६-१२ असार २०७२ | 21-27 June 2015

प्रश्नवाचक उडान

Share:
  
- रामेश्वर बोहरा
२९ वैशाखमा दोलखा–सिन्धुपाल्चोक सीमामा भएको अमेरिकी सैनिक हेलिकप्टर दुर्घटनासँगै थुप्रै प्रश्न उब्जिएका छन्।

तीन दिनबाट हराइरहेको अमेरिकी सेनाको यूएच–१ वाई हेलिकप्टर १ जेठमा सिन्धुपाल्चोक–दोलखा सीमामा पर्ने घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो। त्यसको भोलिपल्ट २ जेठको दिउँसो पनि अमेरिकी हेलिकप्टरकै कारण त्रिभुवन विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणको 'एअर ट्राफिक कन्ट्रोल टावर' मा ठूलो खैलाबैला भयो। आत्तिएका एअर ट्राफिक कन्ट्रोलर (एटीसी) हरूले नेपाली सेनाका अधिकारीहरूलाई खबर गरे– 'अमेरिकी सेनाको ओस्प्रे पनि दुर्घटनामा परे जस्तो छ।'

गोरखा जाने भन्दै विमानस्थलबाट उडेको ओस्प्रे जहाज सम्पर्कमा नआएको आधा घण्टा भइसकेको थियो, जसले एटीसीहरूलाई बेचैन पारेको थियो। ओस्प्रे 'हराएको' सूचना पाएपछि सैनिक अधिकारीहरूले सबैतिरका सूचना संयन्त्र परिचालन गरे। त्यसको करीब आधा घण्टामा उत्तरी रसुवाको लाङटाङ क्षेत्रबाट 'हराएको' ओस्प्रे आफैं सम्पर्कमा आयो। 'एअर ट्राफिक कन्ट्रोल टावर' का एक अधिकारी भन्छन्, “जहाजले उडानका क्रममा रेडियो सम्पर्क विच्छेद गरेको थियो।”

अंगद ढकाल/पहिलोपोष्ट
अमेरिकी हेलिकप्टरबाट रेडियो सम्पर्क विच्छेद गरिएका दुई उदाहरण (इन्फोग्राफिक्स माथि)। त्यसमध्ये यूएन–१ वाई दोलखा–सिन्धुपाल्चोक सिमानामा पर्ने घोर्थलीमा दुर्घटनाग्रस्त भएको थियो (तल) ।

ब्याकग्राउण्डमा नेपालको एयरनटिकल चार्ट

प्रश्नै प्रश्न

गोरखाका लागि उडेको ओस्प्रे किन लाङटाङ पुग्यो? आधा घण्टासम्म किन आफ्नो पोजिशन बताउने 'अप्रोच फ्रिक्वेन्सी रेडियो' अफ गर्‍यो? अहिलेसम्म अनुत्तरित यस्ता प्रश्न दुर्घटनाग्रस्त यूएच–१ वाई हेलिकप्टरसँग पनि जोडिएका छन्। अमेरिकी सेनाका यी दुवै जहाज १२ वैशाखको विनाशकारी भूकम्पपछि उद्धार र राहतमा सघाउन आएका थिए। यूएच–१ वाई दुर्घटना छानबिनका लागि नेपाली सेना र अमेरिकी सेनाले संयुक्त समिति बनाएका छन्, जसले सबै प्रश्नको उत्तर नदिन सक्छ।

२९ वैशाखको शक्तिशाली परकम्पलगत्तै अमेरिकी 'मरिन कोर'को यूएच–१ वाई हेलिकप्टर त्रिभुवन विमानस्थलबाट दोलखातर्फ उड्यो, तर कन्ट्रोल टावरसँग समन्वय नगरी। हेलिकप्टरमा चालकसहित ६ अमेरिकी सैनिक तथा नेपाली सेनाका एक सहसेनानी र एक जमदार थिए। नेपाली सैनिक अधिकृतहरूका अनुसार, काठमाडौंबाट चरिकोट ओर्लेर त्यहाँबाट दोलखाकै सिंगटीतर्फ उडेको हेलिकप्टर त्यसपछि सम्पर्क बाहिर भएको थियो।

अमेरिकी र नेपाली सेनाका छुट्टाछुट्टै टीमले खोजतलास गर्दा ३० र ३१ वैशाखमा नभेटिएको हेलिकप्टर १ जेठ बिहान स्थानीयले दिएको सूचनाका आधारमा नेपाली सेनाले घोर्थलीमा दुर्घटना भएको फेला पार्‍यो। 'लोकेटर बिकन' जस्ता उपकरण जडित अमेरिकी सैनिक हेलिकप्टर तीन दिनसम्म किन पत्ता लागेन?

विमानस्थलस्थित टावर र नेपाली सेनाका अधिकारीहरू राडारको रेञ्ज (५० नटिकल माइल) भन्दा बाहिर पुगेपछि सम्पर्कका लागि प्रयोग हुने रेडियो उपकरण हेलिकप्टरले बन्द गरेको बताउँछन्। अर्थात्, यूएच–१ वाईले उडानमा अलमल हुँदा सम्पर्क गरेर बाटो पहिल्याउने नेभिगेशन उपकरण (रेडियो) बन्द गरेको थियो, किन?

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, हेलिकप्टर दुर्घटनास्थल ११ हजार २०० फिट उँचाइमा छ। त्यो उँचाइमा हेलिकप्टर किन पुग्यो? नेपाली सेनाका अनुसार, सिंगटीबाट पाँचजना घाइते लिएर उडेको हेलिकप्टरले काठमाडौं आउने निर्धारित हवाई रुट चरिकोटतिर नलागी किन दुर्घटनास्थलको दिशा समायो? हेलिकप्टर सिंगटीबाट दोलखाकै खरिढुंगा हुँदै वा सीधा काभ्रेको पाँचखाल निस्केर काठमाडौं पस्ने हवाई रुट पनि नसमाई विपरीत दिशाको निकै उत्तर पस्यो। ती सैनिक अधिकृत भन्छन्, “हेलिकप्टर काठमाडौंतिर पश्चिम आउनुपर्नेमा चिनियाँ सीमा नजिकै पर्ने कालिञ्चोक उत्तरतर्फ उडेको देखिन्छ।”

हेलिकप्टर तामाकोशी नजिक पर्ने सिंगटीबाट सीधै कालिञ्चोकतर्फ उडेको हुनसक्ने एकथरीको आशंका छ, जुन हवाई रुट नै होइन। सिंगटीबाट सीधा त्यता जाँदा धेरै अग्लो पहाड भएकाले हेलिकप्टरले उँचाइ लिन पनि सक्दैन। अत्याधुनिक उपकरण जडित हेलिकप्टरले 'ओभर कन्पि्कडेन्स' ले गर्दा रुट छनोटमा लापरबाही गरेको पनि हुनसक्ने बताउने अर्का एक सैनिक अधिकृत भन्छन्, “नत्र, निर्धारित हवाई रुट छाडेर अर्कोतिर लाग्ने गल्ती किन भयो?

उत्तर उड्ने जोड

भूकम्पपछिको उद्धारमा सघाउन नेपाल आएका भारतीय र अमेरिकी सैनिक हेलिकप्टरहरू आ–आफ्नै ढंगले उत्तरतिर पुग्ने समस्या देखिएपछि सरकारले उनीहरूको उडान नियन्त्रण गर्ने जिम्मा नेपाली सेनाको हवाई सेवा निर्देशनालयलाई दिएको थियो। विदेशी हेलिकप्टरहरू विमानस्थल टावरको सम्पर्कमा रहनुपर्ने भए पनि उनीहरूको समन्वय नेपाली सेनाले गर्दै आएको थियो। तर, उनीहरूले नेपाली सेनाको निर्देशन समेत पूर्णतः पालना नगरेको एक सैनिक अधिकारी बताउँछन्। “हामीले प्रश्न गर्दा कहिले रुट बिर्सेको त कहिले थाहै नपाएको जवाफ दिन्थे” ती अधिकृत भन्छन्, “त्यसरी जानुपर्ने ठाउँभन्दा टाढा पुगिदिने, बढीजसो उत्तर जान खोजेको देखियो।”

विदेशी सैनिक विमानहरूले नेपाली सेनासँग समन्वय नगरी मनोमानी उडान गरेको गुनासो बढेपछि १८ वैशाखमा प्रधानमन्त्री सुशील कोइराला विमानस्थल पुगेका थिए। प्रधानमन्त्रीलाई 'ब्रिफिङ' गर्ने क्रममा हवाई सेवा निर्देशनालय प्रमुख पाइलट (उपरथी) सतिशविक्रम शाहले 'भारतीय हेलिकप्टरहरूले एटीसीलाई नटेरी मनोमानी उडान गरेको' गुनासो गर्दा प्रधानसेनापति गौरवशमशेर जबराले उनलाई चूप लाग्न निर्देशन दिएका थिए।

त्यसपछि आएका अमेरिकी सेनाका हेलिकप्टर–जहाज उडानको समन्वय गर्ने जिम्मा पनि नेपाली सेनालाई दिइएको थियो। एटीसी टावरसँग सम्पर्क भए पनि उनीहरूलाई मुख्य अह्रनखटन सेनाको हवाई सेवा निर्देशनालयले नै गर्‍यो। तर, निर्देशनालयको निर्देशन पनि खासै पालना नभएको सैनिक अधिकृतहरूको भनाइ छ। उनीहरूले विमानस्थल टावर र निर्देशनालयलाई नटेर्ने र आफ्नो गतिविधि लुकाउने काम किन गरे? उनीहरूलाई त्यसो गर्न किन रोकिएन? यी प्रश्नहरू पनि अनुत्तरित छन्।

भारतीय सैनिक हेलिकप्टर आफ्नो 'एअर स्पेस' तिर आएको भन्दै चीनले आपत्ति नै जनाएको थियो। पोखरा 'बेस्ड' भारतीय हेलिकप्टरहरू पटक–पटक लाङटाङ पुगेको नेपाली सैनिक अधिकृतहरू बताउँछन्। गृहमन्त्रालयको एउटा प्रतिवेदनमा 'भूकम्पका वेला उद्धार र राहतमा सहयोग गर्न आएका भारत, अमेरिका र चीनका सैनिक हेलिकप्टरहरूले प्रभावकारी काम गर्न नसकेको' निचोड निकालिएको छ, तर जथाभावी उडान गर्ने हेलिकप्टरहरूलाई नियन्त्रण गरेर उद्धारकार्य प्रभावकारी बनाइएन, किन?

सन् १९७० को दशकबाट प्रयोगमा आएर १९९६ मा अपग्रेड गरिएको यूएच–१ वाई हेलिकप्टर नेपालका उच्च पहाडहरूमा उड्दा यसको अधिकतम सुरक्षित भार ६०० केजी मात्र रहने बताइएको थियो। दोलखाको सिंगटीबाट पाँच जना घाइते उठाएको हेलिकप्टरमा पहिल्यै ८ जना थिए। त्यसमा रहेका थुप्रै सिग्नल उपकरणको भार छँदैथियो। यसरी सुरक्षित भन्दा बढी भार किन राखियो? घाइतेको उद्धारमा गएको हेलिकप्टरमा आठ–आठ जना सैनिक किन बसे?

रिपोर्टिङ पनि भएन

यूएच–१ वाई हेलिकप्टर दुर्घटना भएको २३ दिनपछि २० जेठमा नेपाली सेनाले त्यसमा सिंगटीका घाइते पनि परेको स्वीकार्‍यो। हेलिकप्टरमा चढेका आफन्तको अत्तोपत्तो नभएको भन्दै परिवारजनले निरन्तर दबाब दिएपछि दुर्घटनास्थलमा फेला परेका शवका थप अवशेष संकलन गरी अमेरिकामा गरिएको डीएनए परीक्षणपछि त्यसमा पाँच जना 'सिभिलियन' समेत परेको पुष्टि सेनाले गरेको थियो।
सिंगटीबाट पाँचजना सर्वसाधारणलाई हेलिकप्टरमा चढाइएको जानकारी नेपाली सेनालाई किन भएन? नेपाली सेनाका लियाजो अफिसरले समेत आफ्नो रेडियो फ्रिक्वेन्सीमा रिपोर्टिङ किन गरेनन्? “सेनाको व्यारेक वा प्रहरी कार्यालयबाट घाइतेलाई हेलिकप्टर चढाइएको भए रेकर्ड हुन्थ्यो”, सैनिक प्रवक्ता सहायकरथी जगदीश पोखरेल भन्छन्, “लियाजो अफिसरले रिपोर्टिङको कोशिश गरेको हुनसक्छ, तर 'हिट अफ द व्याटल' जस्तो समय भएकाले सम्पर्क हुन नसकेको हो कि!”

यूएच–१ वाई हेलिकप्टर भेटिएपछिको एक सातासम्म दुर्घटनास्थलमा अमेरिकी र नेपाली सेनाको विशेष फोर्स तैनाथ गरेर फरेन्सिक जाँचको लागि शवका अवशेष अमेरिका पठाइएको थियो। तर, दुर्घटनामा पाँच 'सिभिलियन' परेको शुरूमै थाहा भएन, किन? किन दुर्घटनामा ८ जना सैनिक मात्र परेको भनियो? सैनिक छानबिन समितिबाट यी तमाम प्रश्नको उत्तर अपेक्षित छन्।

comments powered by Disqus

रमझम