२४-३० असार २०७५ | 8-14 July 2018

‘मिहिनेत र धैर्यले सफल बनाउँछ’

Share:
  

सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार–२०७५ बाट पुरस्कृत गोरखा, पालुङटारका किसान राजेन्द्रराज पन्त (६४) भन्छन्, “इमानदारीपूर्वक काम गर्नु नै मेरो सफलताको कारक हो।”

केका लागि पाउनुभयो पुरस्कार ?

सम्भवतः व्यावसायिक रुपमा धेरै गाईपालन गर्ने कृषक म नै हुँ । ३५० वटा गाई पालेको छु । इमानदारीपूर्वक पशुपालन व्यवसाय गरेर सफल छु । राज्यले मेरो कामलाई चिनेर पुरस्कृत गरेकोमा थप हौसला मिलेको छ ।

मासिक कारोबार कति छ ?

२०५२ सालमा रु.१८ लाख लगानी गरेर व्यावसायिक रुपमा गाईपालन शुरु गरेको हुँ । अहिले लगानी साढे ६ करोड रुपैयाँ पुगिसकेको छ । मासिक मुनाफा करीब रु.३ लाख छ ।

दूध उत्पादन कति हुन्छ ?

दैनिक १५०० लीटर दूध उत्पादन हुन्छ । त्यो सबै भक्तपुरको खरिपाटीस्थित डेरीमा बिक्री हुन्छ सबै । ३० जनालाई रोजगार पनि दिइरहेको छु ।

गाईपालन बाहेक अरु के के गर्नुहुन्छ ?

सबै काम गाईपालनसँगै सम्बन्धित छ । ३०० रोपनी जग्गामा घाँसखेती छ । त्यही घाँसमा २० प्रतिशत सुकेको पराल मिसाएर गाईलाई खुवाउँछु । आयातित दानाले पोषण नपुग्ने र रोग लाग्ने हुँदा दाना पनि आफैं उत्पादन गर्छु । गाईपालनमा करीब करीब आत्मनिर्भर छु ।

कृषिमा भविष्य छैन भन्ने गुनासो धेरै सुनिन्छ त ?

निर्वाहमुखी कृषिबाट माथि उठ्नै पर्छ । मिहिनेत, धैर्य र कौशलले हो सफल हुने । मैले शुरुमै ठूलो महत्वाकांक्षा राखिनँ, क्याम्पस पढ्दादेखि नै कृषिमा हात हालें । शुरुमा फलफूल खेती गरें, फलफूलमा हालिने कीटनाशक औषधिले चराहरु प्रभावित हुन थालेपछि गाईपालन शुरु गरेको हुँ । मिहिनेत गर्दै यहाँसम्म आइपुगेको छु ।

comments powered by Disqus

रमझम