१७-२३ साउन २०७२ | 2-8 August 2015

ढुसीको हैरानी

Share:
  
ओसिलोपन र ढुसीले घरलाई कुरुप बनाउने मात्र होइन, श्वासप्रश्वासको समस्या पनि निम्त्याउँछन्।

बढ्दो शहरीकरणसँगै घरको स्वरुप पनि परिवर्तित भइरहेको छ। ढुंगा, माटो र काठ जस्ता घर निर्माण सामग्रीको स्थान सिमेन्ट, छड, ईंटा आदिले लिन थालेका छन्।

ढुंगा–माटोको तुलनामा पक्की घरहरू बलिया र सुरक्षित हुनुका साथै आधुनिक पनि देखिने हुँदा यस्ता घरले गाउँलाई पनि लोभ्याएको छ। सक्नेहरू गाउँमा पनि कंक्रिट भित्र्याइरहेका छन्। तर, बनाउन नजाने यही कंक्रिटका घरले कुन हदसम्मको विनाश गर्छ भन्ने पाठ पढाउन १२ वैशाखको महाभूकम्प गतिलो पाठ बनेको हुनुपर्छ।

असर र उपचार

पक्की घरमा ओसिलोपन (ड्याम्पनेस) को समस्या अस्वाभाविक होइन। यो समस्याले घरका भित्ता, भर्‍याङको तल्लो भाग, सिलिङ, शौचालय वा भान्साकोठा छेउको भित्ता, घरको पेटी आदिमा टाटा देखिने, रङ खुइलिने र सिमेन्ट नै उप्किने गर्छ। वर्षायाममा यो समस्या झानै बढी हुने अनुभव छ स्वयम्भूकी देवु राई (४१) सँग। “पाहुना कोठाको भित्तैभरि टाटा–टाटी छन्”, निर्वाण विद्यालयकी शिक्षिका राई भन्छिन्, “यसले कोठाको रुप नै बिग्रिएको छ।”

ओसिलोपन बेवास्ता गरे यसले कालान्तरमा घरको संरचनालाई नै असर पार्ने स्ट्रक्चरल इन्जिनियर डा. हरिराम पराजुली बताउँछन्। ओसिलोपनका थुपै्र कारणप्रति सचेत हुनुपर्नेमा जोड दिंदै उनी घरका नालाबाट पानीको चुहिंदा, छत, बार्दली, पेटी आदिमा पानी जम्नाले यस्तो समस्या देखिने बताउँछन्। “पानीको चुहावट रोकी घरलाई भित्र र बाहिर दुवैपट्टि रङ लगाएमा समस्याबाट पार पाउन सकिन्छ”, पराजुली भन्छन्।

ओसिलोपन देखिने वित्तिकै 'मोइस्चर मिटर'को सहायताले घरको आर्द्रता नापी उपचार थाल्नुपर्छ। कमसल रङ, सिमेन्ट वा ईंटाले घरलाई ओसिलो हुनबाट बचाउँदैन। तर, गुणस्तरीय रङले भित्ता, सिलिङलाई घाम–पानीबाट जोगाउन ठूलो भूमिका खेल्छन्। ओसिलोपन भुईंतलामा बढी हुने हुँदा तला उठाउनुअघि अनिवार्य ड्याम्प प्रुफ कोर्स (डीपीसी) गर्न भुल्नुहुन्न।

जतिसुकै रङ लगाए पनि ओसिलोपन कम हुँदैन। घरका ईंटा पुराना भएमा वा फुटेमा पनि यस्तो हुने गर्छ। डीपीसी बिग्रियो भने घरको पेटीदेखि नै सिमेन्ट उप्किन थाल्छ। यस्तो वेला पानी निरोधक पदार्थ (वाटर–रिपेलन्ट फ्लुड) लगाउनु उपयुक्त हुन्छ। गुणस्तरीय पेन्टहरूमा पनि घाम–पानी प्रतिरोधात्मक तत्व मिसाइने हुँदा ती रङले घरको सुरक्षा गर्छन्।

भान्साकोठा, शौचालय जस्ता पानीको बढी प्रयोग हुने ठाउँलाई सुक्खा राख्नुपर्छ। पंखा, एसी आदि जडान गर्ने वा झ्याल खोल्दिनाले पनि कोठा गुम्सिन पाउँदैन। कोठाको तापक्रम स्थिर राख्न फूल–बिरुवा लगाउन सकिन्छ। “घरलाई ड्याम्प–प्रुफ गर्ने थुप्रै विधि छन्”, डा. पराजुली भन्छन्, “डीसीपी, रङरोगन जस्ता विधिमा घर बनाउँदै होश पुर्‍याए अतिरिक्त खर्च हुँदैन।”

सन् २००९ मा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले ओसिलोपन र ढुसीको समस्या भएका घरमा दम र एलर्जी जस्ता समस्या देखिने जनाएको छ। 'यस्तो समस्या प्रायः बालबालिका र ज्येष्ठ नागरिकमा देखिन्छ', अध्ययनमा भनिएको छ।

घरको आन्तरिक सजावटमा संलग्न रेश्मा प्रधानका अनुसार ओसिलोपनले बिग्रिएका भित्तामा वाल–पेपर टाँस्नुका साथै फोटो–फ्रेम, क्यानभास आदि झुन्ड्याउन सकिन्छ। यसले कोठालाई कुरुप देखाउनबाट जोगाउँछ।

प्रस्तुतिः सजना बराल

comments powered by Disqus

रमझम