‘गलत धारणा हाबी हुँदा ब्याजदर करिडोर स्थगित’

Share:
  

ब्याजदर स्थायित्वका लागि आफैंले लागू गरेको ‘ब्याजदर करिडोर’ प्रणाली नेपाल राष्ट्र ब्यांकले दुई वर्षपछि स्थगित गरेको छ। करिडोरबारे बजारमा भ्रम फैलिएका कारण केन्द्रीय ब्यांक पछि फर्कनु परेको दाबी गर्ने राष्ट्र ब्यांकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्, “वित्ताीय बजारमा स्थायित्व ल्याउन करिडोर सफल थियो।”

ब्याजदर करिडोर स्थगित गरेर राष्ट्र ब्यांकले आफ्नो नीतिगत भूल सुधारेको हो ?

ब्याजदर करिडोरले एकातर्फ वित्तीय क्षेत्रको स्थायित्वमा सहयोग गरेको थियो भने ब्यांकहरूको तरलता व्यवस्थापन गरेर सीसीडी रेसियोलाई ८० प्रतिशतको सीमाभित्रै राख्न सफल थियो । सँगै रु.७ करोडभन्दा धेरै नाफा आर्जन गरेर सरकारको ढुकुटीमा पठाएको थियो । तर अहिले बजारमा ‘क्रेडिट क्रञ्च’ भएको बेलामा ब्याजदर करिडोरले लगानीयोग्य पूँजीको अभाव चर्काउँछ भन्ने गलत धारणा हाबी भयो । त्यसैले करिडोरको व्यवस्था हाललाई ‘होल्ड’ मा राखिएको हो ।

करिडोरले सरकारलाई कसरी नाफा भयो ?

ब्याजदर करिडोरका कारण अघिल्लो वर्ष कात्तिकदेखि असार मसान्तसम्म मात्रै राष्ट्र ब्यांकले रु.११ करोड ३६ लाख ब्याज आम्दानी गरेको थियो भने ब्याज खर्च रु.४ करोड १३ लाख मात्रै थियो । तर बजारमा के भ्रम पर्‍यो भने, ‘ब्याजदर करिडोर र खुला बजार कारोबारबाट अरु ब्यांक तथा वित्तीय संस्थाको मात्रै मुनाफा बढ्छ र, राष्ट्र ब्यांकको घट्छ’, जुन गलत हो ।

तरलता अभाव चर्किरहेकै बेला ‘रिभर्स रिपो’ चाहिं किन ?

ब्यांक तथा वित्तीय संस्थाले २० प्रतिशत तरल सम्पत्ति कायम राख्नुपर्ने व्यवस्था छ । यस्तो तरल सम्पत्तिलाई राष्ट्र ब्यांकले नखिच्ने हो भने ब्यांकहरू यसैबाट थप कर्जा दिन लालायित हुन्छन् । सीसीडी रेसियो कायमै राख्नका लागि हामीले रिभर्स रिपो जारी गरेका हौं ।

ब्याजदर नियन्त्रणमा खुला बजार कारोबारले किन सहयोग गर्न नसकेको ?

वाणिज्य ब्यांकहरू बीच हुने कारोबारको ब्याजदर नियन्त्रण गर्न राष्ट्र ब्यांकले नीतिगत दर ५ प्रतिशत तोकेको छ । अन्तरब्यांक ब्याजदरलाई लक्षितस्तरमा राख्ने खुलाबजार कारोबारबाटै हो । यसको प्रभावकारी सञ्चालनले दीर्घकालमा बजारको ब्याजदरलाई स्थायित्व प्रदान गर्छ ।

तर, अनुभवले त त्यस्तो देखाउँदैन नि !

गएको आर्थिक वर्षको कात्तिकदेखि राष्ट्र ब्यांकले ब्याजदर करिडोर लागू गरेपछि अन्तरब्यांक ब्याजदरमा स्थायित्व आएको थियो । बजारको ब्याजदरमा अंकुश लगाउन दुई–तीन वर्षको अभ्यास चाहिन्छ । अल्पकालीन र दीर्घकालीन ब्याजदरबीच सम्बन्ध स्थापित गर्न खुला बजार कारोबार र ब्याजदर करिडोरलाई सक्रिय रुपमा सञ्चालन गरिरहनुपर्छ ।

comments powered by Disqus

रमझम