१२-१८ मंसिर २०७३ | 27 Nov - 3 Dec 2016

'तत्कालका लागि जोखिम घट्यो'

Share:
  

पानीको सतह घटाएर तत्कालका लागि सोलुखुम्बुस्थित इम्जा ताल विस्फोटको खतरा टार्ने टोलीको नेतृत्व गरेका नेपाली सेनाका प्रमुख सेनानी भरतलाल श्रेष्ठ भन्छन्, “जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिने क्रम बढ्दो छ।”

पानी घटाउनुअघि इम्जा तालको अवस्था कस्तो थियो?

चैतमा हामीले देख्दा तालको पानी बाहिर निस्कनै लागेको थियो। कुनै पनि वेला विस्फोट हुने खतरा थियो।

विस्फोटबाट के कस्तो असरको अनुमान गरिएको थियो?

विस्फोट भइहाले ५० किलोमिटर तलसम्म प्रत्यक्ष असर पुग्ने सम्भावना थियो। जसबाट ६ वटा बस्तीका करीब ७ हजार स्थानीयको जीवन जोखिममा पर्थ्यो। उनीहरूमा कतिवेला के हुने हो भन्ने त्रास थियो।

अब विस्फोटको जोखिम कम भएकै हो त?

हामीले चैतदेखि नै तालको पानी घटाउने अभियान थाल्यौं। असोजसम्म आइपुग्दा पानीको सतह ३.४ मीटर कम भयो। करीब ४५ लाख घनमिटर पानी तालबाट नियन्त्रित रुपमा बाहिर पठायौं। तत्कालका लागि विस्फोटको जोखिम कम भएको छ।

पानी घटाउने काम कत्तिको चुनौतीपूर्ण थियो?

इम्जा ताल समुद्र सतहदेखि ५ हजार मीटर भन्दा माथिको उँचाइमा पर्छ। उच्च हिमाली क्षेत्र भएकाले मौसम छिनछिनमा परिवर्तन भइरहने, अत्यन्तै चिसो हावा चल्ने र लेक लाग्ने समस्या थियो। त्यो उँचाइमा ६ महीनासम्म ४० जनाको टोली लगातार खटियो। सबैभन्दा चुनौती चाहिं ताल परिसरमा एस्काभेटरलगायतका मेशीनरी र अन्य निर्माण सामग्री पुर्‍याउनु नै थियो। बल्लतल्ल हेलिकप्टर र याकमार्फत ती सामान पुर्‍यायौं। स्थानीय शेर्पा र राई समुदायले धेरै सहयोग गर्नुभयो।

तालमा पानी बढ्नुको खास कारण के रहेछ?

हिमालको हिउँ पग्लिएर नै इम्जा ताल बनेको हो। पछिल्लो समय तापक्रम वृद्धिले हिउँ पग्लिने क्रम बढ्दो छ। त्यसका लागि जलवायु परिवर्तन नै प्रमुख कारक मानिएको छ।

comments powered by Disqus

रमझम