३१ जेठ - ५ असार २०७२ | 14-20 June 2015

शिविरमा महिला: दुःखमाथि महापीडा

Share:
  
- सजना बराल
पुग्दो पानी र नुहाउने ठाउँ नहुँदा महाभूकम्पपछि सामूहिक बासमा आइपुगेका महिला ठूलै स्वास्थ्य समस्यामा छन्।

देकी बिष्ट
भक्तपुरको बोडेस्थित शिविरमा बसिरहेका महिला।
शिविरको जिन्दगी यसै पनि सहज छैन। महिलाहरू त झ्नै अप्ठ्यारोमा छन्। लुगा फेर्न र शौच गर्न पनि रात कुर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर पानी र नुहाइ–धुवाइ गर्ने सुरक्षित ठाउँ नहुँदा शिविरवासी महिलाहरूले व्यक्तिगत सरसफाइ गर्न सकेका छैनन्। १४ वैशाखदेखि टुँडिखेलमा बसेकी डल्लुकी सुनिता घिमिरे (२७) भन्छिन्, “महीनावारी हुँदा पनि नुहाउन पाइँदैन, साह्रै सिक्सिको भएको छ।”

चाबहिलमा भएको आफ्नो दुईतले घर चर्किएपछि सपरिवार चुच्चेपाटीस्थित भूकम्पपीडित शिविरमा आइपुगेकी लीला मानन्धर (४२) ले नुहाइ–धुवाइका लागि गोकर्णमा कोठै भाडामा लिएको बताइन्। परिवारमा २० र २१ वर्षका दुई छोरी पनि भएकोले मानन्धर दम्पतीले धुईंपत्ताल लगाएर कोठा खोजे। जावलाखेल खेलमैदानमा बसेका जावलाखेलका आरती (१७) र जस्मिन श्रेष्ठ (२०) ले पालको बसाइमा जताततै पुरुष हुने हुनाले शौच र सरसफाइमा ज्यादै अप्ठ्यारो भोग्नु परेको बताए। भाडाको कोठा खोज्दा पनि नपाएको बताउँदै आरतीले भनिन्, “त्यसमाथि पालका कतिपय मानिस महिलालाई समस्या हुन्छ भनेर बुझदैनन् या नबुझे जस्तो गर्छन्।”

चुच्चेपाटीको शिविरमा बस्ने सिन्धुपाल्चोक, चौताराकी रचना भण्डारी (३२) लाई घर फर्कन नपाउन्जेल महीनावारी नै रोकिए हुन्थ्यो जस्तो लागिरहेको छ। शिविरमा दुई छोरी र आफ्नो बिजोग भएको बताउँछिन्। “महीनावारीको बेला न प्याड हुन्छ न पानी”, रचना भन्छिन्, “शिविरमा नुहाइ–धुवाइ गर्ने ठाउँ पनि छैन।”

न ट्वाइलेट न बाथरुम

खानेपानी संस्थानले काठमाडौं उपत्यकाका भूकम्पपीडित शिविरहरूमा दैनिक पानी वितरण गर्दै आएको छ, तर पिउनका लागि मात्रै। नुहाइ–धुवाइ र सरसफाइका लागि चाहिने पानीको बन्दोबस्त शिविरवासी आफैंले गर्नुपर्छ। “पानीको जोहो गरे पनि नुहाउनु कहाँ?” नक्साल, नारायणचउरमा बसेकी राधा अधिकारी (३७) भन्छिन्, “केटा मान्छेले झैं जहाँ पायो त्यहीं खुला ठाउँमा नुहाउन सकिन्नँ।”
जावलाखेल खेलमैदानमा बसेका महिलाहरू टीनकै भए पनि बाथरुम भइदिए ठूलो राहत हुने बताउँछन्। उनीहरूमध्ये केहीले प्लास्टिकले बेरेर ट्वाइलेट त बनाएका छन्, तर त्यसमा कुरुवा नराखी बस्न मिल्दैन। जावलाखेलकी रीता गुरुङ (४५) भन्छिन्, “ट्वाइलेटलाई घरी हावाले उडाइदिन्छ, घरी च्यातिएर ह्वाङ–ह्वाङ्ती हुन्छ। नुहाउने ठाउँ त छँदै छैन।”

जावलाखेलकै शिविरमा बसेकी स्याङ्जाकी विमला नेपाली (६०) दिसा–पिसाब रोक्न सक्दिनन्। उनको लागि पालो कुर्नु असम्भव नै हुन्छ, तर यहाँ बूढाबूढीलाई प्राथमिकता दिने चलन नभएको गुनासो गरिन्। चुच्चेपाटी शिविरमा बसेकी दुईवर्षे छोरीकी आमा दिलकुमारी तामाङ (२६) दिसापिसाब लाग्दा ठूलो 'टेन्सन' हुने बताउँछिन्। “त्यसमाथि नुहाउन नपाएर हैरान छ!” उनी भन्छिन्।

दिलकुमारीकै पालछेउमा डेढ महीनाकी सुत्केरी मुना लामा (२१) बस्छिन्। बच्चा र उनलाई मच्छडले टोकेर हैरान पारेको छ। गर्मीले गर्दा बच्चालाई बाक्लै घमौरा आएका छन्। छिन्–छिन्मा फेर्नु र धुनुपर्ने बच्चाको लुगाका लागि पानीको अभाव छ। “बीच चउरमा नुहाउनुपर्दा आफैंलाई पनि मरेझैं लाग्छ, भित्री कपडा धोएर सुकाउन ठूलो सकस छ”, मुना भन्छिन्, “पुरानो टीनकै भए पनि बाथरुम भइदिए ढुक्क हुन्थ्यो।”

काभ्रेका महिलालाई सरसफाई सम्बन्धि जानकारी दिँदै डब्लुएचआरकी लिली थापा ।
चुच्चेपाटी शिविरमा शरण लिइरहेका करीब पाँच हजार भूकम्पपीडितमध्ये ८४ जना सुत्केरी छन्। शिविरभरिका २० शौचालयमध्ये १० वटा महिलाका लागि छुट्याइएको छ, तर नुहाउने ठाउँ छैन। टुँडिखेलमा भने अक्सफाम इन्टरनेशनल र अन्य संस्था–समूहले अपुग नै भए पनि महिला र पुरुषका लागि छुट्टाछुट्टै चर्पी र स्नान कक्ष बनाइदिएका छन्। जावलाखेल, कीर्तिपुर, सिनामंगल, खुमलटार आदि ठाउँका शिविरमा स्नान कक्ष नहुँदा महिलाहरू अप्ठ्यारोमा छन्।

संस्थागत पहल

महिला पुनरुत्थान केन्द्र (ओरेक), माइती नेपाल, वुमेन फर ह्युमन राइट्स (डब्लुएचआर) जस्ता संस्थाले शिविरका महिला र विशेषगरी सुत्केरीहरूलाई आवश्यक पर्ने सरसामान उपलब्ध गराउनुका साथै कतिलाई आवासको व्यवस्था समेत मिलाइदिएका छन्। डब्लुएचआरकी संचार अधिकृत उमा थापाले सुत्केरी बसेका शिविरमा फोहोर भयो, गन्हायो भनेर छिमेकीले छिःछिः र दुर्दुर् गरेको पनि पाइएको बताइन्।

उनका अनुसार, डब्लुएचआरले पाँच जना महिलालाई बालुवाटारको 'छहारी' नामक संस्थाको आवासमा राखेको छ भने नक्सालको नारायणचउर शिविरमा १५ जना सुत्केरीको हेरचाह गरिरहेको छ। यस्तै, माइती नेपालले काठमाडौं, सिन्धुपाल्चोक, काभे्र, नुवाकोट र दोलखाका महिलालाई स्यानिटेसन–किट उपलब्ध गराइरहेको छ। किटमा साबुन, भित्री बस्त्र, स्यानिटरी प्याड आदि हुन्छ।

यी संस्थाहरूको प्रयास सराहनीय छ, तर शिविरको अप्ठ्यारो दिनचर्यामा सहन बाध्य हजारौं महिला र खासगरी सुत्केरीहरूका लागि यस्ता सहयोग पर्याप्त छैनन्। लाख चाहेर पनि व्यक्तिगत सरसफाइ गर्न नपाएका महिलाहरू फोहोरका कारण गम्भीर स्वास्थ्य समस्यामा पर्ने जोखिम छ।


सुनिता घिमिरे

नुहाउन पालो कुर्नुपर्छ। महीनावारी भएको शरीर पखाल्न पाइएको छैन, साह्रै सिक्सिक् हुन्छ।

शर्मिला थापा मगर

अपांगता भएकी मलाई शौचालय जान र नुहाइ–धुवाइ गर्न सहायता चाहिन्छ। साथी नपाएका वेला दिसा–पिसाब नै च्यापेर बस्नुपर्छ।

लीला मानन्धर

महीनावारी भएका वेला नुहाइ–धुवाइमा समस्या हुन्छ। टालो प्रयोग गर्नेहरूलाई त धोएर सुकाउन समेत अप्ठ्यारो छ।

मुना लामा

गर्मीले गर्दा सुत्केरीहरूको घाउ पाक्न थाल्यो रे! लामखुट्टेले उस्तै सताउँछ। मेरो ४७ दिनको छोरोलाई घमौराले सताएको छ।

रीता गुरुङ

एक महीना भइसक्यो, टाउको मात्रै पखालिरहेकी छु। नुहाउने ठाउँ भए पो जीउ पखाल्नु !

comments powered by Disqus

रमझम