१९-२५ मंसिर २०७३ | 4-10 December 2016

'स्रोतसाधन छ, इच्छाशक्ति छैन'

Share:
  

पाँचवटै महादेशभित्रका २९ देशको यात्रा अनुभूति समेटिएको प्रकाशोन्मुख पुस्तक सरसर्ती संसार का लेखक, व्यवसायी एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछाने भन्छन्, “संसारको एउटै चित्र छैन, विचित्रको छ।”

सरसर्ती हेर्दा संसार कस्तो देखिन्छ?

कसैले गहन अध्ययन गर्दा अर्थोक पाउला, तर मैले संसार विचित्रको भेटें। संसार एउटै, तर धेरै कुरा फरक छ। विकास, विभेद, व्यक्तिको सोच र वातावरणजस्ता धेरै कुराको अन्तर छ।

संसारका ती कुनाबाट हेर्दा नेपाल चाहिं कस्तो देखिन्छ?

हामीसँग नभएको एउटै कुरा भनेको समुद्र हो। तर, त्यसलाई पनि प्रतिस्थापन गर्न सक्ने प्रशस्त संसाधन हामीसँग छ। नदेखिएको भनेको दृढ इच्छाशक्ति हो।

यात्राका क्रममा नेपालजस्तै द्वन्द्वबाट गुजि्रएका मुलुकहरु पनि पुग्नुभयो, उनीहरुको अवस्था चाहिं कस्तो छ?

धनी र विकसित अमेरिका, यूरोपदेखि अफ्रिकाका गरीब भनिएका देशहरु पनि पुगें। द्वन्द्वग्रस्त केन्यामा पुग्दा त्यहाँ पनि विकासको गति हाम्रोभन्दा राम्रो पाएँ। दशकौंको आन्तरिक हिंसा बेहोरेको युगोस्लाभियामा अहिलेको तरक्कीले मलाई चकित पार्‍यो। केही बाहेक मैले घुमेका अधिकांश देश सही बाटोमा लागेको देखें।

चितवनको किसानको छोरा तपाईं विदेशमा व्यापार गर्नुहुन्छ, उतै बस्नुहुन्छ, संसार घुम्नुहुन्छ। आम नेपालीमाझ आफ्नो हैसियतलाई कसरी मूल्यांकन गर्नुहुन्छ?

मस्कोमा मैले इन्जिनियरिङ सिध्याएलगत्तै सोभियत संघ विघटन भयो। परिवर्तित राजनीतिक अवस्थालाई उपयोग गर्दै मैले व्यापार गर्ने निर्णय गरें। कर्मको आधारमा म 'सेल्फ मेड म्यान' नै हुँ। आफूलाई असफल ठान्दिनँ। सामान्य किसानको छोरो यहाँसम्म आइपुगेको छु, 'भाग्यमानी' नै भन्नुपर्ला।

एउटा व्यवसायी र साहित्यको मेल कहाँनेर हुन्छ?

व्यवसायीमा संवेदना नहुने भन्ने हुँदैन। प्रकट गर्ने शैली र समय फरक हुनसक्छ। फेरि साहित्य मेरो विद्यालयदेखिकै सोख हो। व्यवसायमा चुर्लुम्म डुबेपछि लेख्ने क्रम रोकियो। बल्ल पुस्तक लेखेको छु। उत्साह र डर दुवै लागिरहेको छ।

comments powered by Disqus

रमझम