१०-१६ असार २०७५ | 24-30 June 2018

‘मौसम पूर्वानुमानमा नयाँ प्रणाली ल्याएका छौं’

Share:
  

६ असार २०७५ देखि बेलुन उडाएर मौसमी तथ्याङ्क लिन शुरू गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा भन्छन्, “हाम्रो वायुमण्डलको मौसमी तथ्याङ्क आफैं लिन सक्ने भएका छौं।”

जल तथा मौसम विज्ञान विभागको सक्रियतामा मौसमी सूचना प्रणाली लिनका लागि बेलुनको प्रयोग शुरु भएको छ । यसको प्रक्रिया के हो ?

बेलुन त एउटा माध्यम मात्र हो । बेलुनमा सेन्सर जडान गरिएको हुन्छ । बेलुन उड्दै माथि पुगेपछि त्यसमा जडित सेन्सरले वायुमण्डलको मौसमी तथ्यांक पठाउँछ ।

सेन्सरले के–कस्ता सूचना उपलब्ध गराउँछ ?

वायुमण्डलको तापक्रम, वायुको गति र दिशा, सापेक्षिक आद्र्रता र वायुको चाप बारे सेन्सरले जानकारी दिन्छ । यो बेलुन जमीनको सतह भन्दा २५ किमी टाढासम्म पुग्ने भएकाले हरेक उँचाइको मौसमी तथ्यांक प्राप्त हुन्छ । मौसम पूर्वानुमानमा यसबाट धेरै सहयोग पुगेको छ ।

पहिलेको र अहिलेको प्रणालीमा के भिन्नता छ ?

अहिलेसम्म हामीले जमीनबाटै सूचना संकलन गरेर मौसम पूर्वानुमान गर्दै आएका थियौं । भारत र चीनको सहयोगमा प्राप्त हुने लखनऊ र तिब्बतको वायुमण्डलको तथ्यांक पनि हेथ्र्यौं । अब हामी आफैंले यहींकै वायुमण्डलबाट तथ्यांक लिन सक्ने भएका छौं । यसले गर्दा पूर्वानुमान थप सहज र सटिक हुनेछ ।

काठमाडौंको वायुमण्डलको सूचनाले समग्र देशकै मौसमको पूर्वानुमान कसरी भरपर्दो होला र ?

लखनऊ र तिब्बतको भन्दा त पक्कै पनि फरक पर्छ । अब काठमाडौं बाहेक विराटनगर र नेपालगञ्जमा पनि यही प्रणाली शुरु गर्ने योजना छ । तर, यो प्रविधि महँगो हुने भएकाले विराटनगर र नेपालगञ्जको योजना केही समयका लागि परीक्षणकै रुपमा रहनेछ ।

यो प्रणाली निकै खर्चिलो हो ?

एउटा बेलुन उडाउँदा रु.२० हजार खर्च हुन्छ । दैनिक बिहान साढे पाँच बजे बेलुन उडाउँछौं । एउटा बेलुन एकपटकका लागि मात्र काम लाग्छ । आगामी दुई वर्षका लागि विश्वब्यांकबाट सहयोग प्राप्त भएको छ ।

comments powered by Disqus

रमझम