“अर्थतन्त्रको ‘डिस्कोर्स’ नै कमजोर”

Share:
  

यसअघि अंग्रेजी भाषामा अनलिसिङ नेपाल र यसै साता मात्र अर्थात् अर्थतन्त्र मार्फत नेपाली अर्थतन्त्रका बहुआयामबारे चर्चा गरेका लेखक सुजीव शाक्य भन्छन्, “अर्थतन्त्रलाई आम जीविकासँग जोडिएकाले पुस्तक रुचिकर हुनसक्छ।”

अर्थात् अर्थतन्त्र पुस्तकले के पस्किएको छ ?

देशको राजनीतिक, सामाजिक घटनाक्रमसँगै परिवर्तनको यात्रामा अर्थतन्त्र कसरी जोडिएको छ भन्ने विश्लेषण यो पुस्तकमा छ । देशले साँच्चिकै फड्को मार्ने हो भने के गर्नुपर्छ भन्ने कुरा पनि पुस्तकमार्फत पेश गरेको छु ।

यो पुस्तकका लक्षित पाठक को हुन् ?

पुस्तकले नेपाली पत्रपत्रिका, पुस्तक पढ्ने पाठक र अहिलेसम्म नेपालीमा पढ्न नरुचाउने पाठक समेतलाई तान्ने अपेक्षा छ । नेपालीमा अर्थतन्त्र, उद्यम, व्यापारसम्बन्धी सहज र सुरुचिपूर्ण पुस्तकको कमी रहेको अवस्थामा आफ्नै देश चिन्न खोज्नेहरूप्रति यो पुस्तक लक्षित छ । ऐतिहासिक आर्थिक घटनाक्रमलाई नयाँ चश्माले हेर्ने प्रयास गरिएकाले सबैखाले पाठकलाई यो रुचिकर हुनसक्छ ।

अर्थतन्त्रबारे अङ्ग्रेजीमा लेखिसकेपछि फेरि नेपालीमा पुस्तक लेख्न के कुराले प्रेरित गर्‍यो ?

धेरैले घच्घच्याएपछि नेपाली लेखनमा आएको हुँ । नेपाली भाषाको लेखनले नीतिनिर्माण तहमा बसेकादेखि आम पाठकसम्म पुग्न सजिलो हुन्छ । पछिल्लो समयमा कम्प्युटरमा नेपालीमा लेखन सजिलो भएको छ । नेपालीमा लेखिएका लेखमा आएका प्रतिक्रियाले उत्साहित भएर पनि नेपालीमै लेखें ।

आम पाठकका लागि अर्थतन्त्र निरस र अप्ठ्यारो विषय मानिन्छ, तपाईंको पुस्तकको सन्दर्भमा यो मान्यताले कस्तो प्रभाव पार्ला ?

अर्थतन्त्र भनेको राजनीति, समाजभन्दा अलग हुँदैन, यो प्राविधिक कुरा मात्र पनि होइन । जन्मेदेखि मृत्युसम्म दैनिक जोडिने अर्थतन्त्रलाई सरल तरीकाको प्रस्तुति आवश्यक छ । अर्थतन्त्रको इतिहास, सामाजिक संरचनासँग यसको सम्बन्धको विश्लेषणका साथै शक्ति, साधन र स्रोतको समुचित प्रयोगबाट के गर्न सकिन्छ भन्ने कुरालाई पुस्तकले सजिलो तरीकाले पस्किएको छ । आम जीविकासँग जोडिएको र अर्थतन्त्रलाई चौबाटोमा उभिएर हेरिएको हुँदा यो पुस्तक रुचिकर हुनसक्छ ।

हाम्रो सार्वजनिक वृत्तमा आर्थिक विषय बारेको पठन–लेखन र बहसको संस्कृति कस्तो देख्नुहुन्छ ?

आर्थिक विषयको डिस्कोर्स कमजोर छ । सारभूत र गम्भीर बहसका लागि अनुभव वा ज्ञान आवश्यक हुन्छ, नत्र बकम्फुसे गफ मात्र हुन जान्छ । विगत केही दशकका तुलनामा अर्थतन्त्रका विषयमा चासो, बहस र छलफल बढेको चाहिं हो । त्यसैले, राजनीतिक कुरा मात्र हुने ठाउँमा विस्तारै आर्थिक विषयले महत्व पाउन थालेको छ ।

comments powered by Disqus

रमझम