‘बाघको वृद्घि उत्साहजनक छ’

Share:
  

१४ मंसीरदेखि बाघ गणना थालेको वन मन्त्रालय, जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख महेश्वर ढकाल भन्छन्, “बाघको संरक्षण भनेको मान्छेकै संरक्षण हो।”

बाघ गणनाको उद्देश्य के हो ?

बाघ पाइने विश्वका १३ देशका सरकार प्रमुखहरुको सन् २०१० मा बसेको बैठकले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । प्रतिबद्धता पूरा गर्न पनि बाघको अवस्था र संख्या पत्ता लगाउन आवश्यक छ । त्यसैले बाघ गणना गर्न लागिएको हो ।

नेपालमा बाघको अवस्था चाहिं कस्तो छ ?

नेपालमा सन् २०१३ मा गरिएको गणनामा १९८ वटा बाघ भेटिएको थियो । विश्वमा सबैभन्दा बढी बाघ भारतमा पाइन्छ । नेपाल भने आठौंमा पर्छ । पछिल्लो समय नेपाल र भारतमा बाघको वृद्धि उत्साहजनक छ ।

बाघ किन जोगाउने ?

बाघ जोगाउनु भनेको जंगल जोगाउनु हो । जंगलमा धेरै प्रकारका जीवजन्तु हुन्छन् । त्यसले पारिस्थितिकीय प्रणालीलाई बचाइराख्छ । पारिस्थितिकीय प्रणालीको संरक्षण विना मानव जीवनको कल्पना पनि गर्न सकिन्न । वास्तवमा बाघको संरक्षण भनेकै मानिसको संरक्षण हो ।

बाघ मात्रै बढाउने कि जंगल पनि ?

बाघ बढाउने निर्णयपछि नै सरकारले सन् २०१० मा ५५० वर्गकिलोमिटर वन क्षेत्रलाई बाँके राष्ट्रिय निकुञ्जका रुपमा घोषणा ग¥यो । ४९९ वर्ग किमी क्षेत्रफलमा फैलिएको पर्सा वन्यजन्तु आरक्षलाई विस्तार गरेर ६२७ वर्ग किमी पु¥याइयो । घाँसेमैदान, खोलानालाको व्यवस्थापनका साथै स्थानीय समुदायसँग मिलेर काम गरिरहेका छौं ।

बाघ लोप हुनुका कारण के के हुन् ?

प्रमुख कारण चोरीशिकारी र यसका अंगको अवैध व्यापार हो । यसबाहेक शहरीकरण तथा वनको खण्डीकरणले गर्दा पनि आहारा अभावमा बाघ लोप भइरहेका छन् । मिचाहा प्रजातिका वनस्पतिहरु बढ्नु, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनले पनि बाघलाई समस्यामा पारेको छ ।

comments powered by Disqus

रमझम