२०-२६ असार २०७२ | 5-11 July 2015

अदालतले छाडेपछि सात हत्या

Share:
  
- कमल रिमाल, सप्तरीबाट
प्रहरीको कमजोर अनुसन्धान र अदालतको रिहा आदेशपछि दुई जनाको हत्या आरोप लागेका सकिल हुसेन थप सात जनाको हत्या गर्दै 'सिरियल किलर' बन्न पुगे।

सगिरा खातुनकी सासू कैली र छोरी समिना।
२६ वैशाख २०६४ मा मल्हनिया–६ का आरुल मियाँ र पाण्डव पासवानको हत्या गरेर पटेर्वा–१ को दिउल खोलामा गाडेको आरोपमा समातिएका टिकुलिया–७ सप्तरीका सकिल हुसेनले सजिलै थुनामुक्त भएपछि लगालग थप सात जनाको हत्या गरे।

आरुल र पाण्डव हत्याको आरोपमा ४ मंसीर २०६८ मा समातिएर ३ पुस २०६८ मा पुर्पक्षका लागि थुनामा परेका सकिल २६ माघमा पुनरावेदन अदालत राजविराजका न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र पवनकुमार शर्माको संयुक्त इजलासको आदेशबाट छुटेका थिए। ५ चैत २०६९ मा त जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले उनलाई सफाइ नै दियो।

'बरामद भएको मानव कंकाल अरुल मियाँको नै हो भन्ने कुनै परीक्षण वा मिसिल संलग्न प्रमाणबाट खुल्न आएको पाइँदैन, प्रतिवादीले मियाँलाई कर्तव्य गरी मार्नुपर्ने कुनै कारण रहेको कतैबाट खुल्न आउँदैन र मारेको वारदात नै स्थापित हुन आएको देखिंदैन' सकिललाई सफाइ दिने जिल्ला अदालतको फैसलामा उल्लेख छ। “सप्तरी प्रहरीले दह्रो अनुसन्धान सहित मुद्दा दायर गरेको भए अहिले पनि सकिल जेलमा हुन्थ्यो, यति धेरै हत्या गर्न पाउँदैनथ्यो” सप्तरी जिल्ला न्यायाधिवक्ता हरिप्रसाद पोखरेल भन्छन्, “डीएनए परीक्षण गराएर अदालत लैजानुपर्नेमा त्यसो नगरी मुद्दा कमजोर बनाएको देखिन्छ।”

तस्वीरहरुः कमल रिमाल
सकिल हुसेन।
प्रहरीले नै छाड्यो

दुई जनाको हत्या आरोपमा करीब तीन महीना जेल बसेर छुटेका सकिलले १० असोज २०६९ मा सप्तरी टिकुलिया–४ का सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनलाई बेपत्ता पारे। सहबुदका भाइ (बडाबाका छोरा) अयुव अलिले इलाका प्रहरी कार्यालय कडोरवना र इप्रका कल्याणपुरमा जाहेरी दिएपछि त्यसको दुई महीनामा कडोरवना प्रहरीले सकिललाई पक्रेर कल्याणपुर इप्रकामा बुझायो।

तर, एक घण्टामै इन्स्पेक्टर प्रद्युम्न अधिकारीले सकिललाई नेकपा एमालेका सप्तरी जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिरलाई बुझाएको जाहेरवाला अयुव अलि बताउँछन्। त्यसबारेको जिज्ञासामा एमाले उपाध्यक्ष साकिर भन्छन्, “मैले त भोलिपल्टै जिल्ला प्रहरीमा बुझाएको थिएँ, तर एसपी संजयसिंह बस्नेतले आफ्नो मर्जीले छाडिदिए।”

त्यसवेला सकिल विरुद्ध कानूनी कारबाहीको लागि एसपी बस्नेतलाई भेट्दा 'प्रमाण विना हिरासतमा राख्न मिल्दैन' भन्दै छाडिदिएको अलि बताउँछन्। अपराधको कमाइ खर्च गरेर सकिल उम्किएको बताउँदै अलि भन्छन्, “दाइ र बुहारीलाई न्याय दिलाउन पछि लाग्दालाग्दा बल्ल अहिले जिल्ला प्रहरीले कंकाल निकालेर हत्यारालाई समात्ने परिस्थिति बनाएको छ।”

अनुसन्धानमा जुटेको सप्तरी प्रहरीले सारस्वर–३ का मोहम्मद अलाउद्दिनलाई समातेपछि सकिलले हत्या गरेर पुरेका सगिरा खातुन र उनका ससुरा सहबुद मियाँको कंकाल फेला पारेको थियो। (हे. चिनिए 'सिरियल किलर', हिमाल, १३–१८ असार)मोहम्मद अलाउद्दिनकै बयानको आधारमा सकिलले अदालतको आदेशबाट जेलमुक्त भएपछि सात जनाको हत्या गरेको खुल्यो। (हे. बक्स)

हत्या श्रृंखला

एसपी संजयसिंह बस्नेत सप्तरी प्रहरी प्रमुख हुँदा अपहरण तथा शरीर बन्धक मुद्दामा पक्राउ परेर सजिलै उम्किएपछि सकिलले २०६९ मंसीर पहिलो साता जन्डौल–६ की दुलारीदेवी साहको हत्या गरे भने पुसमा जन्डौल–५ का आफ्नै ससुरा इद्रिस खलिफा नट, सासू जैतुन खातुन र कान्छी श्रीमती सेरुन खातुन (१८) लाई सुनसरीको इनरुवामा हत्या गरे। त्यसको तीन महीनापछि २ चैतमा त्रिकोल–५ सप्तरीकी निर्मलादेवी साहलाई उनकै घरमा हत्या गरेर पुरे। प्रहरीले ती सबैको कंकाल निकालेको छ।

१७ पुस २०६९ मा जन्डौल–८ का डम्बर भट्टराई र उनकी श्रीमती कौशिलाको हत्यामा पनि सकिलको संलग्नता देखिएको सप्तरी प्रहरी प्रमुख एसपी शिशिर कर्माचार्य बताउँछन्। २०७० मंसीरमा हत्या गरिएकी दुलारीदेवी साह भट्टराई दम्पतीको हत्या भएको समयमा सकिलको सहयोगी रहेको देखिएको एसपी कर्माचार्यले बताए। त्यसपछि धनुषाबाट अर्कै नागरिकता र राहदानी बनाएर कतार गएका सकिलले पैसा, जग्गा र यौनका लागि यतिका हत्या गरेको प्रहरी बताउँछ।

आपत्मा परिवार

सप्तरीका 'सिरियल किलर' ३५ वर्षीय सकिल हुसेन नै हुन् भन्ने प्रष्ट भएपछि उनको परिवारलाई गाउँमा बसिनसक्नु भएको छ। सकिलले अपराधकर्मबाट आएको पैसाले कुशाहा बजारमा घर किनेका थिए, जहाँ अहिले उनकी जेठी श्रीमती रोशन खातुन, छोरी र सासू रसिदन खातुन बस्छन् भने १८ वर्षका छोरा काठमाडौंमा पढ्छन्।

श्रीमती रोशन खातुनले सकिलले यतिका मान्छे मारेको कुरा आफू लगायत परिवारका सदस्यहरूका लागि अविश्वसनीय भएको बताइन्। सकिललाई जोगाउन आफूहरूले गर्न सक्ने पनि केही नभएको उनी बताउँछिन्। प्रहरीले सहबुद मियाँको कंकाल निकालेको पाँच दिनपछि ११ जेठमा गाउँलेले घर घेरेर कुटपिट गरेपछि सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएको बताउँदै रोशन भन्छिन्, “उसले अपराध गरेको हो भने सजाय र परिवारका हामी निर्दोषले सुरक्षा पाउनुपर्छ।”


सात जना मार्दाका साक्षी

सकिलका एक जना सहयोगी मोहम्मद अलाउद्दिन अहिले सप्तरी कारागारमा छन्। कल्याणपुर–८ स्थित सकिलकै कुखुरा फार्मका कामदार उनी सहबुद मियाँ र सगिरा खातुनलाई मार्दा फार्ममा मस्तकिल, रहिस, गुलजार र अरू तीन जना सहयोगी रहेको बताउँछन्। दुलारीदेवी र निर्मलादेवीको हत्या हुँदा आफू मान्छे हेर्न बाटोमा बसेको उनले बताए। सकिलले इनरुवामा तीन जनालाई मार्न मस्तकिम, गुलजार, नसरुल, रजाउल, हजरतलाई लगेको बताउँदै उनी भन्छन्, “त्यसवेला पनि म मान्छे हेर्न घरको कम्पाउण्ड बाहिरै बसेको थिएँ।”

ससुरालीको जमीन हडप्ने योजनामा रहेका सकिलले इनरुवा–७ मा सियाराम यादवको घर भाडामा लिएर कान्छी श्रीमती सेरुन, सासू जैतुन, ससुरा इद्रिसलाई बोलाएका थिए। सकिलले पाँच महीनामा रु.४५ लाख चुक्ता गरी पास गर्छु भन्दै त्यतिञ्जेलसम्म मासिक रु.१० हजार तिर्ने शर्तमा घर भाडामा लिएर दुई महीनामा तीन जनालाई कम्पाउण्डमै गाडेर छिमेकीलाई चाबी दिएर हिंडेको नापी विभागका कर्मचारी रहेका यादव बताउँछन्।

सकिलले मान्छे मार्न लैजाँदा एक जना बराबर २०, २५ हजार रुपैयाँ दिन्छु भन्ने गरेको तर, १० हजार मात्रै दिएको मोहम्मद अलाउद्दिन बताउँछन्। “एक दिन फोन गरेर पैसा माग्दा भरे राति आऊ भन्यो”, उनी भन्छन्, “मलाई पनि मार्छ होला भनेर गइनँ।”

comments powered by Disqus

रमझम