‘उपन्यास मेरो प्यासन हो’

Share:
  
बादी महिलाहरूमाथि उपन्यास लेखेकी सरस्वती प्रतीक्षा भन्छिन्, “नथिया का ९५ प्रतिशत कुरा सत्य घटनामा आधारित छन्।”

नथिया कस्तो उपन्यास हो ?

यो एउटा गम्भीर सामाजिक मुद्दामाथि लेखिएको उपन्यास हो । देहव्यापार गर्थे र आज पनि लुकिछिपी देहव्यापार गर्छन् भनेर आरोप लाग्ने गरेको बादी समुदायको भित्री कथाव्यथा समेटिएको छ यसमा । उनीहरूको भोगाइको चरम पीडा र संघर्षहरू समेटिएका छन् ।

अनुसन्धानमूलक कृति भएकोले यसमा वर्णित कुराहरू ९५ प्रतिशत सत्य घटनामा आधारित छन् । सयौं ठक्कर पाए पनि हार नमानी परिस्थितिसँग पौंठेजोरी खेल्ने एउटी जब्बर स्वास्नीमान्छेको जीवनको आरोह–अवरोहको साङ्गोपाङ्ग तस्वीर हो, यो ।

बादी महिलामाथि उपन्यास लेख्न के कुराले प्रेरित गर्‍यो ?

१० वर्ष अगाडि बादी महिलाहरूले सिंहदरबार अगाडि प्रदर्शन गरेका थिए । ब्रा र पेटीकोट मात्र लगाएर लाजको परम्परागत परिभाषामाथि धावा बोलेको उनीहरूको विद्रोहले मलाई बेस्कन हल्लाएको थियो । त्यो कस्तो गहिरो पीडा होला, जसले उनीहरूलाई अर्धनग्न भएर त्यो हदको प्रदर्शन गर्न बाध्य बनायो ? यही प्रश्नले मलाई उनीहरूको भित्री कथा उधिन्न प्रेरित गर्‍यो ।

कविहरूलाई केले उपन्यासकार बनाउँछ ?

सबै कवि जीवनभर कवि भएर बस्न रुचाउँदैन । केही एउटा निश्चित समयपछि अन्य विधातिर पनि लाग्छन्– कोही निबन्ध त कोही आख्यानतिर । मभित्र भने उपन्यास लेख्ने ‘प्यासन’ थियो । वर्षौंअघिको त्यही प्यासनको परिणाम हो– नथिया । जब आफूले भन्न चाहेका कुराहरू कविताभित्र अटाउँदैन या अलि ठूलो क्यानभासको आवश्यकता महसूस हुन्छ, तब आख्यानतिर तानिन्छ कवि ।

आम्दानीको आवश्यकताले कविलाई उपन्यासकार बनाउँछ भन्ने मान्नुहुन्छ ?

आख्यान लेख्दैमा सबै लेखकले पैसा कमाउँछ भन्ने हुँदैन । बजारमा हिट भएका थुप्रै कविता संग्रह र फ्लप भएका थुप्रै आख्यान पनि छन् । राम्रो लेख्न सक्यो भने एउटै उपन्यासबाट लाखौंको आम्दानी हुने कुरालाई पनि नकार्न सकिंदैन । पैसा कमाउनकै लागि उपन्यास लेख्ने भन्ने कुरा होइन, यो त सिर्जनात्मक भोकसँग जोडिएको कुरा हो । पैसा कमाउन त व्यापार–व्यवसाय गरे भैगो नि !

आगामी दिनको योजना के छ ?

अब आख्यानमै लाग्छु । यसको मतलब कविता लेख्नै छोड्छु भन्ने होइन । आख्यानले जस्तो कविताले वर्षौं वर्ष एउटै विषयमा घोत्लिन बाध्य बनाउँदैन । छोटो–छोटो बसाइ र खुकुलो समयमा यदाकदा कविता र निबन्ध लेख्नेछु । मुख्य समय, मुख्य प्यासन र मुख्य आराधना चाहिं आख्यानकै लागि हुनेछ ।

comments powered by Disqus

रमझम