खुलाइदिन्याको जय होस् !

Share:
  
- बसन्तप्रताप सिंह, बझाङ
जडीबुटीले समृद्ध बन्दै गएको बझाङको उत्तरी भेगमा यसको दिगो र व्यवस्थित उपयोग भएन भने भोलि फेरि सानो कमाइका लागि भारततिर धाउनुपर्ने हुनसक्छ।
p22
 
जडीबुटी संकलन क्षेत्रमा टाँगिएका पाल । तस्वीरहरुः बसन्तप्रताप सिंह

 

बझाङको कैलाश गाविस, पिमीका कसबहादुर सिंहले १२ वर्षको छँदा १६ दिनको पैदल बाटो टनकपुर पुगेर रु.३० कमाएका थिए। पछि उनी १५–१६ वर्षको उमेरका छोराहरू भक्त र दोरेन्द्रलाई पनि लिएर जान थाले। तीनै जना बाबुछोराले सात महीना भारतमा र पाँच महीना नेपालमा मरी–मरी काम गरे पनि १२ जनाको परिवारलाई हातमुख जोर्न र एकसरो लाउन धौ–धौ हुन्थ्यो। अहिले गाउँकै जंगलमा पाइने 'जरा' (जडीबुटी) र 'कीरा' (यार्सागुम्बा) बेचेर कता हो कता बढी कमाउँछन्। 

भारतमा उनीहरू शिमलामा स्याउदेखि घुत्तु र बागेश्वरका जंगलमा झयाउसम्म टिप्ने अनि खरीढुंगा खन्ने, काठ काट्ने, ओसार्ने, सडक खन्नेदेखि बद्रीनाथ–केदारनाथ लगायत चारधाम गर्न आउने यात्रु बोक्नेसम्मको काम गर्दथे। घरमा दुःखबिमार परेको थाहा हुँदैनथ्यो, संकट पर्दा सहयोग गर्न पाईंदैनथ्यो। “अहिले आफ्नै गाउँठाउँमा बसेर काम गरिएको छ। आम्दानीले वर्षभरि सजिलै खान पुगेको छ”, कसबहादुरले भने, “जडीबुटी खुलाइदिन्या सरकारको जय होस्!” 
 
कसबहादु्रले यस वर्ष मात्र सतुवा, लोक्ता, चिराइतो, गदाल्नु, पदमचाल, रातोच्याउ आदि बेचेर रु.३ लाख २५ हजार कमाए। पहिले सानो, पुरानो छाप्रोमा अटाई नअटाई बस्ने उनको परिवार अहिले दुई वटा घरमा फैलिएर बसेको छ। यो सबै सपना जस्तै लागेको बताउँदै उनी भन्छन्, “भारी बोक्दाबोक्दै काउँदो (कहाँनेर) मरु (मृत्यु) हुन्छ सोच्याको थ्याँ, अहिले त राम्रै छ।”  
 
कसबहादुर मात्र होइन, भारतमा ज्याला–मजदूरी गर्ने धेरै बझाङ्गीहरू अहिले जडीबुटी खोज्न जंगलतिर लाग्छन्। अरू बेला सुनसान जंगल र हिमाली पाटन (फाँट) वसन्तको सुरुआतसँगै त्रिपाल र टेन्टले भरिभराउ हुन्छन्। स्थानीय गैरसरकारी संस्था सामाजिक विकास केन्द्रका अध्यक्ष सुरतबहादुर सिंहका अनुसार पाँच वर्षयता बझाङका पाँच हिमाली गाविसबाट भारत काम गर्न जानेको संख्या ८५ प्रतिशतभन्दा बढी घटेको छ।  
 
अर्बौंको बन्द–व्यापार 
जिल्ला वन कार्यालयका अनुसार बझाङबाट यार्सागुम्बा, सुगन्धवाल, सतुवा, चिराइतो, कटुकी, तेजपात, सेतकचिनी, दालचिनी, अमला, च्याउ, झयाउ, बज्रदन्ती, अल्लो, वनलसुन, रिट्ठा, पाखनवेद, पदमचाल, सेतोमुस्ली, काकरसिङ्गी, गुच्चीच्याउ, बोझो, चुथ्रो, कालोमुस्ली, शिलाजित लगायत ३५ भन्दा बढी प्रजातिका जडीबुटी र गैरकाष्ठ वन पैदावार संकलन एवं निकासी हुने गरेको छ। आर्थिक वर्ष २०६७/६८ मा २७० केजी यार्सागुम्बा निकासी गरेको बझ्ाङले २०६८/६९ मा ३५० केजी निकासी गरेर रु.३ अर्ब बराबरको कारोबार गरेको वन कार्यालयको तथ्याङ्क छ। 
p22a
 
सुर्मा र दौलिचौर क्षेत्रका बासिन्दाका बन्दै गरेका तथा
बनाइसकेका घर।

जानकारहरू यी आँकडा वन कार्यालयबाट छोडपुर्जी लिएर निकासी हुने जडीबुटीको मात्र भएको र यसकै हाराहारीमा यार्सागुम्बा र अरू जडीबुटी अवैध रूपमा साइपाल नाका हुँदै तिब्बतको ताक्लाकोटतिर जाने गरेको बताउँछन्। जडीबुटी व्यापारी जगत तामाङ यार्सागुम्बा, वनलसुन, सतुवा जस्ता महँगा जडीबुटीको संकलन र मूल्य वर्षेनि बढ्ने गरेको बताउँछन्। सुर्माका व्यापारी दानबहादुर सुर्मेलीका अनुसार, २०६८ सालमा प्रतिकेजी रु.१०–१२ लाखमा किनबेच भएको यार्सागुम्बाको मूल्य यो वर्ष रु.१८–२० लाख पुगेको छ।  

विगतमा गरीबी, अभाव र कष्टपूर्ण जीवनको पर्याय मानिएको बझाङका बासिन्दाको जीवनशैली जडीबुटीले गर्दा अपत्यारिलो ढंगले फेरिंदैछ। गाउँ–गाउँमा संचार, विद्युतीकरण, शिक्षाको विकास भएको छ। जडीबुटीको आम्दानीको ठूलो हिस्सा घरजग्गामा खर्च भइरहेको छ। मालपोत कार्यालय बझाङका अनुसार, पाँच वर्षमा चैनपुर गाविसमा जग्गाको कारोबार निकै बढेको छ। यार्सागुम्बा बढी पाइने सुर्मा, दौलिचौर र काँडा गाविसका मानिसहरूको बढ्दो आकर्षणले पाँच वर्षअघिसम्म रोपनीको रु.६० हजारमा किनबेच हुने गरेको सदरमुकाम चैनपुरको जग्गाको मूल्य रु.४० लाख पुगेको छ। जडीबुटीबाट आम्दानी गर्ने बझाङीहरूले धनगढी, नेपालगञ्ज र काठमाडौंसम्म पनि घरजग्गा जोडेका छन्। 
p22b
 
यार्सा खोज्दै एक संकलक।

दुई–तीन वर्षअघिसम्म सल्लोको काठको चिराग (झ्रो) र मट्टीतेल बाल्ने बझाङवासीहरूमा सौर्य बिजुली राख्ने होड चलेको छ। पिमीमा सोलार जडान नभएको घर भेटिन गाह्रो पर्छ। यसले गर्दा केटाकेटीलाई पढ्न सजिलो भएको र झ्रो वा मट्टीतेलको धुवाँ कम भएर मानिसहरूको स्वास्थ्य सुध्रेको छ। घर–घरमा टेलिभिजन र डिस टिभी जडान हुँदैछन्। राम्रोसँग रेडियो नसुनिने विकट उत्तरी गाउँ काँडाका गोरखबहादुर बोहरा भन्छन्, “घरमै बसेर टिभी हेरौंला, देश–विदेशका खबर जानौंला भन्ने सोचेको पनि थिएन। कीराको व्यापार शुरू भएपछि त गाउँमा कोहीभन्दा कोही कम छैन।” 

एउटै परिवारमा रु.१८ लाख 
दौलिचौर, परिकाट्याका कलु बोहराको परिवारले यस वर्ष यार्सा बेचेर रु.१८ लाख आम्दानी गर्‍यो भने रमेश बोहराले रु.१६ लाख कमाए। दुवै चैनपुरमा घर बनाइरहेका छन्। जिल्लामा यो वर्ष सबैभन्दा बढी रु.२१ करोड बराबरको ९५ केजी यार्सा, २५०० केजी वनलसुन र करीब ४००० केजी सतुवा तथा अन्य जडीबुटी निकासी गर्ने गाविस पनि दौलिचौर नै भएको स्थानीय व्यापारी शेरबहादुर बोहराले बताए। कृषि उब्जनी एकदम कम हुने समुद्री सतहबाट ३००० मिटरदेखि ५७०० मिटरको उचाइमा रहेको दौलिचौरमा स्थानीय उत्पादनले दुई महीना पनि खान पुग्दैन।   
 
अन्य धेरै व्यापार–व्यवसायमा जस्तै जडीबुटीमा पनि ज्यान जोखिममा राखेर टिप्ने संकलकलाई कम मूल्य दिएर दलालहरूले ठूलो फाइदा लिन्छन्। जडीबुटी व्यापारी गंग खड्काका अनुसार, गाउँमा केजीको रु.१६–२० लाखमा बिक्ने यार्सागुम्बा काठमाडौंमा रु.२३–२५ लाख र ताक्लाकोटमा रु.३० लाखमा बिक्री हुन्छ। यसैगरी बझा ङमा प्रति केजी रु.१५० सम्ममा पाइने चिराइतो नेपालगंजमा रु.७०० मा बिक्री हुने जडीबुटी व्यवसायी संघका अध्यक्ष धर्मजंगबहादुर सिंहले बताए।  
p22c
 
यार्सागुम्बा।

अर्कोतिर, वर्षेनि अर्बौ को आम्दानी दिने जडीबुटीको वैज्ञानिक र व्यवस्थित संकलनतर्फ कसैले ध्यान नदिएकोले भविष्यमा मासिने चिन्ता पनि छ। फल पाकेर झ्रिसकेपछि टिप्नुपर्ने खालका कतिपय जडीबुटी पहिले नै टिप्ने गरिएको छ। परिणाम, गत वर्ष ४८८१ केजी निकासी भएको सतुवा यो वर्ष २२२५ केजीमा सीमित भयो। सतुवाको उत्पादन घट्नुमा अव्यवस्थित संकलन नै मुख्य कारण भएको सामुदायिक वन उपभोक्ता महासंघका सदस्य मंगल खड्का बताउँछन्। जडीबुटी संकलनको दिगो र व्यवस्थित तरिका नअपनाउने हो भने बझा ङको अहिलेको समृद्धि क्षणिक हुने र बझाङीहरूले फेरि पुरानै अवस्थामा फर्कंदै भारततिर लाग्ने दिन आउन सक्छ।

 

comments powered by Disqus

रमझम