३१ साउन - ५ भदौ २०७२ | 16-22 August 2015

कोठा विभाजनः एउटैमा अनेक

Share:
  
इन्टेरियर डिजाइनर कल्पना भट्टचनको घरमा प्रयोग गरिएको काठको रुम डिभाइडर।

ललितपुर, धोबिघाटस्थित क्लासिक इन्टेरियर्सकी कल्पना भट्टचनले घरको भर्‍याङछेउ कोठा विभाजक (रुम डिभाइडर) राखेकी छन्। बैठक कोठाकै सामुन्नेको ह्वाङ–ह्वाङ खाली ठाउँ भएकाले त्यसलाई छोप्न उनले कोठा विभाजन गर्ने निर्णय गरेकी हुन्। “काठको प्यानल डिभाइडर बनाएकी छु”, उनी भन्छिन्, “यो राखेपछि भर्‍याङमुनिको खाली ठाउँ भण्डारणका लागि प्रयोग गर्न सजिलो भएको छ।” उक्त डिभाइडरले डाइनिङ र लिभिङ रुम छुट्याउन उनलाई सजिलो समेत भएको छ।

कोठालाई व्यवस्थित बनाउनदेखि गोपनीयताका लागि समेत कोठालाई विभिन्न भागमा बाँड्न सकिन्छ। एउटै कोठामा विभिन्न खण्ड निकालिने यो विधि (पार्टिशन) भाडामा बस्नेहरूका लागि निकै उपयोगी हुन सक्छ। छुट्टै भान्सा नहुँदा, लेख–पढ गर्न शान्त ठाउँ चाहिंदा वा बढी कोठा चाहिएमा पार्टिशन गर्न सकिन्छ।

भाडामा बस्नेले एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने प्रकारका डिभाइडर उपयोग गर्नु बुद्धिमानी हुने इन्टेरियर डिजाइनर भट्टचन बताउँछिन्। “लामो समयका लागि पार्टिशन गर्दा बलियो तर सार्न मिल्ने डिभाइडर रोज्नुपर्छ”, उनको सल्लाह छ।

कस्तो डिभाइडर?

पार्टिशनका लागि प्लाइउड चल्तीमा छ। कार्यालयहरूमा पनि पार्टिशनका लागि धेरैजसो प्लाइउडको प्रयोग गरिन्छ। कतिपयले काठ वा फलामे डण्डीको फ्रेम बनाई कपडा, कागज, जाली, सिसा आदि राख्ने र फ्रेमको खुट्टामा चक्का जोडेर सार्न मिल्ने डिभाइडर पनि राख्ने गरेका छन्। त्यसो त बजारमा अचेल काठ, फाइबर, कपडा आदि सामग्रीबाट तयार पारिएका विभिन्न आकार र डिजाइनका पार्टिशन किन्न पनि पाइन्छ।

घरेलु प्रयोजनका लागि डिभाइडरको उँचाइ ४ देखि ५ फिट अग्लो हुनुपर्ने भट्टचन बताउँछिन्। “डिभाइडर किन्दा वा बनाउँदा घरको फर्निचरकै रङसँग मिल्दो–जुल्दो रङका छान्नुपर्छ”, उनी भन्छिन्। कोठाको क्षेत्रफल अनुसार तीनदेखि पाँच वटा वा आवश्यक मात्राका प्यानल भएको, पट्याउन मिल्ने स्त्रि्कन फ्लेक्सले पनि कोठा विभाजन गर्न सकिन्छ। स्त्रि्कन फ्लेक्सहरू अनेक रङ, बुट्टा र शैलीमा पाइने भएकाले यिनले कोठा चम्किलो बनाउँछन्।

दराज वा र्‍याक शैलीका रुम डिभाइडरमा सामानहरू थन्क्याउन समेत मिल्छ। जस्तोः फोटो स्त्रि्कन रुम डिभाइडरमा तस्वीरहरू सजाउन सकिन्छ भने काठबाट निर्मित बुकसेल्फ रुम डिभाइडरमा पुस्तक, पत्रपत्रिका आदि राख्न सकिन्छ। लामो कोठा छ भने बीचमा स्लाइडिङ डिभाइडर राखेर एकापट्टि कमन र अर्कापट्टि बेडरुम बनाउन सकिन्छ।

घरमा भोज गर्न भिन्दै कोठा विभाजन नगरेका सामाखुशीका सन्तोष खड्गी अब भने विभाजन गरेर भाडामा लगाउन खोज्दैछन्। “ईंटाको गारो लगाउन मन छैन”, उनी भन्छन्, “हलो ब्रिक्स भन्ने पाइँदो रहेछ। ती हलुका, बलिया र आगो–प्रतिरोधक हुँदा रहेछन्।”

कोठा विभाजन गर्नु सिर्जनशील काम हो। घरमै उपलब्ध डोरी, काठ, पर्दा, कागज आदि सामग्रीलाई पनि रुम–डिभाइडर बनाउन सकिन्छ। “सानो–तिनो धक्काले पनि डिभाडर ढल्न वा पल्टिन सक्ने भएकाले सावधानी चाहिं अपनाउनै पर्छ,” डिजाइनर भट्टचन भन्छिन्।

प्रस्तुतिः सजना बराल

comments powered by Disqus

रमझम