१-७ साउन २०७४ | 16-22 July 2017

'छुटेका र नयाँ मतदातालाई मौका'

Share:
  

१–१५ साउनमा मतदाता नामावली संकलनको निर्णयबारे निर्वाचन आयोगका प्रवत्ता्का सूर्यप्रसाद शर्मा भन्छन्, “छुटेका र नयाँ मतदाताले मौका पाउन् भनेर यस्तो निर्णय गरिएको हो।”

गोपेन राई
स्थानीय तहको निर्वाचन नसकिंदै मतदाता नामावली संकलन गर्न हतारो किन?

आउँदो ७ माघभित्र प्रदेश र केन्द्र (प्रतिनिधिसभा र राष्ट्रियसभा) गरी दुई तहका निर्वाचन सम्पन्न गर्नुपर्नेछ। निर्वाचन मिति घोषणा भइहालेमा नामावली संकलन पनि प्रभावित हुन्छ। त्यसैले १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाउन छुटेकालाई लक्षित गरी नामावली संकलन गर्न लागिएको हो।

अहिले मतदाता नामावलीमा समावेश भएकाहरुले कहिले मत हाल्न पाउँछन्?

अहिलेको मतदाता नामावली संकलन प्रदेश सभा र प्रतिनिधिसभालाई लक्षित गरी सञ्चालन गर्न लागिएको हो। प्रदेश–२ मा हुने निर्वाचनका लागि गत ९ फागुनसम्म संकलित नामावली नै अन्तिम हो।

नाम दर्ताका लागि जिल्ला सदरमुकाम नै पुग्नुपर्ने प्रावधान अव्यावहारिक भएन र?

घर–घरै पुग्न सकिए त एकदमै राम्रो हुन्थ्यो। वडासम्मै पुगे पनि धेरै सहज हुन्थ्यो। तर, यसो गर्दा दुई–तीन महीना लाग्ने देखियो। जसबाट नयाँ मतदाता छुट्ने भए। नयाँलाई मौका नदिनुभन्दा सदरमुकाम पुगेर नाम दर्ता गराउने विकल्प अहिलेका लागि उत्तम ठानेका हौं।

ठाउँसारी गर्न चाहने मतदाताले के गर्नुपर्छ?

मानिसको ठेगाना दुई कारणबाट परिवर्तन हुन्छ। एउटा बसाइँसराइ, अर्को विवाह। त्यसका लागि सम्बन्धित व्यक्तिले आवश्यक प्रमाण लिएर १–१५ साउनसम्म जिल्ला निर्वाचन कार्यालयमा पुग्नुपर्छ।

पहिले एक जिल्लाबाट अर्को जिल्लाका लागि सजिलै नाम दर्ता गर्न सकिने व्यवस्था थियो, यसपटक प्रमाण नै मागिनुको कारण के हो?

पहिले छानबीन गर्ने समय थियो। त्यसैले फरक जिल्लाबाट पनि नाम दर्ता गर्न सक्ने सुविधा थियो। यसपटक समय कम भएकोले त्यस्तो व्यवस्था गर्न सकिएन।

comments powered by Disqus

रमझम