३-९ मंसिर २०७४ | 19-25 November 2017

‘सामाजिक न्यायका लागि गरीबी परिचयपत्र’

Share:
  

२५ जिल्लाका ४०.८ प्रतिशत गरीब परिवारलाई परिचयपत्र वितरण गर्न शुरू गरेको सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली भन्छन्, “गरीबी न्यूनीकरणका लागि यो युगान्तकारी कदम हो।”

मन्त्रालयले गरीबको पहिचान कसरी ग¥यो ?

२५ जिल्लाका सबै घर पुग्यौं । १८ वटा प्रश्नावलीमार्फत संकलित उत्तरलाई गरीब पहिचान विधिमार्फत परीक्षण गर्दा कुल ३ लाख ९१ हजार ८३१ परिवार गरीबीमा रहेको पाइयो । गरीबी पत्ता लगाउने सूचकका रुपमा मानवीय, भौतिक, घरायसी सुविधा, सामाजिक अवस्था आदिको अध्ययनका साथै सार्वजनिक सुनुवाइमार्फत दोहोरो परीक्षण पनि गरिएको थियो ।

यस्तो अध्ययनको आवश्यकता किन प¥यो ?

को गरीब भन्ने थाहै नभई सात भिन्न सरकारी निकाय तथा गैरसरकारी क्षेत्रले गरीब लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छन्, जुन प्रभावकारी हुनसकेको छैन । यो अध्ययनले गरीब लक्षित एकीकृत तथा क्षेत्रगत अवधारणा बनाएर कार्यक्रम संचालन गर्न सकिन्छ । सामाजिक न्यायका लागि अहिलेसम्मकै एउटा महत्वपूर्ण काम हो, यो ।

परिचयपत्र पाएका गरीबले सरकारबाट के कस्तो सुविधा पाउँछन् ?

अति गरीब, गरीब र सामान्य वर्गका रुपमा छुट्याइएका परिवारलाई क्रमशः रातो, पहेंलो र नीलो रंगको परिचयपत्र बाँड्न थालिएको छ । नागरिकलाई गरीबीको रेखाबाट कसरी माथि उठाउने भन्ने तयारी गर्न परिचयपत्र आवश्यक छ । परिचयपत्रका आधारमा प्राथमिकता अनुसार सरकारले सेवा प्रदान गर्छ ।

गरीबी न्यूनीकरणका लागि सरकार के गरिरहेको छ ?

अढाइ दशकमा गरीबीको रेखामुनि रहेको जनसंख्या ४८ बाट २१ प्रतिशतमा झरे पनि अपेक्षित प्रगति हासिल भएको छैन । यसका लागि एउटै छाता संस्थामार्फत प्राथमिकता तोकेर काम गर्ने नीतिगत व्यवस्था चाहिन्छ । गरीब घरपरिवार सहयोगसम्बन्धी बोर्डमार्फत सबै कार्यक्रम एकीकृत ढंगमा अघि बढाउन सकिन्छ । हामी त्यसैको पहल गरिरहेका छौं । गरीबी निवारण नीति बनाइरहेका छौं ।

बाँकी जिल्लामा गरीबको पहिचान कहिले गर्ने ?

बाँकी ५२ जिल्लाका गरीब परिवार पहिचान गर्न करीब डेढ–दुई वर्ष र रु.१ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ । मन्त्रालयसँग रु.५ करोड मात्र छ, दक्ष कर्मचारीको पनि अभाव छ ।

comments powered by Disqus

रमझम