९-१५ असोज २०७३ | 25 Sep - 1 Oct 2016

'बन्द उद्योग खुलाउन सरकार गम्भीर छ'

Share:
  

बन्द रहेको नेपाल औषधि लिमिटेड पुनः सञ्चालन गर्ने सरकारको निर्णयबारे उद्योग मन्त्रालयकी सह–सचिव एवं प्रवक्ता यामकुमारी खतिवडा भन्छिन्, “सातवटा बन्द उद्योग पुनः सञ्चालनबारे अध्ययन भइरहेको छ।”

बिक्रम राई
सरकारले बन्द उद्योग पुनः सञ्चालन गर्न लागेको हो?

बन्द उद्योग कुन मोडेलमा सञ्चालन गर्न सकिन्छ भनेर अध्ययनकै चरणमा छौं। अहिले ७ वटा उद्योगको अध्ययन भइरहेको छ। तत्कालका लागि नेपाल औषधि लिमिटेड सञ्चालनको निष्कर्षमा पुगेका छौं।

नेपाल औषधि लिमिटेडबाटै शुरु गर्नुको कारण के हो?

औषधि अत्यावश्यक सेवाको बस्तु हो। मुलुकमै औषधि उत्पादन गर्न सके बजारको सम्भावना छ। नेपाल औषधि लिमिटेड कम खर्चमै सञ्चालनमा ल्याउन सकिने भएकाले पनि निर्णय गरिएको हो। तर, कुन मोडेलमा सञ्चालन गर्ने भन्नेबारे छलफल चलिरहेको छ।

अत्यावश्यक सेवाका वस्तु सरकारले नै उत्पादन गर्नुपर्छ भन्ने चेत त खुलेको होइन?

यस्तो निचोडमा त धेरै पटक पुगिएको हो। तर, कार्यान्वयन तहमा विभिन्न व्यवधान छन्। बन्द भएका उद्योगहरु राज्यले नचलाउने हो भने पनि व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो।

सरकारी स्वामित्वका उद्योगहरु बन्द भइरहनुको कारण के हो?

राजनीतिक अस्थिरता र चलखेल, व्यवस्थापनको कमजोरीका कारण सरकारी स्वामित्वका उद्योगहरु बन्द भएका हुन्। अर्कोतर्फ उद्योगमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिका कारण पनि यस्तो भएको हुनसक्छ।

उसो भए यी उद्योगले कहिलेबाट उत्पादन थाल्छन् त?

यो अर्थ मन्त्रालयमा निर्भर हुन्छ। निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने भएकाले नीजिकरण ऐन आकर्षित हुन्छ। अर्थले यसलाई कत्तिको प्राथमिकतामा राख्छ, हेर्न बाँकी छ।

comments powered by Disqus

रमझम