६-१२ असार २०७२ | 21-27 June 2015

अन्नपूर्ण सुरक्षित छ

Share:
  
- युवराज श्रेष्ठ, लमजुङ
साहसिक पर्यटनका लागि विश्वमै उत्कृष्ट अन्नपूर्ण क्षेत्र महाभूकम्पको असरबाट सुरक्षित छ।

भूकम्पको परकम्पकै बीच र सिउरुङमा स्थानीयवासीले आयोजना गरेको महोत्सवका सहभागी
२० वैशाखका लागि भन्दै लमजुङ सदरमुकाम बेसीशहरस्थित होटल टुकुचे पिकमा एकहूल यूरोपेलीले कोठा 'बुकिङ' गरे। तर, जब १२ वैशाखमा छिमेकी जिल्ला गोरखा केन्द्रबिन्दु बनाएर महाभूकम्प गयो, पर्यटकले भ्रमण स्थगित गरेको खबर पठाए।

भूकम्पको असरकै कारण अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेसीशहरका होटलहरू मात्रै होइन, जिल्लाका पर्यटकीय गाउँ समेत यतिवेला सुनसान छन्। साहसिक पदमार्गमा विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण क्षेत्र यतिवेला 'मणि हराएको नाग' झै भएको छ।

त्यसो त गत असोजमा समुद्री आँधी हुदहुदले सिर्जित हिमपात र हिमपहिरोमा परी अन्नपूर्ण क्षेत्रमा ११ जना पर्यटकको ज्यान गएको थियो। उक्त दुर्घटनाको घाउ पुरिन बाँकी नै थियो, भूकम्प आइदियो। संयोग भनौं, भूकम्पले अन्नपूर्ण पदमार्गलाई खासै असर पुर्‍याएन।

पहिलेभन्दा सुरक्षित

महाभूकम्प र त्यसपछिको परकम्पबाट अछुतो नरहे पनि यहाँका पर्यटकीय क्षेत्र, पूर्वाधार र गन्तव्य सुरक्षित छन्। लमजुङ, मनाङ, मुस्ताङ, कास्की र म्याग्दी जिल्लाका ५७ गाविसमा फैलिएको अन्नपूर्ण क्षेत्रका छोटो तथा लामो दूरीको पदमार्ग, होमस्टे, होटललाई भूकम्पले कुनै क्षति पुर्‍याएन।

भूकम्पले यस क्षेत्रमा जीर्ण गुम्बा, मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार र केही निजी घर मात्र भत्किएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का पर्यटन अधिकृत नरेन्द्र लामा भन्छन्, “पर्यटकलाई समस्या पर्न सक्ने कतै केही भएको छैन, ढुक्कले घुम्न आए हुन्छ।” लामाका अनुसार हुदहुद दुर्घटनापछि पर्यटकलाई नियमित मौसम, सफा खानेपानी र स्वास्थ्य जाँचको व्यवस्था पनि मिलाइएको छ।

एक्यापका निर्देशक लालप्रसाद गुरुङ अन्नपूर्ण पदमार्ग पहिले जति सुरक्षित थियो, अहिले त्योभन्दा सुरक्षित भएको दाबी गर्छन्। “किनकि हामीले भूकम्प भोगिसकेका छौं, तयारीबारे थप सचेत छौं”, गुरुङ भन्छन्।

खै सकारात्मक सन्देश?

अन्नपूर्ण आधार शिविरमा सामूहिक तस्वीर खिचाउँदै पर्यटक ।
फागुन–जेठ महीना नै अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसायीको मौसम हो। एक्यापका अनुसार मे, २०१४ मा ८ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमणको अनुमति लिएका थिए। तर, भूकम्पका कारण यो वर्षको मे महीनामा भने ८०० ले मात्र यस्तो घुम्ने स्वीकृति लिएका थिए। तर, तीमध्ये अधिकांश घुमफिर छाडी स्वदेश फर्किएको एक्यापका लामा बताउँछन्।

अन्नपूर्ण पदमार्गमा मात्र होइन, संरक्षण क्षेत्रभित्रका पर्यटकीय गाउँहरूमा पनि चहलपहल छैन। औसतमा दैनिक १०० जना पर्यटक भित्रिने 'सार्क भिलेज' को रूपमा चर्चित लमजुङका घलेगाउँ, भुजुङ, सिउरुङ अहिले पर्यटक शून्य छन्।
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ भूकम्पले पूरै नेपाल ध्वस्त बनायो भन्ने गलत सन्देशका कारण पर्यटक नआएको बताउँछन्। “सुरक्षित पर्यटनबारे अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश दिन सके अझ्ौ केही बिग्रिएको छैन। विपत्मा नेपालीको बहादुरी बुझ्न पनि पर्यटक आउन सक्छन्”, श्रेष्ठ भन्छन्।

भूकम्पको परकम्पकै बीच घलेगाउँ (२३–२४ वैशाख) र सिउरुङ (१३–१४ जेठ) मा स्थानीयवासीले महोत्सवकै आयोजना गरे। कतिपयले भूकम्पले देश मर्माहत भइरहेको वेला उत्सव मनाएको भनेर आलोचना पनि गरे। तर, आयोजकले भूकम्पपीडितप्रतिको दायित्व बिर्सिएनन्। घलेगाउँवासीले महोत्सवबाट संकलित रु.५० हजार जिल्ला दैवी प्रकोप राहत कोषमा जम्मा गरे। सिउरुङबाट उठेको रु.५१ हजार रोटरी क्लब अफ लमजुङ मार्फत भूकम्पपीडित राहतमै खर्चिएको पर्यटन व्यवस्थापन समिति सिउरुङका अध्यक्ष उमरबहादुर गुरुङ बताउँछन्।
“कतिपयले गलत बुझे तर महोत्सव गरेर हाम्रा पर्यटकीय क्षेत्र सुरक्षित छन् भन्ने सन्देश दिन चाहेका हौं”, घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेको तर्क छ।


पुनःनिर्माणमा 'एभरेष्ट' को साथ

महाभूकम्पका कारण सिंगो देश नै ध्वस्त भयो भन्ने गलत प्रचार विश्वभर फैलिरहेका वेला सगरमाथाको विषयमा बनेको र नेपाली कलाकार समेत रहेको हलिउड चलचित्र एभरेष्ट को टे्रलर सार्वजनिक भएको छ। यसले महाभूकम्पका कारण 'हेडलाइन' बनेको नेपालप्रति अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने नै छ।

१०–११ मे १९९६ मा सगरमाथा आरोहण गर्ने क्रममा हिमआँधीमा परेर आठ आरोहीले ज्यान गुमाएका थिए। '१९९६ माउन्ट एभरेष्ट डिजास्टर' नामले चर्चित उक्त दुर्घटनामा आधारित चलचित्र एभरेष्ट आउँदो सेप्टेम्बरमा रिलिज हुँदैछ। यसको टे्रलर भने २१ जेठमा सार्वजनिक गरियो। बाल्टासर कोर्माकुर निर्देशित थ्रीडी भर्सनको यो चलचित्रमा जेक गाइनेलहाल, ज्यासन क्लार्क, जोस ब्रोलिन, एमिली वाट्सन जस्ता प्रख्यात कलाकारसँगै नेपाली अभिनेता क्याप्टेन विजय लामाले काम गरेका छन्।

सगरमाथा आधार शिविरदेखि इटाली र बेलायतसम्म खिचिएको एभरेष्ट को टे्रलरमा महाभूकम्पको चपेटामा परेको नेपाललाई सहयोग गर्न आह्वान गरिएको छ। युनिभर्सल पिक्चर्स नामक प्रसिद्ध अमेरिकी फिल्म स्टुडियोले भूकम्पपीडित नेपालीलाई सहयोग गर्ने ट्रेलरमा उल्लेख छ। एभरेष्ट टीमले पनि अक्सफाम अमेरिकासँग मिलेर भूकम्प प्रभावित ठाउँमा सहयोग गर्ने जनाएको छ। टे्रलरको अन्त्यमा फिल्मको मुनाफाको केही हिस्सा नेपालको ध्वस्त संरचना पुनःनिर्माणमा खर्च हुने पनि उल्लेख छ।

सजना बराल

comments powered by Disqus

रमझम