१६-२९-पुस-२०६९ | 31-Dec-2012-13-Jan-2013

सोलार, जेनेरेटर र इन्भर्टर उज्यालोका सारथि

Share:
  
- रमेश कुमार/मीना शर्मा
लोडसेडिङको मारले कष्टकर बनेको सर्वसाधारणको दैनिकीलाई विद्युत्का अन्य विकल्पले केही त्राण दिएका छन्।
p42
 
सोलारको भरः ललितपुरको सुन्दरीघाटमा ६५०
किलोवाट क्षमताको सोलार प्रणाली।

भारतबाट थप विद्युत् आयात गर्न नसके यो हिउँदमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण नेपाल विद्युत् प्राधिकरणको छ। विद्युत्को माग करीब एकहजार मेगावाट र आपूर्ति त्यसको आधा मात्र भइरहेको कारण दैनिक १२ घण्टा पुगेको लोडसेडिङ अझ्ै कहालीलाग्दो हुने निश्चित छ। तर पनि ऊर्जा संकटले अँध्यारो बनेको सर्वसाधारणको दैनिकीमा केही उज्यालो छरिरहेका छन्, ऊर्जा व्यवस्थापनका अन्य विकल्पहरू― सौर्य ऊर्जा, जेनेरेटर, इन्भर्टर आदिले।  

ललितपुर, सातदोबाटोका इन्द्रबहादुर बुढाथोकीले रु.७० हजार खर्च गरेर पाँचवटा बत्ती र टेलिभिजन चलाउन मिल्ने सोलार प्रविधि जडान गरेका छन्। बुढाथोकी भन्छन्, “अँध्यारोमै जीवन बित्छ कि जस्तो लागेर यो प्रविधि जडान गरेको हुँ।” काठमाडौंको बालाजु, नेपालटारका नवराज आचार्यले विद्युत् संकटलाई ध्यानमा राखी रु.३४ हजार खर्च गरेर जोरजाम गरेको इन्भर्टरले चार वटा बत्तीसहित ल्यापटप चलाउन, टिभी हेर्न र मोबाइल चार्ज गर्न धानिरहेको छ। आचार्य भन्छन्, “जीवन चलाउनै गाह्रो परेकाले विकल्प खोजेको हुँ।” विकल्प जुटाउन सर्वसाधारण मात्रै अग्रसर छैनन्, ठूला उद्योगदेखि स–साना व्यवसाय तथा कार्यालय समेत लागेका छन्।  
 
ऊर्जा संकटले सिर्जना गरेको अवसर छोप्न सौर्य ऊर्जा, जेनेरेटर र इन्भर्टरका उत्पादक, प्रवर्द्धक र बिक्रेता कम्पनीहरू पनि होडबाजीमा छन्। लोडसेडिङको समस्या केही वर्ष कायमै रहने भएकाले दीर्घकालीन विकल्पका लागि सौर्य प्रणाली जडान गर्न सुझ्ाव दिन्छन्, सोलार सोलुसन्स्का प्रबन्ध निर्देशक राजकुमार थापा। उनी भन्छन्, “एक पटकको लगानीबाट वर्षौं ढुक्क हुने भएकाले सोलार लोडसेडिङका बेला मात्र हैन, जलविद्युत्को विकल्पमा पनि अपनाउन सकिन्छ।”  
 
नवीकरणीय ऊर्जाको गतिलो स्रोत सौर्य ऊर्जा नेपालका लागि वातावरणमैत्री मात्र छैन, आवश्यकता नै बनेको छ। दीर्घकालीन व्यवस्थापन र आर्थिक लाभ दुवै दृष्टिले नवीकरणीय ऊर्जा नै उपयुक्त हुने बताउँछन्, सूर्योदय ऊर्जाका प्रबन्ध निर्देशक नवीन भुजेल। नेपाल सौर्य विद्युत् उत्पादक संघको अध्यक्ष समेत भइसकेका भुजेल भन्छन्, “दुई–तीन वर्षयता सोलार प्रणालीको मूल्यमा व्यापक गिरावट आएकाले यो सस्तो पनि हुँदै गएको छ।”  
p42a
 
जेनेरेटरः उद्योग व्यवसायको भर।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्द पोखरेल चाहिं ग्रीडमा नजोडिएका ठाउँमा विद्युत् पुर्‍याउन, दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्न र वातावरणमैत्री ऊर्जा तथा स्रोत परिचालन गर्न सौर्य ऊर्जालाई प्रबर्द्धन गर्नुपर्ने बताउँछन्। डा. पोखरेल भन्छन्, “सरकारले रु.१ अर्ब लगानी गरे शहरी क्षेत्रका एक लाख घरमा १५० वाटको सौर्य ऊर्जा प्रणाली जडान गर्न सकिन्छ। ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जामा दातृ निकायले पाँच वर्षभित्र रु.१६ अर्ब लगानी गर्दैछन्।”    

बढ्दो माग 
सर्वसाधारणको पहुँचमा आउन थालेपछि पछिल्ला वर्षमा मंसीरको अन्त्यदेखि चैतसम्म सौर्य ऊर्जाको माग निकै बढेको बताउँछन्, क्लिन सोलारका बजार व्यवस्थापक प्रकाश आचार्य। राष्ट्रिय प्रसारण लाइन नजोडिएका गाउँमा मात्र होइन, शहरमा पनि न्यूनतम रु.५ हजारदेखि लाखौं खर्च गरेर सोलार जोड्नेको सङ्ख्या बढ्दो छ। सोलार प्रविधिको उत्पादन, प्रवर्द्धन र जडान गर्ने कम्पनी १५० हाराहारी छन्। देशभर वार्षिक ५० हजार परिवारले औसत रु.४० हजारको दरले सोलार जडान गरे भने रु.२ अर्ब बढीको कारोबार हुन्छ।  
 
हाल देशभर करीब तीन लाख ५० हजार परिवारले सौर्य विद्युत् प्रयोग गरिरहेको व्यवसायीहरूको अनुमान छ। गाउँमा सामान्यतया चार वटा जति बत्ती बल्ने प्रणाली जडान गरिएका छन् भने शहरमा टुकी सोलारदेखि घरै झ्िलिमिली बनाउने र टिभी, कम्प्युटर चलाउनेसम्मका। करीब रु.८० हजारदेखि रु.१ लाख ५० हजारसम्मको खर्चमा ६ वटा बत्ती, कम्प्युटर र टेलिभिजन चलाउने सोलार प्रविधि जडान गर्न सकिने व्यवसायीहरू बताउँछन्। सन रे इनर्जीका प्रबन्ध निर्देशक राजेन्द्र कार्की भन्छन्, “यो लगानी नाति पुस्तासम्मका लागि हो।” काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ललितपुरको सुन्दरीघाटमा ६५० किलोवाट क्षमताको सोलार प्रणाली स्थापना गरेर पानी तानिरहेकोे र आफूलाई नचाहिने बेला उत्पादन हुने बिजुली ग्रीडमा जोडेर नेपाल विद्युत् प्राधिकरणलाई प्रति युनिट रु.५.१२ मा बिक्री गरिरहेको छ।  
p42b
 
 

सौर्य ऊर्जाबाट ताप र प्रकाश दुवै किसिमको ऊर्जा प्राप्त हुन्छ। सौर्य ऊर्जा उत्पादनका दृष्टिले नेपाल संसारमै उच्च सम्भावनायुक्त मुलुक मानिन्छ। नेपालमा वर्षको ३०० दिन औसत १०–१२ घण्टा घाम लाग्छ। घाम नलागेको बेलालाई पनि ब्याट्री चार्ज गर्न सोलार प्रविधिलाई हाइब्रिड रूपमा समेत प्रयोग गर्न थालिएको छ, सोलार प्यानलसँगै आवश्यक परेको बेला इन्भर्टरको सहयोगले बिजुलीबाट पनि ब्याट्री चार्ज गर्न सकिने गरी। 

नेपालमा सोलार वाटर हिटर चार दशक अघिदेखि प्रयोगमा आएको हो भने सोलार विद्युत्को प्रयोग वि.सं. २०५० को दशकबाट व्यापक भएको हो। सरकारी नीति सोलारमैत्री भएमा यसको विस्तारको सम्भावना धेरै भएको व्यवसायीहरू बताउँछन्। सन रे इनर्जीका प्रबन्ध निर्देशक कार्की भन्छन्, “शहरी क्षेत्रमा सोलार राख्नका लागि सरकारले रु.१ अर्ब सरल ऋण दिने हो भने पाँच महीनाभित्र सौर्य ऊर्जाबाट ३० मेगावाट विद्युत् उत्पादन हुन्छ।”  
 
नेपाल विद्युत् प्राधिकरणका करीब २० लाख ५० हजार उपभोक्तामध्ये ९५ प्रतिशत घरेलु उपभोक्ता छन्। घरेलु उपभोक्तालाई चाहिने बिजुलीको आवश्यकता सौर्य विद्युत्ले पूरा गर्न सक्ने भएकाले सरकारले यसका लागि अनुकूल नीति बनाउनुपर्ने व्यवसायीहरूको धारणा छ। अल्ट्रा समूहका प्रबन्ध निर्देशक केआर खनाल शहरी क्षेत्रमा बन्ने घरको नक्शा पास गर्दा नै सौर्य विद्युत् जडान गर्नुपर्ने नियम बनाउन सके लोडसेडिङलाई धेरै हदसम्म घटाउन सकिने बताउँछन्।  
 
सोलार प्यानलबाट विद्युत् मात्र होइन, पानी तताउने प्रविधि पनि लोकप्रिय छ। ३५ वर्षदेखि सोलार थर्मल सिस्टम बिक्री गरिरहेको महर्जन मेटल इण्डष्ट्रिजका अनिल महर्जन वार्षिक ७०० सोलार थर्मल सेट बिक्री भइरहेको बताउँछन्। उनको कम्पनीले हटपट ब्राण्डमा दुई वर्षको ग्यारेन्टीसहित सोलार थर्मल सिस्टम बिक्री गरिरहेको छ। महर्जनका अनुसार, घामबाट पानी तताउने प्रविधि ३५ वर्ष ढुक्कले चल्छ।  
 
सोलार प्रविधिले ऊर्जाको किफायती, दीर्घकालीन र हरित विकल्पलाई अघि सारेसँगै यसलाई ठगी धन्दा बनाउने क्रम पनि मौलाएको छ। सस्तोको नाममा परीक्षण नगरिएका कम गुणस्तरका सोलार प्यानल, ब्याट्री र उपकरणहरू बजारमा छ्याप्छ्याप्ती भेटिएको भिलेज सोलुसन्स्का समन्वयकर्ता नन्दु भण्डारी बताउँछन्। भण्डारीका अनुसार, उनको कम्पनीले गुणस्तर कायम राख्न सोलारको सर्किट बोर्ड नेपालमै उत्पादन गरेको छ। उनी भन्छन्, “गाउँमा जाने सोलार प्यानल अधिकांश अनुदानको भएका कारण गुणस्तर प्रमाणित गरिएका हुन्छन्, कमसल सामानको जोखिम शहरमा बढी छ।”      
                                                                                                                                                                                                                                        
विविध जेनसेट   
लोडसेडिङले व्यवसायको गति नै रोकिने भएपछि जेनसेट (जेनेरेटर) जडान गर्नु व्यवसायीहरूको बाध्यता बनेको छ। बढ्दो लोडसेडिङबाट पार पाउन घरेलु प्रयोगका लागि सोलार, इन्भर्टर/होम यूपीएस आदिको प्रयोग सम्भव भए पनि ठूला उद्योग, कलकारखाना, ब्याङ्क तथा वित्तीय संस्था, सूचनाप्रविधि कम्पनी, डिपार्टमेण्ट स्टोर, संघसंस्था, कार्यालय, हाउजिङ तथा अपार्टमेन्टका लागि जेनेरेटर भरपर्दो विकल्प भएका छन्। शहरमा कम क्षमताका सानादेखि ठूला मोडलका दशौं हजार जेनेरेटर बिक्री भएका छन्। नेपाली बजारमा भारत, चीन, जर्मनी, बेलायत, जापान लगायतका देशका जेनेरेटर पाइन्छन्। 
 
लोडसेडिङका कारण पछिल्लो समय साना क्षमताका जेनेरेटरको माग बढेको किर्लोस्कर ब्राण्डको जेनेरेटर बिक्री गरिरहेको एलिमेक इन्टरनेशनलका प्रबन्ध निर्देशक जीवन चन्द बताउँछन्। उनी भन्छन्, “लोडसेडिङका कारण इन्भर्टरले ब्याट्रीसमेत चार्ज गर्न नसक्ने हुनथालेकोले सानो पावर चाहिनेले समेत जेनेरेटर राख्नुपर्ने भएको छ।” एलिमेकले ५ केभीएदेखि ६२५ केभीए क्षमतासम्मका किर्लोस्कर जेनेरेटर बिक्री गर्छ। किर्लोस्कर ब्लिसको जेनसेट बिक्री गरिरहेको हिमाल रेफ्रिजेरेशनका प्रबन्ध निर्देशक कमलकुमार चौधरी सर्वसाधारणले गुणस्तरमा ध्यान पुर्‍याउनुपर्ने बताउँछन्। व्यापारिक र औद्योगिक प्रयोजनमा १०० केभीएमाथिको जेनसेट प्रयोग भए पनि साना र मध्यम खालका जेनसेट बढी बिक्री भएको उनी बताउँछन्।  
p43
 
 
बजारमा १ देखि २५ केभीएसम्मका जेनेरेटर बढी बिक्री भइरहेका छन्। पद्मश्री ग्रुपको शुभ पद्मश्री इन्टरप्राइजेजका प्राविधिक–बजार कार्यकारी महेश ढकाल लोडसेडिङका कारण जेनसेटको माग ह्वात्तै बढेको बताउँछन्। शुभश्रीले जर्मनीका एग्रेटेक र डच ब्राण्डका जेनेरेटर बिक्री गर्छ। मोरङ अटो वर्क्सका सहायक बिक्री प्रबन्धक अशोक पन्त वर्षेनि यामाहा र ग्रिभ्स ब्राण्डका जेनेरेटर एक हजारको संख्यामा बिक्री भइरहेको बताउँछन्। ज्योति समूहको स्याकार कम्पनीले बिक्री गरिरहेको होण्डा ब्राण्डको ३५० भीएदेखि ५.५ केभीए क्षमताका जेनसेटको मूल्य रु.३५ हजार ७०० देखि रु.४ लाखसम्म पर्दछ।  
 
जेनेरेटर वाटरकुल र एयरकुल गरी दुई प्रकारका हुन्छन्। वाटरकुल जेनेरेटरको इन्जिनलाई पानीले चिसो बनाउँछ भने एयरकुललाई हावाले। नेपाली बजारमा पेट्रोल, डिजल र ग्याँसबाट चल्ने किर्लोस्कर, ग्रिभ्स, कोल्हर, एग्रेटेक, डच, महिन्द्रा, होण्डा, यामाहा लगायत अनेकौं ब्राण्डका जेनेरेटर पाइन्छ। श्रीम्यान ब्राण्डको जेनेरेटर बिक्री गर्दै आएको पोखरास्थित गौतम इलेक्ट्रोनिक्सका ओमकार गौतम भन्छन्, “सस्तोको लोभमा कमसल जेनेरेटर खरीद गरे लामो अवधि काम नगर्न सक्छ।”  
p43a
 
 

अधिकांश कम्पनीले जेनेरेटरमा वारेन्टी र बिक्रीपछिको सेवा दिने गरेका छन्। यूजीआई इन्टरनेशनलका पीके सरकार भन्छन्, “५ हजार घण्टासम्म सञ्चालनको दुईवर्षे वारेन्टी मात्र हैन बिक्रीपछि मर्मत सेवा पनि दिन्छौं।” यूजीआईले अशोक लेल्याण्ड, भोल्भो पेन्टा र पर्किङ्ग्स ब्राण्डका इन्जिनयुक्त जेनसेट बिक्री गर्छ। यामाहा र ग्रिभ्स ब्राण्डका जेनसेट बिक्री गरिरहेको मोरङ अटो वर्क्सका सहायक प्रबन्धक पन्त विराटनगर, वीरगन्ज र काठमाडौंमा बिक्रीपछिको सेवाका लागि इन्जिनियर राखिएको र काठमाडौंमा एक घण्टाभित्र मर्मतका लागि हटलाइनसहित मोबाइल भ्यानको व्यवस्था गरिएको बताउँछन्।  

होम युपीएस  
सरकारले इन्भर्टर (होम युपीएस) आयातमा प्रतिबन्ध लगाए पनि लोडसेडिङले दैनिकी अस्तव्यस्त भएका सर्वसाधारणको ध्यान इन्भर्टरतिर पनि आकर्षित भएको छ। हाल बजारमा भारत, चीन, ताइवान, हङकङ, सिंगापुर लगायतका देशबाट भित्रिने रु.२ हजार भन्दा बढी मूल्यमा इन्भर्टरहरू पाइन्छन्। गोल्छा समूहको हुलास पावरका प्रबन्धक प्रितम काफ्ले लोडसेडिङ बढिरहेकाले होम युपीएसको वार्षिक बजार ३० प्रतिशतले बढिरहेको बताउँछन्। काफ्लेका अनुसार नेपालमा वार्षिक करीब रु.१ अर्ब ५० करोडको होम युपीएसको कारोबार हुन्छ।  
 
इन्भर्टर आयातमा प्रतिबन्ध लागेपछि व्यवसायीहरूले विदेशबाट ब्याट्री र अन्य पार्टपुर्जा छुट्टाछुट्टै ल्याएर नेपालमा होम युपीएसको रूपमा बिक्री गरिरहेका छन्। सुक्याम, लुमिनस, एक्साइड आदि चल्तीका ब्राण्ड हुन्। लुमिनस ब्राण्डको होम युपीएस र एक्साइड ब्याट्री बिक्री गरिरहेको सिप्रदी इनर्जीका प्रमुख प्रेम न्यौपाने भन्छन्, “इन्भर्टर र ब्याट्री मात्र भनेर हुँदैन, ब्राण्ड हेर्नै पर्छ।”  
 
एउटा घरमा ६ वटा बत्ती बाल्न, टेलिभिजन र कम्प्युटर चलाउन करीब रु.३५ हजारमा होम युपीएस जडान गर्न सकिने हुलास पावरका प्रबन्धक काफ्ले बताउँछन्। बजारमा सामान्यतः ६५० भीएमाथिका इन्भर्टर छन्। आवश्यकता अनुसार यसको क्षमता बढाउन सकिन्छ। इन्भर्टरका लागि ब्याट्रीको माग बढेपछि अग्नि इन्कर्पोरेटेडले बजारमा बेस ब्राण्डको नयाँ ब्याट्रीको बिक्री शुरू गरेको छ। कम्पनीका बजार प्रमुख ज्ञान चाम्लिङका अनुसार, बेस ब्राण्डका २.५ एम्पियरदेखि १५० एम्पियरसम्मका ब्याट्री उपलब्ध छन्।  
 
ऊर्जा संकट बढिरहेका बेला विद्युत् जोगाउन टफ स्टफ नेपाल प्रालिले आगामी फागुनदेखि एलईडी लाइट बजारमा ल्याउँदैछ। यसअघि आएका सीएफएल चिमको तुलनामा एलईडी लाइटबाट ३० प्रतिशत बढी बचत गर्न सकिने कम्पनीका सशाङ्क थापाको दाबी छ। 

 

comments powered by Disqus

रमझम