२०-२६ असार २०७२ | 5-11 July 2015

सडकमा दूध खोलामा पनीर

Share:
  

बच्चु विक
दूध बिक्री नभएपछि राजमार्गमा पोखेर विरोध जनाउँदै कञ्चनपुर, सुडाका किसान।
१२ जेठमा सुडा–१, कञ्चनपुरस्थित शुक्लाफाँटा उन्नत गाई भैंसी तथा दुग्ध उत्पादन समितिमा आबद्ध ७० जना किसानले महेन्द्रनगर–अत्तरिया सडकखण्डमा हजारौं लीटर दूध पोखे। १० जेठमा महेन्द्रनगरको पाठक डेरी उद्योगले झ्न्डै रु.८ लाख बराबरको पनीर महाकाली नदीमा फाल्यो। उद्योगका सञ्चालक प्रेम पाठक भन्छन्, “बिक्री नभएपछि नफालेर के गर्ने?”

१२ वैशाखको महाभूकम्पबाट सुदूरपश्चिमको कैलाली र कञ्चनपुरले ठूलो क्षति बेहोर्नुपरेन। भूकम्पकै कारण दुग्ध पदार्थले बजार नपाउँदा कैलाली र कञ्चनपुरका १८ हजार किसान मारमा परेका छन्।

शुक्लाफाँटा गाई भैंसी तथा दुग्ध उत्पादन समितिका अध्यक्ष रघुवीर लेखक महाभूकम्पपछि दुग्ध विकास संस्थान (डीडीसी) ले सम्झौता अनुसार दूध खरीद नगरेर समस्या थपिएको बताउँछन्। समितिसँग आबद्ध ७० परिवारले १३५ वटा गाई पालेका छन्, जसबाट दैनिक ११ सय लीटर दूध उत्पादन हुन्छ। समितिबाट मासिक १२ हजार लीटर दूध किन्ने सम्झौता गरेको अत्तरियास्थित डीडीसीले जेठ महीनामा २९ सय लीटर मात्रै खरीद गर्‍यो। लेखक १४ असारसम्म डीडीसीले ५०० लीटर मात्रै दूध किनेपछि आन्दोलनस्वरुप सडकमा दूध पोखेको बताउँछन्।

अत्तरियास्थित डीडीसी शाखाका प्रबन्धक हेमचन्द्र पौडेल भूकम्पले कलंकीस्थित डीडीसी प्लान्ट चर्किएपछि दुग्ध पदार्थ उपत्यकामा पठाउन नसकिएको बताउँछन्। उनी भन्छन्, “यताको खपतले धान्दैन, उता नपठाएसम्म समस्या रहिरहन्छ।” उपत्यका पठाउने क्रम रोकिएपछि डीडीसीले कैलाली र कञ्चनपुरका गाउँबाट दूध संकलन गर्न रोकेको छ।

कञ्चनपुर, भीमदत्त नगरपालिका–१८ उल्टाखामस्थित नमूना उन्नत भैंसीपालन समूहकी सचिव सीमा जोशी एक–डेढ लाख रुपैयाँ हालेर भैंसी किनेको तर दूध बिक्री नै नहुँदा चिन्ता बढेको बताउँछिन्। कैलाली र कञ्चनपुरमा ४३ वटा यस्ता समूहले उन्नत जातका गाई तथा भैंसी पाल्दै आएका छन्।

'बानी बदलौं'

जिल्ला पशु सेवा कार्यालय, कञ्चनपुरका अनुसार जिल्लामा पशुपालनमा संलग्न ६ हजार ४२६ किसानले दैनिक ७३ हजार लीटर दूध उत्पादन गर्छन्। कैलालीमा १२ हजार किसानले दैनिक एक लाख ५५ हजार लीटर दूध संकलन गर्छन्।

तर, डीडीसी, डेरी उद्योग र स्थानीय बजारमा कुल उत्पादनको आधा दूध पनि खपत हुँदैन। व्यवसायीहरू सरकारले दुग्ध पदार्थको बजार व्यवस्थापनमा ध्यान नदिएको बताउँछन्।

किसानलाई दूध उत्पादनमा राखिराख्न खानपिन, व्यवहार परिवर्तन गर्नुपर्ने पशु सेवा कार्यालय कञ्चनपुरका प्रमुख डा. मदनसिंह धामी बताउँछन्। चाडपर्व, भोजभतेर, सुरक्षाकर्मी, विद्यार्थी, खेलाडी लगायतका समूहमा दुग्ध पदार्थको प्रयोग बढाउन सके बजार स्वतः विस्तार हुने सुझाव दिंदै भन्छन्, “दूध खाने बानी जति बढाउन सक्यो उति स्वस्थ होइन्छ।”

बच्चु बिक, महेन्द्रनगर

comments powered by Disqus

रमझम