१३-१९ असार २०७२ | 28 June - 4 July 2015

बंगुरको भर

Share:
  
- गोपाल गडतौला, झापा
झापा तोपगाछीका किसानको लगनले देखाउँछ, बंगुरपालन वैदेशिक रोजगारीको विकल्प बन्न सक्छ।

तस्वीरहरुः गोपाल गडतौला
विजयराज लिम्बू आफ्नो फार्ममा।
“साढे तीन लाखमै कोरिया पुर्‍याइदिन्छु” झापा, तोपगाछी–६ का सञ्जिवकुमार राई (४१) लाई दलालले भनेका थिए। २०६१ सालको हिउँदमा ऋण काढेर दलाललाई पूरै पैसा बुझाए। तर, भिसा कुरेर साढे तीन महीनासम्म काठमाडौं बस्दा पनि सञ्जिव दक्षिणकोरिया उडेनन्, ठगिए।

कोरिया, दलाल र ऋणको बोझ्ले राजधानीमा रन्थनिइरहेका वेला एकदिन उनका आँखा नेपाल टेलिभिजनले प्रसारण गरेको भक्तपुरको एउटा बंगुर फार्मबारेको समाचारमा पुग्यो। “यसै डुबियो, उसै डुबियो अब गाउँमै बंगुर पाल्छु भन्ने निर्णय गरें”, उनी सुनाउँछन्।

घर पुगेलगत्तै सञ्जिवले रु.५५० मा बंगुरको एउटा भुनी किने। ६ महीनामा त्यसले जन्माएका ९ वटा पाठा उनले रु.१३ हजार ५०० मा बेचे। हाइब्रिड भालेका ६ वटा पाठा किने। कृषि विकास ब्यांकबाट रु.५० हजार ऋण पनि लिए। बंगुर पालनको तालीम नै लिएपछि २०६४ सालमा कुलुङ बंगुर फार्म दर्ता गरे।

गत वर्ष एक हजार २०० पाठा बेचेका सञ्जिवले रु.२९ लाख आम्दानी गरे। “यो वर्ष नाफा डेढी बनाउँछु”, सञ्जिव भन्छन्। उनको फार्ममा अहिले विभिन्न जातका १७० वटा बंगुर छन्। घरमै बंगुरको वीर्य भण्डारण प्रयोगशाला खोलेका सञ्जिव अहिले अमेरिकी हाइब्रिड बंगुर उत्पादनमा लागेका छन्। यी हाइब्रिड पाठा स्थानीयको तुलनामा दोब्बर मूल्य अर्थात् प्रति पाठा रु.१० हजारमा बिकिरहेका छन्।

सञ्जिवकुमार राईको बंगुर फार्म ।
१० वर्षभित्रमा बंगुरको कमाइबाटै सञ्जिवले १६ कट्ठा जमीन जोडेका छन्। तर, त्योभन्दा बढी सन्तोष त उनलाई २०७१ सालमा उत्कृष्ट पशुपालकको रूपमा राष्ट्रपतिबाट सम्मान पाउँदा लागेको छ। “धन्न, टीभीमा बंगुर फार्म देखेछु र मन फेरेछु”, १० कक्षासम्म मात्रै पढेका सञ्जिव भन्छन्।

तोपगाछी गाविसमा यतिवेला सानाठूला २२ वटा बंगुर फार्म सञ्चालनमा छन्। पूर्व बेलायती सैनिक विजयराज लिम्बू (५९) को तोपगाछी–७ स्थित कञ्चनजङ्घा बंगुर फार्म तिनैमध्ये एक हो। सेनामै रहँदा सन् १९८८ ताका हङकङको क्याडरी एग्रिकल्चर एसोसिएसनमा ६ महीने पशुपालन तालीम लिएका उनले त्यतिवेलै बंगुर पाल्नेबारे सोचेका थिए। अहिले उनको फार्ममा विभिन्न जातका १० वटा वीर र १०० पोथी बंगुर छन्।

१८ वर्ष खाडीका विभिन्न मुलुकमा बिताएका तोपगाछीकै रोशन गुरुङ (४५) पनि अन्ततः बंगुरपालनमै लागेका छन्। चार वर्षअघि रु.१७ लाखको लगानीमा खोलिएको उनको फार्ममा ७३ वटा बंगुर छन्। बंगुरबाटै वार्षिक सरदर रु.२ लाख ५० हजार कमाइरहेका छन्।

बंगुरको बढ्दो मागले व्यवसायीलाई सजिलो बनाएको हो। झापाका फार्मबाट उत्पादित बंगुर पूर्वाेत्तर भारतका आसाम, अरुणाचल, सिक्किम, मेघालयसम्म पुग्छन्।


अधिकारी बंगुर फार्म

डेढ वर्षअघि तोपगाछी–४ स्थित आफ्नै खेतमा बंगुरपालन थालेकी पार्वती अधिकारी (४८) ले परिवारकै छोइछिटो सहनुपर्‍यो। बाहुनकी बुहारीले बंगुरका पाठा सुम्सुम्याएको देखेर आफन्तले आँगन टेक्नै घिनाए। तर, उनलाई यो कर्ममा श्रीमान् टेकनाथले टेको दिएका थिए।

कतार रहेका श्रीमान्को कमाइले तीन सन्तानको पढाइ र घरखर्च चलाउन मुश्किल भएपछि पार्वतीले केही गर्ने आँट गरेकी थिइन्। छिमेकीले बंगुर पालेर थोरै लगानीमा राम्रो आम्दानी गरेको देखेपछि उनी पनि त्यतै आकर्षित भइन्। शुरुमा पार्वतीले रु.३ लाख खर्चेर २२ वटा बुचो र आठ वटा भुनी हालिन्। एकवर्ष नबित्दै सबै खर्च कटाएर रु.२ लाख आम्दानी गरिन्। “मलाई त गाईभैंसी भन्दा बंगुर पाल्न पो सजिलो लाग्यो”, उनी भन्छिन्।

पार्वतीको 'अधिकारी बंगुर फार्म' अहिले जिल्लाभर 'बाहुनीको बंगुर फार्म' भनेर चिनिन्छ। नयाँ चिनारीसँगै उनको बहादुरीले पनि प्रशंसा पाउन थालेको छ। “व्यवहार चलाउन धेरै सजिलो भइरहेको छ”, पार्वती भन्छिन्।

comments powered by Disqus

रमझम