३‍-९ साउन २०७२ | 19-25 July 2015

पहिले पार्किङ

Share:
  
पार्किङ शहरकै समस्या बन्न थालेको छ। त्यसैले घर बनाउनु पहिल्यै पार्किङ क्षेत्रबारे सोच्नु बुद्धिमानी हुन्छ।

गोपेन राई
डेरामा स्कुटर राख्ने ठाउँ नभएपछि राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसकी विद्यार्थी मनिषा शर्मा (२४) सानोभर्‍याङबाट हालै माछापोखरी सरेकी छन्। नयाँ घरमा ठूलो आँगन भएकाले सवारी थन्क्याउन सजिलो छ। तर, खुला ठाउँमा राख्दा स्कुटर घाम/पानीबाट जोगिएको भने छैन। “दिनभरि घाममा राखेकाले स्कुटरको रङ खुइलिन थालेको छ”, उनी भन्छिन्, “पानीले भिजेपछि स्टार्ट बन्द हुने, घ्यार्–घ्यार् आवाज आउने समस्याले हैरान पारेको छ।”

रातोपुलका खोमनाथ ढकाल (४४) ले भने भुईंतलाको एउटा कोठालाई नै 'पार्किङ रुम' बनाएका छन्। “दश वर्षअघि यो घर बनाउँदा आफूसँग गाडी थिएन”, साढे दुईतले घरका मालिक उनी भन्छन्, “अहिले गाडी किनें। राख्ने ठाउँ नभएपछि एउटा कोठा फुटाउनु पर्‍यो।”

पहिले शानका रुपमा लिइने सवारी अहिले साझा आवश्यकता बन्न थालेको छ। गाडी अधिकांशको प्राथमिकतामा पर्न थालेको छ। एउटै घरमा परिवारको सदस्य अनुसार कार, जीप, मोटरसाइकल हुनु अब सामान्य भइसकेको छ।

निजी सवारी साधनको प्रयोग बढ्नुमा मानिसको व्यस्तता सिर्जित आवश्यकताका साथै सार्वजनिक सवारीको अव्यवस्था प्रमुख कारण हो। पर्याप्त र भरपर्दो सार्वजनिक सवारीको अभावमा बढेका निजी सवारीले शहरमा ट्राफिक जाम, प्रदूषण लगायत अनेक समस्या थपेका छन्। बलियो विकल्प नहुँदासम्म शहरवासीले यी सबैबाट पार पाउने देखिंदैन।

वास्तविकता के हो भने मानिससँगै सवारीको चाप बढे पनि जमीनको क्षेत्रफल बढ्दैन। यस्तोमा, घरमा पार्किङ स्थल समस्याको रूपमा देखिन थालेको छ। “अग्ला–अग्ला घरमा समेत पार्किङका लागि अलिकति ठाउँ छुट्याइएको हुँदैन”, मनिषा भन्छिन्।

आर्किटेक्ट इनु प्रधान घर बनाउँदा नै पार्किङ क्षेत्र निर्माण गर्नुपर्ने बताउँछिन्। “डिजाइन अनुसारको ग्यारेज बनाउँदा घर पनि सुन्दर देखिन्छ”, उनी भन्छिन्, “सवारी सुरक्षित त हुने नै भयो।” वरिपरि कम्पाउन्ड हुनेले घरकै छेउमा सानो टहरो बनाएर पनि मोटर थन्क्याउन सक्छन्। यद्यपि, आर्किटेक्टहरू घरभित्रै ग्यारेज बनाएको सही मान्छन्।

पार्किङ ग्यारेज बनाउँदा सडक वा घरको गेटबाट सीधा अगाडि पर्ने गरी बनाउनुपर्छ। घरको दक्षिणतर्फ ग्यारेज बनाइयो भने घाम छेकिनाले कोठा अँध्यारो र ओसिलो हुने आर्किटेक्ट प्रधानको भनाइ छ।

रातोपुलका ढकाललाई पनि अहिले पछुतो छ। भुईंतलामा ५ह३ मीटर क्षेत्रफल छुट्याएर एउटा गाडी र दुइटा मोटरसाइकल अट्ने पार्किङ बनाउनु उपयुक्त हुने बताउँदै भन्छन्, “वेलैमा बुद्धि पुर्‍याएको भए घर भत्काइरहनुपर्ने थिएन।”
ग्यारेजमा मोटर धुन र आगलागी दुर्घटनाबाट बच्न पानीको आपूर्ति र निकासको व्यवस्था गर्नुपर्छ। आर्किटेक्ट प्रधान तीनतिर भित्ता र एकापट्टि मात्रै खुला गरी बनाएका ग्यारेजको पछाडिपट्टिको भित्तामा चम्किलो रङ लगाउन सुझाव दिन्छिन्। यसले गाडी पछाडि सार्दा भित्तामा ठोक्किनबाट सजग गराउने उनको तर्क छ। अन्डरग्राउन्ड पार्किङ बनाइएका ग्यारेजमा चिम्नी जडान गरे भित्रको धुवाँ बाहिरिन पाउँछ।

हाइ–टेक ग्यारेज

घरको पार्किङ क्षेत्रलाई प्रविधिसम्पन्न बनाउनु उत्तम उपाय हो। तर, यो अलि खर्चिलो हुन्छ। रिमोट कन्ट्रोल सटर, पार्किङ म्याट, पार्किङ सेन्सर किट, सीसीटीभी आदि जडान गर्न सकिन्छ। रिमोट कन्ट्रोल सटर राख्दा सवारी चोरी सम्भावना न्यून हुन्छ भने प्रत्येक पटक भित्र–बाहिर गर्दा ओर्लिएर सटर खोल्ने–बन्द गर्ने गर्नुपर्दैन। पार्किङ म्याटले मोटरलाई चिप्लन दिंदैन। सधैं एकै स्थानमा सवारी राख्न पनि म्याट उपयोगी हुन्छ। ग्यारेजमा पार्किङ सिग्नल, पार्किङ लेजर जस्ता सामग्री राख्दा घरका अन्य सदस्यलाई समेत मोटर पार्क गर्न सजिलो हुन्छ। ग्यारेजमा सीसीटीभी राख्नु मोटर चोरीबाट बच्ने सबैभन्दा गतिलो उपाय हो। आर्किटेक्ट प्रधान भन्छिन्, “चोर आएमा सवारी–धनी तल झर्नुभन्दा माथिबाटै प्रहरीलाई खबर गर्न सकिन्छ।”

प्रस्तुति : सजना बराल

comments powered by Disqus

रमझम