाहा मगर
महाभूकम्पले पिरेको यो वर्ष मनसुनी वर्षा औसत भन्दा कम हुने भएकाले थोरै पानी भए पुग्ने बालीमा जोड दिनुपर्ने देखिन्छ।

विद्रोही गिरी
नवलपरासीको तम्सरिया, अम्रसामा २७ जेठमा धानको ब्याड राख्दै।
२७ जेठ (१० जून) बाट शुरू हुनुपर्ने मौसमी वर्षाको अझै चालचुल छैन। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा मनसुन सक्रिय हुन अझ्ै केही दिन पर्खनुपर्ने बताउँछन्। यसरी मनसुन ढिलो शुरू हुन थालेको करीब एक दशक भइसकेको विभागको तथ्यांकले देखाउँछ। (हे. टेबुल) १० जूनमा शुरू भएर २३ सेप्टेम्बरसम्म रहनुपर्ने मनसुनी वर्षाको अवधिमै फरक पर्न थालेको छ, पछिल्लो समय। डा. शर्मा भन्छन्, “जलवायु परिवर्तन लगायतका कारणले मनसुन पछिसर्दै गएको छ।”

पछिल्लो १०–१२ वर्षमा एकैपटक हाँडीघोप्टे पानी पर्ने (क्लाउड बर्स्ट), लामो समय खडेरी हुने, एक ठाउँमा पर्ने, अर्को ठाउँमा नपर्ने जस्ता प्रवृत्ति पनि देखिएका छन्। यो वर्ष त नेपालमा औसतभन्दा निकै कम वर्षा हुने प्रक्षेपण छ। दक्षिणएशियाका मौसमविद्हरूको संस्था 'साउथ एशियन क्लाइमेट आउटलुक फोरम' को गत अप्रिलमा बंगलादेशको ढाकामा आयोजित छैटौं बैठकमा नेपालमा यो बर्खामा कम वर्षा हुने भविष्यवाणी गरियो। हिन्द र प्रशान्त महासागरमा देखिएको मौसम प्रणाली अध्ययनबाट यस्तो भविष्यवाणी गरिएको हो। विश्व मौसम संघ र जल तथा मौसम विज्ञान विभाग पनि यो बर्खामा 'नर्मल' वर्षा नहुने निचोडमा पुगेेका छन्। वरिष्ठ मौसमविद् शिव नेपालका अनुसार, देशका करीब ८० प्रतिशत भूभागमा औसत भन्दा कम पानी पर्ने अनुमान छ। सुदूरपश्चिमका उच्च पहाड र हिमाली भाग तथा सुदूरपूर्वको इलाम र झापाको केही भागमा भने औसत पानी पर्न सक्ने संभावना रहेको मौसमविद् नेपालले बताए।

नेपालमा वार्षिक औसत एक हजार ४३२ मिलीमिटर पानी पर्छ। गत वर्षको मनसुनमा यसको ८७ प्रतिशत मात्र पानी परेको थियो। ९० देखि ११० प्रतिशत पानी पर्नुलाई असामान्य वर्षा मानिंदैन। पछिल्लो दुई दशकको तथ्यांक हेर्दा १२ पटक मनसुन ढिलो शुरू भएर औसत भन्दा कम र चार पटक मात्र औसत पानी परेको देखिन्छ। मनसुनमा कम पानी पर्नुमा प्रशान्त महासागरमा देखिएको 'एलनिनो' प्रभावलाई मुख्य कारण मानिएको छ। मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार प्रशान्त महासागरको दक्षिण अमेरिकाको पश्चिमपट्टिको भाग सामान्य भन्दा तातो छ, जसले गर्दा वाष्पीकरण बढी भएर न्यून चाप बढ्छ। “अनि हिन्द र अरब सागर जाने पानी बोकेको बादल प्रशान्त महासागरमै केन्द्रित हुन्छ”, उपाध्याय भन्छन्, “खनिज तेलको अत्यधिक प्रयोगले मिथेन र कार्बनडाइअक्साइड ग्याँस बढी उत्पादन हुँदा भएको जलवायु परिवर्तनबाट 'एलनिनो' प्रभाव देखिएको हो।”

स्रोतः जल तथा मौसम विज्ञान विभाग

उत्तर अमेरिकाको 'नेशनल ओसनिक एट्मोस्फेरिक एड्मिनिस्ट्रेसन (एनओएए)' ले गत मार्चमा जारी गरेको विज्ञप्ति अनुसार, यो वर्ष 'एलनिनो' प्रभाव रहने सम्भावना ९० प्रतिशत छ। हिन्द महासागरमै पनि मौसमी प्रक्रियामा गडबड हुनु र गत हिउँदमा उत्तरी गोलार्द्धमा अत्यधिक हिमपात भएको कारणले मनसुन प्रभावित हुने देखिएको वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउँछन्। “यस्तो गडबडीले सिमसिमे झ्री घटाउँदै लगेको छ”, शाक्य भन्छन्।

मुख्य असर कृषिमा

ढिलो गरेर औसतभन्दा कम वर्षा हुनु, मुसलधारे पानी पर्नु वा लामो समयसम्म खडेरी लाग्नु जस्ता कारणको सबभन्दा चर्को मार कृषि क्षेत्रमा पर्छ। नेपालका लगभग सबै बालीनाली मनसुनमा निर्भर छन्। कृषि मन्त्रालयका पूर्व सचिव हरि दाहाल यो वर्ष सिंचाइ नपुग्ने, रोपाइँ ढिलो हुने वा रोपाइँ नै नहुने जस्ता कारणले मुख्यतः धान उत्पादनमा असर पर्ने बताउँछन्। “यस्तो अवस्थामा किसान बीउविजन छनोटमै सचेत हुनुपर्छ”, दाहाल भन्छन्।

यसका लागि सुक्खा धान–१, सुक्खा धान–२, सुक्खा धान–३, सुक्खा धान–४, सुक्खा धान–५, सुक्खा धान–६, तरहरा–१, राधा–४, हर्दिना–२ जस्ता धान बढी उपयुक्त हुने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कृषि वनस्पति महाशाखा प्रमुख रहेका वरिष्ठ वैज्ञानिक हरिकृष्ण उप्रेतीले बताए, तर यसका लागि ढिला भइसकेको छ। बीउविजन गुणस्तर नियन्त्रण केन्द्रले यस वर्ष धानका १६ जात सिफारिश गरेको मध्ये सिन्दुरी, सुन्दरम र डेल्टा रानी तराई तथा भित्रीमधेशका लागि उपयुक्त हुने केन्द्रका बीउविजन अधिकृत शालिकराम गौतमले बताए।

गौतमका अनुसार, केन्द्रले तराई र भित्रीमधेशका सिंचित र अर्ध–सिंचित क्षेत्रका लागि सुपर–११५ र सुपर–१२५ जातको धान सिफारिश गरेको छ। बाँकेदेखि पूर्वको तराई र भित्रीमधेशका लागि एराइज–६४४४ गोल्ड र एराइज तेज गोल्ड धान सिफारिश गरिएको छ। त्यसबाहेक आकाश, गरिमा, डीआरएच–७७५, डीआरएच–७४८, जीके–५०१७, शान्ति, सुधा, युएस–३२३ र युएस–३८२ जातका धान समेत सिफारिश भएका छन्। तर, कृषि विकास मन्त्रालयले यसलाई सदर गरेर राजपत्रमा छापिनसकेकोले यी बीउहरू यही वर्ष किसानले पाउने सम्भावना न्यून छ।

केन्द्रले मध्यपश्चिमदेखि पूर्वको तराई, भित्रीमधेश र मध्यपहाडका लागि अरुण–३, अरुण–४ र अरुण–६ जातका मकै सिफारिश गरेको छ। यिनीहरूलाई तराई र भित्रीमधेशमा हिउँद र वसन्त ऋतुमा खेती गर्नुपर्छ भने मध्यपहाडमा ग्रीष्म ऋतुमा। तराई र भित्रीमधेशको सिंचित तथा अर्ध–सिंचित क्षेत्रका लागि तिलोत्तमा जातको गहुँ र मध्य तथा उच्च पहाडमा डाँफे गहुँ सिफारिश भएको छ। त्यस्तै, मध्यमाञ्चलदेखि मध्यपश्चिमाञ्चल क्षेत्रको १३०० देखि २२०० मिटर उँचाइको मध्यपहाड र उच्च पहाडमा शैलुङ कोदो–१ र मध्यमाञ्चलदेखि मध्यपश्चिमाञ्चल क्षेत्रको ७०० देखि १८०० मिटर उँचाइको मध्यपहाडमा काभ्रे कोदो–२ रोप्न सिफारिश गरेको छ। तराई, भित्रीमधेश र उच्च पहाडमा मिठेफापर लगाउन केन्द्रको सिफारिश छ।

बीउविजन केन्द्रले तराई र भित्रीमधेश तथा मध्यपहाडको खोच बेंसीको पानी नजम्ने क्षेत्रका लागि सुन कागती–१ र सुन कागती–२ सिफारिश गरेको छ। तराईदेखि मध्यपहाडमा अमृतधारा जौ, तराई तथा भित्रीमधेशमा नन्दिनी जौ र मध्यपहाडी क्षेत्रमा खुमल ज्यापु काउली लगाउन केन्द्रको सिफारिश छ। मध्य तथा उच्च पहाडमा धुन्चे राई घाँस र तराई तथा भित्रीमधेशमा बर्सिम ग्रीन गोल्ड लगाउँदा राम्रो हुनेछ।

बाली विकास निर्देशनालयका प्रमुख डिल्लीराम भण्डारी मनसुन कम भयो भने आकाशेपानीमा निर्भर ४० प्रतिशत धान खेतीमा सीधै असर पर्ने र अन्य बालीको उत्पादनमा पनि ह्रास आउने बताउँछन्। ब्याड राख्दै बुद्धि पुर्‍याउने हो भने उत्पादन घट्नबाट रोक्न सकिने उनको भनाइ छ। कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरका अनुसार, कम पानी पर्ने भएपछि सुक्खा सहने बाली लगाउने पहल गर्न जिल्ला कृषि विकास कार्यालयहरूलाई निर्देशन दिइसकिएको छ। “अब सबैले बीउविजन केन्द्रले सिफारिश गरेको कम पानी भए पुग्ने बालीमा जोड दिनुपर्छ”, ठाकुर भन्छन्।

comments powered by Disqus

रमझम