३० पुस - ६ माघ २०७४ | 14-20 January 2018

‘अत्यधिक चिसोले शिशु र ज्येष्ठ नागरिक जोखिममा’

Share:
  

मौसमी रुघाखोकीकै कारण जाजरकोटको जुनीचाँदे गाउँपालिकामा मात्र मंसीरयता झण्डै १२ जनाको ज्यान गएको सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटका प्रमुख रामबहादुर नेपाली भन्छन्, “रिपोर्ट नआएसम्म मृत्युको कारण यसै हो भन्न सक्दैनौं।”

जिल्लामा भाइरल ज्वरोका कारण मानिसको भकाभक मृत्यु भइरहेको सुनिएको छ, वास्तविकता के हो ?

अहिले जसरी मौसमी रुघाखोकीकै कारण १०–१२ जनाको मृत्यु भएको भनिएको छ, त्यो ८ मंसीरयताको विभिन्न कारणबाट मृत्यु हुनेहरुको विवरण हो । हो, अत्यधिक चिसो र मौसमी रुघाखोकीका कारण शिशु र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । तर, खास कारण पत्ता लाग्न सकेको छैन । रिपोर्ट आएपछि मात्र कारण भन्न सक्छौं ।

बिरामीको चाप कस्तो छ ?

हाम्रो अध्ययनमा १२ पुसदेखि अनपेक्षित रुपमा बिरामी बढेको देखियो । स्थानीय स्वास्थ्य कार्यालयमा दैनिक ५–६ जना बिरामी आउने गरेकोमा १५–१६ जना आएको रिपोर्ट छ । १२ पुसलाई आधार मान्दा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।

के कस्ता लक्षण देखिन्छन् ?

मृत्यु भएका ६ जनामध्ये एक जनाको मात्र मौसमी रुघाखोकीसँग मिल्दो छ । बच्चामा निमोनिया र ज्येष्ठ नागरिकमा दम कारक देखिन्छ । मौसमी रुघाखोकी असोजमा पनि थियो, त्यतिबेला ज्वरो उच्च थियो । अहिले भने ज्वरो छैन । यसले पनि मृत्यु शंकास्पद बनाएको छ ।

अहिले एउटै गाउँपालिकामा मात्र देखिएको समस्या जिल्लाभर फैलन सक्ने जोखिम कत्तिको छ ?

अहिलेसम्म जुनीचाँदे गाउँपालिकाको वडानम्बर १, २ र ३ मात्र प्रभावित छन् । जिल्लाका बाँकी भागमा यस्तो समस्या देखिएको छैन । थप जोखिमबारे यसै भन्न गाह्रो छ ।

रोग नियन्त्रणमा जिल्ला जनस्वास्थ्य कार्यालयले के गरिरहेको छ ?

प्रभावित क्षेत्रमा दुई जना मेडिकल अधिकृतको नेतृत्वमा १३ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । आवश्यक औषधि पनि पुर्‍याएका छौं । घरघरै उपचारमा खटिएका छौं ।

comments powered by Disqus

रमझम