२७ भदौ - २ असोज २०७२ | 13-19 September 2015

ललितपुरमा 'मोबाइल एक्स्पो'

Share:
  

ललितपुरको लगनखेलस्थित ललितपुर मल तथा मोबाइल कम्प्लेक्समा मोबाइलसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको 'मल्टिब्रान्ड' मोबाइल शोरुम संचालनमा आएको छ। २५ भदौमा मोबाइल एक्स्पो उद्घाटन गरेको कम्प्लेक्समा ४० भन्दा बढी मोबाइलका शोरुम तथा सर्भिस सेन्टर छन्। कतिपय स्थानमा ब्रान्डेड एसेसोरिज निकालेर सस्तो हालेर ग्राहक ठग्ने काम भइरहेको भन्दै नयाँ शोरुममा सिल प्याक मोबाइल मात्र राखिएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेत बताउँछन्। ३ असोजसम्म चल्ने एक्स्पोमा ग्राहकले ७ देखि ७० प्रतिशतसम्म छूट पाउनेछन्। एक्स्पोमा रु.९०० देखि रु.१ लाखसम्मका सामसुङ, हुवावे, जियोनी, आईफोन, एचटीसी, माइक्रोसफ्ट, डीटीसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिण्डा लगायत ब्रान्डका मोबाइल सेट उपलब्ध छन्।

डिसहोम मा रु.३००० छूट

स्याटेलाइट टीभी च्यानल वितरण कम्पनी डिसहोम ले २० भदौदेखि '३००० हजार छुट यसपाली, बजाऔं ताली' नामक दशैं–तिहार योजना सार्वजनिक गरेको छ। एचडी लाइन जडानमा लाग्ने रु.५ हजार ९९९ लाई छूट गरी
रु.२ हजार ९९९ मा उपलब्ध गराइएको छ। रु.२००० भन्दा माथिको रिचार्ज गर्ने ग्राहकका लागि पनि भारी छूटको व्यवस्था गरेको छ।

यामाहा को फेसिनो

भारतीय मोटरसाइकल कम्पनी यामाहा को आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स इन्टरप्राइजेजले बजारमा नयाँ स्कुटर यामाहा फेसिनो ल्याएको छ। यामाहा ले रे, रे–जेड र अल्फा स्कुटरको सफलतापछि फेसिनो बजारमा ल्याएको हो। ६६ किमी माइलेज, १०३ किलोग्राम तौल, ५.२ लीटर इन्धन अट्ने ट्यांकी, २१ लीटरको स्टोरेज क्षमता रहेको फेसिनोको बजार मूल्य रु.१ लाख ८३ हजार ९०० छ। फरक र आकर्षक डिजाइनको यो स्कुटरले ग्राहक आकर्षित हुने कम्पनीको दाबी छ।

फ्लाई दुबई को छूट

अन्तर्राष्ट्रिय हवाई कम्पनी फ्लाई दुबई ले चाडपर्वमा घुम्न जाने तयारीमा रहेका यात्रुलाई १ अक्टोबर २०१५ देखि ३० जून २०१६ सम्मका टिकट बुकिङमा ३० प्रतिशत छूट दिने भएको छ। छूटका लागि २० सेप्टेम्बरभित्र टिकट बुकिङ गरिसक्नुपर्नेछ। फ्लाई दुबई ले ४५ देशका ९० स्थानका लागि हप्तामा १६०० उडान भर्दै आएको छ।

कोकाकोला को सांगीतिक थेरापी

महाभूकम्प प्रभावित भक्तपुरको बोडेवासीमा सकारात्मक ऊर्जा प्रदान गर्ने उद्देश्यले कोकाकोला ले १९ भदौमा सांगीतिक कार्यक्रम गर्‍यो। 'फेरि उठ्ने छ नेपाल' अभियान अन्तर्गत उक्त कार्यक्रममा गायक एड्रियन प्रधान र सन्तोष लामालगायतले प्रस्तुति दिए। कोकाकोला ले यो अभियान निरन्तर चल्ने बताएको छ।

सिभिलको सौर्य कर्जा

सिभिल ब्यांक लि. र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सौर्य कर्जा अनुदान योजनाबारे सम्झौता भएको छ। सम्झौता अनुसार, सिभिल ब्यांकले व्यक्तिगत २.२५ प्रतिशत र व्यावसायिकका लागि ४.५० प्रतिशत ब्याजदरमा सौर्य कर्जा उपलब्ध गराउनेछ। घर, कार्यालय तथा कारखानामा सौर्य ऊर्जा जडान गरी सोही सोलार उपकरण नै धितो राखी मूल्यको ९० प्रतिशतसम्म कर्जा पाइनेछ।

व्यक्तिगत ५०० वाट र व्यावसायिक १५०० वाट क्षमताभन्दा माथि सोलार सिष्टम जडान गर्नेले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट रु.१५ हजार अनुदान पनि पाउने छन्। यो योजनाले ग्राहकले बढी भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्ने मात्र नभई ऊर्जा संकट पनि कम हुने ब्यांकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको विश्वास छ।

नबिल विज्ञान तथा प्रविधि पुरस्कार

नबिल ब्यांक र राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को सहकार्यमा विज्ञान तथा प्रविधि क्षेत्रका वैज्ञानिक तथा संस्थालाई सम्मान गर्ने गरी चार विधामा छुट्टाछुट्टै 'नबिल विज्ञान तथा प्रविधि पुरस्कार' स्थापना गरिएको छ। जस अनुसार प्रत्येक विधाका विजेताले रु.१ लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। नबिल ब्यांकले पुरस्कारका अतिरिक्त सञ्चालन खर्चका लागि थप रु.१ लाख दिने ब्यांक र नास्टबीचको सम्झौतामा उल्लेख छ। पुरस्कृत व्यक्ति तथा संस्थाको छनोट नास्टको संरक्षकत्वमा प्रतिष्ठित वैज्ञानिक तथा प्राज्ञ समूहले गर्नेछ।

ग्लोबलको स्मार्ट मोबाइल सेवा

ग्लोबल आईएमई ब्यांकले 'ग्लोबल स्मार्ट मोबाइल ब्यांकिङ सेवा' शुरु गरेको छ। यो सेवामार्फत ग्राहकले मोबाइलमार्फत ब्यांकिङ कारोबार गर्न सक्नेछन्। ग्राहकले गुगलबाट ग्लोबल स्मार्ट नामक एप्लिकेशन डाउनलोड गरी खातामा रहेको रकम थाहा पाउन, रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शुल्क, ब्यांक किस्ता तिर्न र नजिकको शाखा तथा एटीएम पत्ता लगाउन सक्नेछन्। यो सेवाको सञ्चालनका लागि ग्राहकले ब्यांकमा खाता खोल्दा उल्लेख गरेको मोबाइल नम्बर नै प्रयोग गर्नुपर्नेछ।

comments powered by Disqus

रमझम