प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले सातवटै प्रदेशमा बहुप्राविधिक शिक्षालय खोल्ने प्रस्ताव शिक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष पेश गरेको छ। सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्ले भन्छन्, “सीपमूलक जनशत्तिाm उत्पादनका लागि प्राविधिक शिक्षालयको खाँचो छ।”
पहिलेका प्राविधिक शिक्षालयहरुलाई स्तरोन्नति गरी प्रदेशपिच्छे एक–एक वटा ‘नमूना बहुप्राविधिक शिक्षालय’ बनाउने हो । हामीले खाका तयार पारिसकेका छौं, सरकारले बजेट र कर्मचारी दियो भने तत्काल कार्यक्रम चलाउन सक्छौं । स्तरोन्नतिका लागि रु.२ अर्ब बजेट चाहिन्छ । ६ वटै महानगरमा महिला बहुप्राविधिक शिक्षालय खोल्ने कार्ययोजना पनि छ । व्यावसायिक वातावरण सिर्जना, आर्थिक–सामाजिक उन्नति, स्वदेशमै स्वरोजगारी र श्रमको सम्मानका लागि प्राविधिक शिक्षालयको ठूलो आवश्यकता छ । अनौपचारिक वा औपचारिक शिक्षा लिएकाहरुको सीप परीक्षणका लागि पनि यो आवश्यक छ ।
भएका प्राविधिक शिक्षालयहरु कति उपयोगी छन् ?
अत्यन्तै उपयोगी छन्, तर आवश्यकताअनुसार व्यवसायीकरण र प्रचार भएको छैन । बजारमा सीपमूलक जनशक्तिको ठूलो माग छ ।
बहुप्राविधिक शिक्षालयमा पढिसकेपछि रोजगार हुन कति सजिलो छ ?
विद्यार्थीहरुले १८ महीने टीएसएलसी वा तीनवर्षे डिप्लोमा कोर्स गर्न पाउँछन् । तीन महीने, ६ महीने कोर्सहरु पनि थुप्रै छन् । ४० विषयमा डिप्लोमा र २५ विषयमा टीएसएलसी गर्न सकिन्छ । यी सब पढ्ने अनि काम शुरु गरिहाल्ने कोर्स हो । रोजगार उन्मुख शिक्षा भएकाले अपवाद बाहेक सबैले काम पाउँछन् ।
प्रत्येक प्रदेशमा बहुप्राविधिक शिक्षालय खुले भने केन्द्रीय कार्यालयको भूमिका के हुन्छ ?
केन्द्रीय कार्यालयले समन्वयको भूमिका खेल्छ । प्रत्येक प्रदेश र स्थानीय तहका शिक्षालयहरुमा स्रोत–साधन व्यवस्थापन, अनुगमन, नियमन, नीति–निर्माण, सम्बन्धनलगायतको काम गर्छ । पाठ्यक्रम बनाउने काम पनि केन्द्रीय कार्यालयको हुन्छ ।
नमूना बहुप्राविधिक शिक्षालयमा ५ देखि १० हजार जनशक्तिलाई लाभान्वित बनाउने योजना रहेको सुनिन्छ । जनशक्ति खपत चाहिं कहाँ गर्ने ?
बजारमा दक्ष जनशक्तिको अभाव छ । अहिले प्लम्बर, इलेक्ट्रिसियन, कार्पेन्टर लगायतमा भारतीय जनशक्ति प्रयोग भइरहेको छ । विकासका गतिविधिहरु भर्खरै चलायमान हुन थालेका छन् । बाहिरको बजार ताक्नै पर्दैन ।