पत्रकारिता मर्यादित र व्यावसायिक बनाउने निहुँमा 'पत्रकार परीक्षा' को सरकारी तयारीबारे आमसञ्चार विज्ञ रामकृष्ण रेग्मी भन्छन्, “परीक्षाले मात्र पत्रकारिता मर्यादित बन्दैन।”
पत्रकार बन्न चाहनेका लागि परीक्षा लिने कुरा अत्यन्त गाह्रो विषय हो। व्यावहारिक रुपमा यसलाई कार्यान्वयन गर्न झनै कठिन छ।
परीक्षा लिन कसरी अप्ठेरो हुन्छ र?
परीक्षा कसले लिने? कुन–कुन विषयको लिने? मापदण्ड के हुने? यो नै स्पष्ट छैन। पत्रकारिता अरु जस्तो होइन, अभिव्यक्ति स्वतन्त्रताको विषय हो। त्यसलाई कसरी जाँच्ने? त्यसैले धेरै कठिनाइ छन्।
पत्रकारितालाई मर्यादित र व्यावसायिक बनाउन परीक्षा आवश्यक छ भन्ने तर्क कत्तिको सही छ?
यस्तो लक्ष्य राखिनु राम्रो कुरा हो। तर, मार्ग सही भएन भने भनेको गन्तव्यमा पुगिंदैन। परीक्षाले नै पत्रकारिता मर्यादित बनाउन सकिन्छ भन्ने के ग्यारेन्टी छ? विभिन्न क्याम्पसहरूमा पत्रकारिता अध्ययन हुन्छ, परीक्षा हुन्छन्, पत्रकारितामै पीएचडी र डिग्री गरेकाको जमात पनि ठूलो भइसक्यो। के पत्रकारिता अपेक्षाकृत सुधि्रएको, मर्यादित भइरहेको छ त? स्पष्ट छ– छैन।
चिकित्सा, वकालतजस्तो पेशामा अनुमतिपत्र चाहिने तर पत्रकारितामा चाहिं किन नचाहिने भन्ने पनि सुनिएको छ।
पत्रकारिता सीप हो, व्यवसाय मात्र होइन। पत्रकारिताको सम्बन्ध अरु थुप्रै विषयसँग जोडिन्छ। व्यक्तिको सूचना र अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने पत्रकारलाई कुनै विषयमा लेख, नलेख भन्नै मिल्दैन। अहिले पनि हामी म्यागाजिन र दैनिक पत्रिकामा एकखाले गुणस्तरीयता देख्छौं। यो गुणस्तरीयता परीक्षाले होइन, प्रतिस्पर्धाबाट मात्र सम्भव भएको हो।
त्यसो भए पत्रकारितालाई कसरी मर्यादित बनाउने त?
मुख्य कुरा त आचारसंहिता कार्यान्वयनमा जोड नै हो। त्यसमा बहस चलाउनुपर्छ। परीक्षाले मात्र केही हुन्न। पत्रकारिता विषयमै विभिन्न परीक्षा उत्तीर्ण गरेकाहरू पत्रकारितामै असफल भएका प्रशस्त घटना पनि त छन्।