१९ असार (४ जुलाई) मा काठमाडौंको बसन्तपुर, ठमेल, दरबारमार्ग र ललितपुरको झ्ाम्सिखेलमा 'फ्रि हग्स्' अर्थात् 'सित्तैंमा अँगालो' अभियान चल्यो। त्यहाँ केही युवा हातमा 'फ्रि हग्स्' लेखेको प्ले कार्ड सहित बाटोमा उभिएका थिए। र, पैदल यात्रीसँग अँगालो मार्दै 'तपाईंको दिन शुभ होस्' भनिरहेका थिए। शुभेच्छा सहित यात्रु मुस्कुराउँदै बाटो लागेको श्रव्य–दृश्य युट्युबमा हेर्न सकिन्छ।
“जुलाइको पहिलो शनिबार अन्तर्राष्ट्रिय 'फ्रि हग्स् डे' हो”, हगिङ अभियानका स्पन्दन मरासिनी (१७) भन्छन्, “हामीले यो दिवस मनाएको पाँच वर्ष भइसक्यो।” अष्ट्रेलियाली जुआन म्यानले सन् २००४ मा 'फ्रि हग्स्' अभियान थालेका थिए, जुन अहिले विश्वभर फैलिंदो छ।
तर, विदेश र नेपालमा यसको शैली फरक छ। विदेशमा सामान्य लाग्ने गर्लम्म अँगालो हामीकहाँ भने विवाहमा आमा–छोरी, दिदीबहिनी र दुःखमा परिवारका सदस्यलाई सहानुभूति दिन प्रयोग भएको पाइन्छ। सामान्य अँगालोको नेपाली अभ्यास आफ्नै तरीकाको छ। नेपालीहरू हग गर्दैनन् बरु अँगालो मार्छन्। अँगालो मारेर सँगसँगै हिंड्न पनि सक्छन्।
स्पन्दन र उनका दाजुले जुआनकै भिडियो हेरेर 'फ्रि हग्स्' बारे थाहा पाएका र सन् २०११ देखि नेपालमा यसको सुरुआत गरेका थिए।
दिनभरमा एक हजारभन्दा बढीसँग अँगालो मारेका आर्यनले अनेकथरी मान्छेसँग अन्तरक्रिया गर्न पाउँदा रमाइलो लागेको बताए। “धेरै मान्छेलाई हगको अर्थै थाहा रहेनछ”, उनी भन्छन्, “कसैले हगलाई हाउस (घर) भन्ठाने भने कोही त 'फ्रि हग' अर्थात् 'सित्तैंमा दिसा गर' भन्ने सम्झेर 'कहाँ गर्ने?' भन्दै सोध्थे।” 'फ्रि' शब्दले भने धेरैलाई आकर्षित गरेको समूहको बुझाइ छ। 'के फ्रि हो?' भन्दै सिरिगतिर आएकी अधबैंसे महिलाले अँगालो मार्न पाइने थाहा पाएपछि 'तमिज नभएको' भन्दै झ्ापार्न थालिन्। झोंछेका नेपाली भाषा नबुझ्ने स्थानीयलाई रौनकले नेपाल भाषामा आधा घण्टा लगाएर अभियानबारे बुझाउनु परेको थियो।
आफ्नो अभियानलाई अधिकांशले रुचाएको पाएपछि समूह हौसिएको छ। अष्टे्रलिया लगायत देशमा जुलाईको पहिलो शनिबारदेखि अगष्टको पहिलो सातासम्म मनाइने यो दिवस नेपालमा पनि एक महीना नै मनाउनेबारे उनीहरू सोचिरहेका छन्। तर, यो अभियान अरूले पनि थाल्नुपर्ने स्पन्दनको भनाइ छ। उनी भन्छन्, “यो साल हामीले गर्यौं। अर्को वर्ष अरूले गरे हामीलाई खुशी लाग्छ।”
सजना बराल