१७-२३ साउन २०७२ | 2-8 August 2015

पहिरोको चेतावनी

Share:
  
पश्चिममा पहिरोले पुर्‍याएको क्षतिले बाँकी देशलाई समयमै सावधानी अपनाउन चेतावनी दिएको छ।

अनलाइन तस्वीर
कास्कीको लुम्लेमा पहिरोमा परेकाको खोजी गरिंदै।
१३ साउन रातिको पहिरोमा परी कास्कीमा ३२, म्याग्दीमा दुई र बाग्लुङमा एक जनाको ज्यान गइसकेको छ। पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेश थपलियाका अनुसार पहिरोमा परी घाइते २० जनाको उपचार भइरहेको छ भने १३ जना अझै हराइरहेका छन्, जसमा कास्कीमा आठ र म्याग्दीमा पाँच जना छन्।

यस वर्ष महाभूकम्पपछि पहिरोकै कारण धेरैले ज्यान गुमाएको गृह मन्त्रालयको विपत् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ। शाखाका अनुसार गएको वैशाख यता पहिरोका कारण २७ जिल्लामा ८५ जनाको ज्यान गएको छ। ४१ जना हराइरहेका छन् भने ३४८ परिवार पहिरोबाट प्रत्यक्ष प्रभावित भएका छन्।
कास्की, म्याग्दी र बाग्लुङको पहिरोको मुख्य कारक अत्यधिक वर्षा भएको जानकारहरू बताउँछन्। जलाधारविद् मधुकर उपाध्या धेरै पानी परेपछि जमीनको सतह पग्लिएर लेदो बग्दा क्षति पुगेको बताउँछन्। उनी भन्छन्, “यो जमीन चिरिएर गएको गहिरो पहिरो भने होइन।”

हुन पनि १३ साउनमा कास्कीको लुम्लेमा २४ घण्टामा २२८ मिलीमिटर पानी परेको थियो। २७ जेठमा ताप्लेजुङको खोक्लिङ, लिवाङ, खाम्लुङ, सान्थाका, थिङलाबु र लिङतेप गाविसमा पहिरो जाँदा ३९ जनाको मृत्यु भएको थियो। २० जना अझै भेटिएका छैनन्। ताप्लेजुङ पहिरोको कारण पनि वर्षा नै भएको उपाध्या बताउँछन्। देशका अन्य भागमा पहिरोको खतरा टरिनसकेको उनको भनाइ छ।

कमजोर जमीन, लगातारको मुसलधारे वर्षा, नदीहरूको प्रकृति र हिमतालहरूका कारण नेपाल बाढी पहिरोका लागि उसै पनि जोखिमयुक्त मानिन्छ। त्यसमाथि १२ वैशाखको महाभूकम्प र त्यसपछिका ३६५ भन्दा बढी कम्पनका कारण जमीनको संरचना खल्बलिएको छ। एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सरकारलाई बुझाएको 'जिओहाजार्डस् इन द आफ्टरम्याथ अफ २५ अप्रिल २०१५ अर्थक्वेक रिपोर्ट' मा पनि देशका विभिन्न भागमा पहिरोको जोखिम बढेको उल्लेख छ।

तर, जानकारहरू भने मानवीय व्यवहारकै कारण जोखिम बढेको बताउँछन्। पहिरो थुप्रिएको माटोमा बस्ती बस्नु, वन विनाश, विस्फोट गरी बनाइने सडक, ठूला भवन निर्माणमा लापरवाही, अवैज्ञानिक खेती आदि क्षतिका कारण हुन्।

पहिरो जाने निश्चितप्रायः भएकाले सरकारले वेलैमा तयारी गर्नुपर्ने उपाध्याको सुझ्ाव छ। उपाध्या भने बाढीपहिरोबाट डाँडापाखा मात्रै होइन शहर समेत सुरक्षित नरहेको बताउँछन्। दुवैतिर तारजाली बाँधी खोला साँघुरो पारेर बसालिएका बस्तीमा खतरा बढी भएको उनको भनाइ छ।

क्षेत्रीय प्रशासक थपलिया जोखिमका संभावित स्थानहरूमा सूचित गर्नुका साथै उद्धार तथा राहतमा कुनै कमी नहुने गरी तयारी गरेको दाबी गर्छन्। यसअन्तर्गत जोखिमयुक्त बस्तीवासीलाई सुरक्षित स्थानमा सार्ने काम थालिसकिएको उनी बताउँछन्।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम