२८ असोज - १० कार्तिक २०७५ | 14-27 October 2018

‘चुरे संरक्षण समुदायबाटै हुनुपर्छ’

Share:
  

देशभरका सामुदायिक वनहरुको छाता संगठन सामुदायिक वन उपभोत्ता महासंघको अध्यक्षमा निर्वाचित भारती पाठक भन्छिन्, “चुरे संरक्षणको जिम्मा समुदायलाई दिइनुपर्छ ।”

सामुदायिक वन उपभोक्ता महासंघमा तपाईंको प्राथमिकता के हो ?

वन संरक्षणसँगै उपभोक्ताहरुको जीवनस्तरमा सुधार ल्याउनु नै हाम्रो प्रमुख काम हो । नेपालको कुल वन क्षेत्र वृद्धिमा सामुदायिक वन उपभोक्ताहरुको ठूलो योगदान छ । महासंघले सामुदायिक वन उपभोक्ताहरुको पक्षमा नीतिनिर्माणका लागि पैरवी गर्छ । गरीब तथा विपन्न परिवारका लागि जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिरहेको छ ।

रोजगारी सिर्जनामा महासंघको योगदान हुन सक्दैन ?

देशभरमा करीब २२ हजार सामुदायिक वन उपभोक्ता समूह छन् । २२ लाख हेक्टर वनको संरक्षण र व्यवस्थापन समुदायबाट भइरहेको छ । त्यसैले प्रत्यक्ष–परोक्ष रोजगारी सिर्जना भइरहेकै छ । वनका जडीबुटी र अन्य स्रोतलाई व्यवस्थापन गर्न सक्दा हामी अझ धेरै रोजगारी सिर्जना गर्न सक्छौं । वन क्षेत्रलाई उपयोग गरेर बढी रोजगारी सिर्जनाका लागि सरकारी नीति भने बाधक छ ।

सामुदायिक वनका समस्या के हुन् ?

अहिले पनि सरकारले पाँच हजार भन्दा बढी सामुदायिक वनको कार्ययोजना स्वीकृत गरेको छैन । नवीकरणमा आलटाल गरेको छ । वातावरणीय प्रभाव मूल्यांकन र प्रारम्भिक वातावरणीय परीक्षणका नाममा दुःख दिने काम भएको छ । सरकारले चुरेलाई ‘वातावरण संरक्षण क्षेत्र’ घोषणा गरेर ठूलो मात्रामा बजेट खर्चिए पनि संरक्षण हुनसकेको छैन । चुरे संरक्षणको काम सामुदायिक वन उपभोक्ता समूह मार्फत नै हुनुपर्छ ।

सामुदायिक वन र सरकारबीच किन विवाद भइरहन्छ ?

केही निश्चित सवालमा मात्र समस्या हो । वन ऐन विपरीत वन मन्त्रालय, विभाग र जिल्ला वन कार्यालयले परिपत्र गरेर समुदायलाई दुःख दिने र कर्मचारीतन्त्रले प्राविधिक कुरा गरेर समुदायलाई समस्यामा पार्ने गरेका कारण विवाद भएको हो ।

महासंघ एनजीओ र परियोजना सञ्चालनमा बढी केन्द्रित भएको आरोप छ नि !

यो आरोप मात्रै हो । साझा उद्देश्य भएका संस्थाहरुसँग हाम्रो सहकार्य हुन्छ । त्यसबाहेकका संस्थासँग न सहकार्य हुन्छ, न त त्यस्ता परियोजना सञ्चालन गर्छौं ।

comments powered by Disqus

रमझम