३१ जेठ - ५ असार २०७२ | 14-20 June 2015

उफ् गर्मी !

Share:
  
झरी पर्नुपर्ने मौसममा खपिनसक्नुको गर्मीले मुलुकवासीको जनजीवन अस्तव्यस्त मात्र भएको छैन, बारीका बिरुवा पनि सुक्न थालेका छन्।

दीपक ज्ञवाली
गर्मीमा छाता ओढेर विद्यालय जाँदै रुपन्देहीका विद्यार्थी ।
चर्को गर्मीले सुदूरपश्चिमवासीलाई बिरामी बनाएको छ। कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा दैनिक २०० जनाको हाराहारीमा आउने बिरामी जेठ शुरू भएलगत्तैदेखि ३०० पुगेका छन्। “एउटै बेडमा दुई जनासम्म राखेर उपचार गर्नु परिरहेको छ”, अस्पतालका मेडिकल रिकर्डर किशोर श्रेष्ठ भन्छन्।

कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा पनि गर्मीका बिरामी ओइरिन थालेका छन्। “गर्मीका कारण भाइरल ज्वरो, टाउको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सर्पले टोकेका बिरामी आएका छन्”, महाकाली अञ्चल अस्पतालको इमर्जेन्सी सेवा इन्चार्ज लोकेन्द्रदेव भट्ट भन्छन्।

डोटीको दिपायलस्थित जल तथा मौसम पूर्वानुमान महाशाखा फिल्ड कार्यालयका अनुसार सामान्यतया ३२ डिग्री सेल्सियसको आसपास रहने तापक्रम यतिवेला ४२ डिग्री सेल्सियसको हाराहारी पुगेको छ। अत्यधिक गर्मीकै कारण दिउँसो सञ्चालन हुने कक्षा बिहान सार्नु परेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कञ्चनपुरका अध्यक्ष सत्येशबहादुर चन्द बताउँछन्। क्याम्पसहरू भने बिहानै सञ्चालन भइरहेका छन्।

गर्मीले लामो दूरीको यात्रालाई पनि कष्टकर बनाएको छ। महेन्द्रनगर, धनगढी, अत्तरिया, झ्लारी, बेलौरी लगायतका बजार दिउँसो प्रायः बन्द हुन थालेका छन्। तर, शहरका मुख्य चोकहरूमा खानेपानीको समेत व्यवस्था गरिएको छैन। तापक्रम ४४ डिग्री उकालो लागेपछि नेपालगञ्जवासीको जीवनमा तनाव थपिएको छ। स्थानीयवासी थोरै हावाका लागि रातको १२ बजेसम्म छतमा बसिरहेका भेटिन्छन्। “न घरमा बस्न सकिन्छ न बाहिर निस्कन, गर्मीले प्राण नै जाला जस्तो भइसक्यो”, नेपालगन्ज–१ की साधना शर्मा भन्छिन्।

गर्मीकै कारण बाँकेका निजी विद्यालय ११ असारसम्मका लागि बन्द गरिएका छन्। गर्मीमा विद्यालयमै विद्यार्थी बेहोस हुने, ज्वरो, रुघाखोकीबाट बिरामी हुन थालेपछि विद्यालय बन्द गरिएको प्याब्सन बाँकेका अध्यक्ष ऋषिकेश जिसी बताउँछन्। गर्मीले ज्यालादारीका मजदूर, रिक्सा, टाँगाचालकलाई बढी असर गरेको छ।

यस्तो वेला लोडसेडिङले हैरानी थपेको छ। नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण श्रेष्ठ अत्यधिक गर्मीले व्यापार ठप्प हुन पुगेको बताउँछन्। “मान्छे ढल्ने गर्मी छ, घरबाट कोही बाहिर निस्कँदैनन्, गाउँबाट पनि कोही आउँदैनन्”, श्रेष्ठ भन्छन्।

जल तथा मौसम विज्ञान विभाग क्षेत्रीय कार्यालय सुर्खेतका अनुसार, नेपालगन्जमा २६ जेठमा वर्षकै सबैभन्दा बढी तापक्रम (अधिकतम ४४.३ र न्यूनतम २२.५ डिग्री सेल्सियस) मापन गरिएको छ। गत वर्षको २२ जेठमा अधिकतम तापक्रम ४३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। एक महीनादेखि पानी नपरेका कारण पनि तापमान बढिरहेको विभागले जनाएको छ।

भेरी अञ्चल अस्पताल नेपालगन्जका प्रमुख डा. पीताम्बर सुवेदी गर्मीकै कारण ज्वरो, टाइफाइड, झाडावान्ता, रुघाखोकीका दैनिक १५० भन्दा बढी बिरामी आउने गरेको बताउँछन्। उनी गर्मीबाट जोगिन शीतलमा बस्ने, हिंडडुल नगर्ने, सुतीको कपडा लगाउने, पानी बढी पिउने सल्लाह दिन्छन्।

गर्मीको आहत कम गर्न नेपालगन्ज बजारमा चिसो पेय, उखु, आँपको जुस, लस्सीको बिक्री बढेको छ। अम्बे फर्निसिङ गार्डेनका सञ्चालक पंकज श्रेष्ठ बजारमा पंखाको अभाव भइसकेको बताउँछन्।

बाँके र बर्दियामा खडेरीले बिरुवा सुक्न थालेका छन्। खोलामा पानीको सतह घटेको छ। पानी नपर्दा किसानले धानको बीउ राख्न पाएका छैनन्।

गर्मीले बुटवल, रूपन्देहीमा पनि विद्यार्थी विद्यालयमै बेहोस भएका छन्। भूकम्पले २५ दिन बन्द बुटवलका विद्यालय १६ जेठदेखि खुले। तर, गर्मीले विद्यार्थीलाई पढ्न दिइरहेको छैन। २६ जेठमा रूपन्देहीमा अहिलेसम्मकै सबैभन्दा बढी ४३ डिग्री तापक्रम रेकर्ड गरिएको थियो। त्यही दिन नयाँ गाउँ उच्चमाविमा तीन र गार्गी बोर्डिङ स्कूलमा एक जना विद्यार्थी कक्षामै बेहोस भए। “भूकम्पले सबै विदा सकियो, यता गर्मीले विद्यार्थी र शिक्षक भटाभट बिरामी भइरहेका छन्। कोर्स कसरी सक्ने भन्ने चिन्ता छ”, प्याब्सन रूपन्देहीका अध्यक्ष सुदीप केसी भन्छन्। गाउँका अधिकांश विद्यालयमा जस्ताका छाना छन्। पंखा छैनन्।

बालीसँगै पानीका मुहान सुकिरहेका छन्। सवारी साधन कमै चलेका छन्। “यस्तो गर्मी र संकट पहिलो पटक महसूस गर्दैछु”, बुटवलका रुक भण्डारी (८५) भन्छन्।

२५ जेठ बिहान जयमंगलापुर–१, पर्सानिवासी पासपति देवी यादव (६०) अचानक बेहोस भइन्। उनलाई तत्काल स्वास्थ्य संस्था पुर्‍याइयो। गर्मी सहन नसकेर उनी बेहोस भएकी रहिछन्।

गौर अस्पतालका मेडिकल अधिकृत डा. सुवास चौधरी अस्पतालको आकस्मिक कक्षमा दिनहुँ दुई, तीन जना गर्मीले बेहोस भएर आउने गरेको बताउँछन्। अत्यधिक गर्मीमा शरीरले आफ्नो तापक्रम नियन्त्रण गर्न नसकेपछि रक्तचाप कम भई बेहोस हुने उनको भनाइ छ।

सिमरा विमानस्थलको मौसम पूर्वानुमान महाशाखाको फिल्ड कार्यालयका अनुसार पछिल्लो साता सिमरामा तापक्रम ४०.६ डिग्री सेल्सियससम्म पुगेको छ। वीरगन्ज तथा आसपास भने तापक्रम ४२ डिग्रीको हाराहारीमा अडिएको छ। अत्यधिक तापक्रमका कारण दिउँसो तातो हावा 'लु' चल्न थालेको छ।

बरियापुर, बाराका रिक्साचालक राजु साह गर्मी वेला एक त यात्रु नपाइने र पाए पनि रिक्सा चलाउनै नसकिने हुँदा गुजारा चलाउन समस्या परिरहेको बताउँछन्। गर्मीमा एलर्जीका कारण घाउले पनि उनलाई सताउने गरेको छ।

गर्मीले विद्यार्थी बेहोस भएको खबर आउन थालेपछि २६–२९ जेठसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्देशन दिएको पर्साका जिल्ला शिक्षा अधिकारी बरखु रजक बताउँछन्। “विद्यालयमा पर्याप्त पंखा समेत छैनन्”, उनी भन्छन्। बारा र रौतहटमा बिहानी कक्षा सञ्चालनमा छन्।

कक्षा ११ को परीक्षाको तयारीमा रहेका वीरगञ्ज–१४ श्रीपुरका प्रिन्स मुखियालाई गर्मीले उकुसमुकुस बनाएको छ। भन्छन्, “पढ्न पनि मन लाग्दैन। घरमा बस्नै सकिन्न।”

दामोदर भण्डारी
गर्मीका कारण नेपालगन्ज सुर्खेतरोडस्थित सडक किनारमा आफ्नै रिक्सामा सुतेका रिक्साचालक।
वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रामशंकर ठाकुर गर्मी बढेयता अस्पतालमा दैनिक ७०० को हाराहारीमा बिरामी आउने गरेको बताउँछन्। गर्मीले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी सताउने उनको भनाइ छ। गर्मी र खडेरीले चार बिघामा मकै र चैते धान रोपेका ठोरी–३ का पदमबहादुर कुँवरको बाली सखाप पारेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे गर्मीका कारण स्वास्थ्यमा पर्ने असरबाट जोगिन जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत सार्वजनिक सूचना जारी गरिएको बताउँछन्। “चर्को घाममा हिंडडुल नगर्न, छहारीमा बस्न भनेका छौं। अरू के नै पो गर्न सकिन्छ र!” बाराका सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलाल भन्छन्।

उर्लाबारी–६, मोरङकी सीता बराल जाडोयाममा दिउँसोसम्ममा १० केजी जति कुखुराको मासु बेच्थिन्। “तर, अहिले एक घण्टापछि नै काटेको कुखुरो गन्हाउँछ”, उनी भन्छिन्।

गर्मीले पसलमा चिसो पेय पदार्थको बिक्री बढेको छ। “हार्ड ड्रिङ्कस्को बिक्री घट्यो” दमक–१३ मा कोल्ड स्टोर्स चलाएर बसेकी चेसुङ सुब्बा भन्छिन्। सुदूरपूर्व झापामा २२ जेठमा तापक्रम ३७.५ डिग्री सेल्सियस पुगेको थियो, जुन यो वर्षकै उच्च हो।

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) मेचीका सचिव शान्तिराम आचार्यका अनुसार गर्मीकै कारण सधैं बिहान ८ बजे काममा जुट्ने मजदूर अहिले बिहान सातै बजे पुग्छन्। र त्यसबापत दिउँसो एकघण्टा आराम गर्छन्। गर्मीका कारण कतिपय महिला मजदूरले भने जेठ दोस्रो सातादेखि एक समय मात्र काम गरिरहेको उनी बताउँछन्।

दमकस्थित लाइफलाइन अस्पतालका डा. सूर्यनारायण शाह गर्मीमा छाला, श्वासप्रश्वास, टाउको दुख्ने, वान्ता हुने र डिहाइड्रेसन (शरीरमा पानी कम हुँदा देखिने समस्या) का बिरामी बढिरहेको बताउँछन्।

बच्चु बिक (कञ्चनपुर), दामोदर भण्डारी (नेपालगन्ज), दीपक ज्ञवाली (बुटवल), सुरेश बिडारी (वीरगञ्ज) र गोपाल गड्तौला (झापा)

comments powered by Disqus

रमझम