टोखा, काठमाडौंकी सुनिता श्रेष्ठ (३३) साङ्लाबाट आजित छन्। साङ्ला हटाउन उनले अनेक प्रयत्न गरिन्। “घरभरि साङ्ला मार्ने चकले कोरें, हिट छर्कें, दूधमा विष हालेर पनि राखें” उनी भन्छिन्, “जे गरे पनि साङ्लाले सताउन छाडेन।” भान्सा, शौचालय, शयन कक्ष जताततै साङ्ला दौडिएको देख्दा असाध्यै दिक्क लाग्ने उनी बताउँछिन्।
टेकुस्थित स्वास्थ्य सेवा विभागमा कार्यरत डा. वासुदेव पाण्डे कीरा–फट्यांग्राले घर फोहोर हुनुका साथै रोग सार्ने सम्मको खतरा रहेको बताउँछन्। “राति उडुस–उपियाँले टोकेर सुत्न नपाउँदा असाध्यै तनाव हुन्छ”, उनी भन्छन्, “कहिलेकाहीं त अस्पताल नै पुग्नुपर्ने हुन सक्छ।”
सफाइ सूत्र
घरमा कीराको बिगबिगी भइसकेको अवस्थामा चाहिं संख्या घटाउन तिनका खानेकुरा र पानीको स्रोत बन्द गर्नुपर्छ। यसका लागि मूल ढोकाभन्दा बाहिरै फोहोर जम्मा गर्ने, कार्पेट वा सुकुल वेला–वेला टकटक्याइरहने, सामान एकै ठाउँमा नथुपार्ने जस्ता सामान्य कुरामा ध्यान दिएमा पनि कीरा–फट्यांग्रा कम हुँदै जान्छन्।
घरका कीरा मार्न अधिकांशले रसायनयुक्त जेल, स्प्रे, पाउडर आदि प्रयोग गर्छन्। यस्ता विषादिले कीराको संख्या घटाए पनि प्रयोगकर्ताको स्वास्थ्य र वातावरणमा असर पार्छ। त्यसैले कीटनाशक औषधिको साटो सफाइमै जोड दिनुपर्ने डा. पाण्डेको आग्रह छ। “कीराहरू फोहोरकै कारण उत्पन्न हुने हुन्”, उनी भन्छन्, “त्यसैले घर सफा, उज्यालो र औसत तापक्रममा राख्न जरुरी छ।” कीरा–फट्याङ्ग्रालाई पासो (ट्रयाप) मा पारेर मार्ने थुप्रै तरीका छन्। माउस–ट्रयाप, जार ट्रयाप, लाइट ट्रयाप आदिको प्रयोगबाट मुसा र अन्य कीरा–फट्यांग्रालाई समात्न सकिन्छ।
कीरा–फट्याङ्ग्रा उत्पन्न समस्या समाधानका सम्पूर्ण उपाय सफाइसँगै जोडिएका हुनाले आफू, घर र नजिकको वातावरण सफा राख्नु नै आक्रमणबाट जोगिने सबैभन्दा ठूलो अस्त्र हो।
प्रस्तुतिः सजना बराल