१३-१९ असार २०७२ | 28 June - 4 July 2015

सामुदायिक सफलता

Share:
  
- दीपक ज्ञवाली, बुटवल
पछिल्ला केही वर्षमा सामुदायिक विद्यालयले प्राप्त गरिरहेको प्रगतिले समुदाय, शिक्षक र सरकारलाई हौस्याएको छ।

दीपक ज्ञवाली
कालिका उच्चमावि बुटवलबाट २०७१ सालमा एसएलसी उत्तीर्ण विद्यार्थी।
२०६९ साल बुटवलको सिद्धेश्वर लालकुमारी उच्च माविका लागि बिर्सनलायक वर्ष थियो। कारण, त्यो वर्ष विद्यालयबाट एसएलसी दिएका ७० जनामध्ये ९ जना मात्र उत्तीर्ण भए। यो वर्ष भने अचम्मै भयो; परीक्षा दिएका ४१ विद्यार्थीमा ३८ जनाले उच्चशिक्षाको अनुहार देख्न पाउने भएका छन्।

तीन वर्षमै यस्तो कायापलट कसरी सम्भव भयो? “प्रशासन चुस्त बनायौं। विषयगत अध्यापनमा ध्यान दियौं। कमजोर विद्यार्थीमा निगरानी बढायौं”, विद्यालयका सहप्राचार्य दीनानाथ गिरी भन्छन्।

प्रगतिको अर्को उदाहरण हो, मणिग्रामस्थित शान्ति नमूना उमावि। यस वर्षको एसएलसीमा सामुदायिकतर्फ सबैभन्दा बढी ९३.८७ प्रतिशत अंक प्राप्त गर्ने भावना अर्याल यसै विद्यालयकी हुन्।

के हो त सफलताको रहस्य? “समग्र शैक्षिक व्यवस्थापन सुधार्‍यौं। अंग्रेजी माध्यम अपनायौं। शिक्षकका छोराछोरी यहीं पढाउने नीति बनायौं”, सहप्राचार्य कुलप्रसाद लामिछाने भन्छन्।

मुलुकभरका सामुदायिक विद्यालयमध्येकै उदाहरण हो, बुटवलको कान्ति उमावि। कान्तिबाट यसपटक एसएलसी दिएका १२९ मध्ये १२० जना उत्तीर्ण भए। विद्यालयले २०६७ सालदेखि शैक्षिक सुधार अभियान थालेको हो। “व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य र समन्वय भए सजिलै परिवर्तन संभव छ”, विद्यालयका प्राचार्य गोविन्द ज्ञवाली भन्छन्।

बुटवलकै कालिका उमाविमा पनि हरेक वर्ष विद्यार्थीको घुइँचो लाग्छ। विद्यालयबाट यस वर्ष एसएलसी दिएका १२७ मध्ये ११८ जना उत्तीर्ण भए। विद्यालयका प्राचार्य घनश्याम पाठकको अनुभवमा शिक्षक नेतृत्वमा अभिभावक र समुदाय सँगै हिंडाउन सके समग्र शैक्षिक सुधार टाढाको कुरा होइन।

सामुदायिक विद्यालयबाट ९३.८७%

अंक ल्याएकी भावना अर्याल

शहर मात्र होइन, रूपन्देहीको ग्रामीण भेग गजेडीको प्रगति उमाविले पनि यो वर्ष इतिहास रचेको छ। विद्यालयबाट यस वर्ष एसएलसी दिएका १२४ विद्यार्थीमध्ये एक जना मात्र अनुत्तीर्ण भए। रूपन्देहीका नवीन औद्योगिक उमावि, कोटियादेवी मावि, जनजागृति उमावि लगायतका सामुदायिक विद्यालयले एसएलसीमा उत्साहजनक नतीजा ल्याएका छन्।

जिल्ला शिक्षा कार्यालय रूपन्देहीका अनुसार जिल्लामा १०० भन्दा बढी सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट अध्यापन गराइरहेका छन्। जसबाट सामुदायिक विद्यालयको नतीजामा उल्लेख्य प्रगति भइरहेको छ। केही वर्षअघिसम्म सामुदायिकमा औसतमा २९ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुन्थे भने अहिले त्यो संख्या बढेर ३८ प्रतिशत पुगेको छ।

जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा नियमित अभिमुखीकरण, विषयगत अन्तरक्रिया, शिक्षकको उत्तरदायित्व, बालमैत्री वातावरण र शैक्षिक निकायबीचको समन्वयका कारण रूपन्देहीका विद्यालय नमूना बन्दै गएको बताउँछन्। अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली सामुदायिक विद्यालय खत्तम हुन्छन् भन्ने भ्रम हटाउन जिल्लाका विद्यालयको मिहिनेत सराहनीय भएकोमा खुशी व्यक्त गर्छन्।


यसरी सुधारिंदैछन्

डिल्लीराम रिमाल

महानिर्देशक, शिक्षा विभाग

गत वर्ष देशभरका सामुदायिक विद्यालयबाट एसएलसीमा २८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यो वर्ष उत्तीर्ण प्रतिशत ३३ पुगेको छ। गत वर्षभन्दा ५ प्रतिशत मात्र प्रगति भएको देखियो। यसमा सन्तोष मान्नु हुन्न। सामुदायिक विद्यालयको स्तर सुधार्न विशेष योजना सहितको निर्देशन दिएका थियौं। निर्देशनको लक्ष्य अनुसार योभन्दा बढी सुधारको अपेक्षा थियो।

सामुदायिक विद्यालय सुधि्रंदै जानुमा सबैभन्दा ठूलो हात त विद्यालयकै छ। विद्यालयले आफ्नो नतीजाबारे आफैं समीक्षा गरे। शिक्षक स्वयंले शिक्षा लिए। कैयौंमा अंग्रेजी माध्यम अपनाए। 'शिक्षकले सक्छन्' अभियानले पनि ठूलो काम गर्‍यो। यो परिवर्तनमा ऊर्जाशील नयाँ शिक्षकहरूको पनि ठूलो हात छ। सरकारी योगदान प्रभावकारी छ। आउँदो वर्ष अझ प्रगति हुनुपर्छ।


स्वयम्सेवी सूत्र

सामुदायिक विद्यालयको स्तर सुधारमा टीच फर नेपालले ललितपुरबाट शुरू गरेको स्वयंसेवी शिक्षक अभियान प्रभावकारी देखिएको छ।

टिच फर नेपाल
विद्यार्थीका साथमा टीच फर नेपालका फेलो विजयमणि पौडेल सबैभन्दा पछाडि।
टीच फर नेपाल (टीएफएन) ले २०७० देखि ललितपुरको दक्षिणी भेगका १५ वटा विद्यालयमा 'फेलो' पठाएर सामुदायिक विद्यालयको स्तर सुधार्ने अभियान थालेको थियो। शुरूको वर्ष ६–९ कक्षामा टीएफएनका फेलोले पढाएका विद्यार्थीमध्ये अहिले एसएलसी दिएका पहिलो ब्याचमै उत्साहजनक नतीजा निस्केको छ। टीएफएनका प्रमुख कार्यकारी शिशिर खनाल ती विद्यालयमा औसत ५४ प्रतिशत रहेको एसएलसी उत्तीर्ण दर अहिले ७५ प्रतिशत भन्दा बढी पुगेको बताउँछन्।

'अप्ठेरो ठानिएका अंग्रेजी, गणित, विज्ञान जस्ता विषयको उत्तीर्ण र औसत प्राप्ताङ्क दर त्योभन्दा पनि बढी छ”, उनी भन्छन्, “४०० भन्दा बढी विद्यार्थीले एसएलसी परीक्षा दिएकोमा ती अप्ठ्यारा ठानिएका विषयमा ९० प्रतिशतभन्दा बढी पास भएका छन्।” गत वर्ष ती विद्यालयबाट एक जना विशिष्ट र ८१ जना प्रथम श्रेणीमा पास भएकोमा अहिले त्यो संख्या बढेर विशिष्टमा ६ र प्रथम श्रेणीमा १४२ जना पुगेका छन्। देश–विदेश अध्ययन गरेका, विषयगत रूपमा दक्ष र अध्यापनलाई जागीर मात्रै नठान्ने टीएफएनका स्वयंसेवकको लगनले विद्यालयमा यस्तो सफलता दिलाएको हो।

टीएफएन फेलो विजयमणि पौडेलले दुई वर्षदेखि पढाउँदै आएको ललितपुरको चण्डेश्वरी मावि, सिम्लेको यसपटकको एसएलसी नतीजा 'ऐतिहासिक' रह्यो। पहिलोपटक विद्यालयका सबै विद्यार्थी विज्ञानमा पास भए। “गत वर्ष एकै जना पनि पास नभएका विद्यालयमा यसपटक २० मध्ये १० जना पास भए, मैले पढाएको विज्ञानमा त सबै पास भए”, उनी भन्छन्।

तामाङ जातिको बाहुल्य रहेको विकट सिम्ले गाउँमा पहिलोपटक शिक्षक बनेर पुग्दा बीएस्सीपछि पत्रकारितामा स्नातकोत्तर पौडेलले नसोचेको चुनौती बेहोर्नुपरेको थियो। विद्यार्थी/अभिभावक नेपाली भाषा नबुझ्ने, शिक्षक तामाङ भाषा नबुझ्ने। शुरूमा पौडेल आफैंले तामाङ भाषा सिके। “विज्ञान सरल विषय हो भनेर बुझ्ााउन सकें”, उनी भन्छन्।

पछिल्ला वर्षहरूको तथ्यांकले एसएलसीमा निजी विद्यालयबाट करीब ८० प्रतिशत र सामुदायिकबाट करीब २८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको देखाउँछन्। गाउँका सामुदायिक विद्यालयमा अंग्रेजी, गणित, विज्ञान जस्ता विषयका विषयगत शिक्षक उपलब्ध नहुनु यसको प्रमुख कारण मानिएको छ। भएकै शिक्षक दरबन्दी पूर्ति नहुनु र विद्यार्थीको अनुपातमा विषयगत शिक्षक निकै कम हुनुले पनि सामुदायिक विद्यालयमा समस्या थपेको हो। “यस्तो अवस्थामा प्रमुख विषयका शिक्षकहरू गाउँगाउँ पठाउने हाम्रो प्रयासले त्यहाँको आवश्यकता थोरै भए पनि पूर्ति गरेको छ”, टीएफएनका प्रमुख कार्यकारी खनाल भन्छन्। प्रारम्भिक नतीजा राम्रो देखिएकाले यो अभियानलाई सरकारसँग मिलेर देशैभर विस्तार गर्ने योजना रहेको उनी बताउँछन्।

ललितपुरबाट थालिएको यो अभियान अहिले सिन्धुपाल्चोक र धनुषाका ३२ विद्यालयमा विस्तार गरिएको छ। त्यहाँ टीएफएनका ८६ फेलो खटिएका छन्। सार्वजनिक आह्वानबाट छानिएका स्वयंसेवक शिक्षकलाई ६ हप्ताको तालीमपछि विद्यालयमा पठाइन्छ। उनीहरूलाई दुई वर्षको शिक्षण अवधिमा विभिन्न तालीम पनि दिइन्छ।

तुफान न्यौपाने

comments powered by Disqus

रमझम