१२-१८ फागुन २०७५ | 24 Feb - 2 March 2019

‘अबको भविष्य सौर्य ऊर्जाकै हो’

Share:
  

जलस्रोत तथा ऊर्जा मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्घन केन्द्रका नवनियुत्त कार्यकारी निर्देशक मधुसूदन अधिकारी भन्छन्, “सौर्य ऊर्जा हाम्रो मुख्य ऊर्जा बन्न सक्छ।”

भर्खरै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्रमुख नियुक्त हुनुभएको छ, तपाईंका योजनाहरू के छन् ?

शुरुमा केन्द्रका तर्फबाट भएका कामबारे जानकारी लिंदैछु । अबचाहिं विगतमा जस्तो अनुदान वितरण गर्ने काम हुँदैन । केन्द्रमा एउटा सानो र कुशल टीम राखेर काम गर्ने योजना छ । सौर्य ऊर्जा र लघु जलविद्युत् आयोजना मार्फत विद्युत्को पहुँच बढाउने, दाउरा र गुइँठाको प्रयोगलाई विस्थापन गर्दै आधुनिक ऊर्जा प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्य अनुसार नै काम हुन्छ ।

वैकल्पिक ऊर्जाको भविष्य कस्तो छ ?

प्रविधिको उच्चतम विकाससँगै विकसित देशहरूले सौर्य ऊर्जामा जोड दिइरहेका छन् । बाढी, पहिरो जस्ता विपत्ति र अन्य कारणले जलविद्युत् आयोजना चुनौतीपूर्ण छन् तर, सौर्य ऊर्जामा त्यस्तो चुनौती छैन । त्यसैले अबको भविष्य सौर्य ऊर्जाकै हो ।

हाम्रो सन्दर्भमा यो कुरा बढी महत्वाकांक्षी भएन र ?

सौर्य ऊर्जाको ‘एक्सपर्ट’ भएको नाताले म सौर्य ऊर्जा नै हाम्रो मुख्य ऊर्जा हुने सम्भावना देखिरहेको छु । यो लागतका हिसाबले सस्तो र असीमित छ । प्राकृतिक विपत्तिका कारण जलविद्युत्मा आउन सक्ने जस्तो समस्या सौर्य ऊर्जामा छैन । अहिलेचाहिं हामी छलफलकै क्रममा छौं ।

हाम्रो तत्कालको आवश्यकता के हो ?

अहिलेको मुख्य आवश्यकता विद्युत् ग्रिड नपुगेको ठाउँमा नवीकरणीय ऊर्जा पुर्‍याउनु हो । खासगरी देशको उत्तरी क्षेत्रमा ऊर्जाको अभाव छ । सौर्य ऊर्जा र साना जलविद्युत् आयोजना मार्फत सबै ठाउँमा उज्यालो पुर्‍याउनु जरुरी छ ।

नवीकरणीय ऊर्जाको काम स्थानीय सरकारले गर्ने भएपछि केन्द्रको भूमिका के हुन्छ ?

संवैधानिक व्यवस्था अनुसार सौर्य ऊर्जा सहित एक मेगावाट भन्दा कम क्षमताका लघु जलविद्युत् आयोजना स्थानीय सरकार मातहत पुगेको अवस्थामा अब हाम्रो भूमिका समन्वयकारी हुनेछ । स्थानीय सरकारले गर्ने काममा हामी हस्तक्षेप गर्दैनौं । प्राविधिक सल्लाह दिन्छौं । दातृ निकाय र सरकारबीच पुलको काम गर्छौ ।

comments powered by Disqus

रमझम