२६ फागुन- २ चैत २०७५ | 10-16 March 2019

‘नेपालबाट महिला क्रिकेट नै हराउन सक्छ’

Share:
  

हालै थाइल्याण्डमा सम्पन्न आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एशिया छनोटमा उपविजेता बनेको नेपाली क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलवासी भन्छिन्, “अनुभवको कमीले बाहिरियौं।”

थाइल्याण्डमा उपविजेतामै चित्त बुझाउनु पर्‍यो, है !

थाइल्याण्डमा हामीले अपेक्षित प्रदर्शन गर्न नसक्नुमा क्षमता भन्दा पनि अनुभवको कमी प्रमुख कारण हो । हामीले करीब दुई वर्षपछि मात्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यौं । यसबीच घरेलु खेलहरु पनि भएनन् । प्रतियोगितामा सहभागी हुनुभन्दा दुई महीनाअघिको तयारीले मात्र पुग्दैन ।

विश्वकपमा पुग्नका लागि के कमी भयो ?

निरन्तरको अभ्यास नै प्रमुख कुरा हो । देशमा बढीभन्दा बढी आन्तरिक प्रतियोगिता हुनुपर्छ, जुन हुनसकेको छैन । महिला क्रिकेटका मात्रै वर्षमा ४–५ वटा प्रतियोगिता हुनुपर्नेमा ‘प्रधानमन्त्री रनिङ शिल्ड’ बाहेक अर्को घरेलु प्रतियोगिता नै छैन । त्यस्तै विदेशी मैदानमा खेलको अवसरले खेलाडीको सीप र आत्मविश्वास बढाउँछ ।

थाइल्याण्डले केही त सिकायो होला नि !

एशियामा हाम्रो प्रतिस्पर्धी भनेको थाइल्याण्ड मात्र हो । थाइल्याण्ड बाहेक अरु सबै टोलीसँगको खेलमा जित नै हात पारेका हौं । तर, महिला क्रिकेटलाई थाइल्याण्डले दिएको महत्व र उनीहरुले गरेको लगानीको तुलनामा हामी धेरै पछाडि छौं । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुअघि पर्याप्त तयारी गरिनुपर्छ भन्ने सिकाइ रह्यो ।

महिला क्रिकेटको विकासका लागि तत्कालै चाहिएको के हो ?

पहिलो कुरा त महिला खेलाडीले क्रिकेट खेलेर जीवन निर्वाह गर्नै मुश्किल छ । खेलाडीले गुजारा गर्ने मात्र होइन, राम्रो खेल्न सकेमा प्रतिष्ठा, सुविधा सबै पाउँछु भन्ने सुनिश्चित हुनुपर्छ । त्यसैले महिला खेलाडीलाई कम्तीमा पनि मासिक तलब दिइनुपर्ने कुरा उठाइरहेका छौं । अर्को कुरा, खेलाडी उत्पादनका लागि स्थानीयस्तरमा नै महिला क्रिकेट प्रतियोगिताहरु आयोजना हुनुपर्दछ ।

नेपालमा महिला क्रिकेटको सम्भावना कस्तो छ ?

खेलाडीलाई प्रोत्साहन गर्ने राज्यको नीति नै देखिंदैन । सरकारले खेलाडीहरु देशका लागि खेलिरहेका छन् भन्ने सोचेर त्यही अनुसार लगानी गर्नुपर्ने हो, जुन हुनसकेको छैन । सम्भावना नदेखेरै नयाँ खेलाडी आउन सकेका छैनन् । यस्तै अवस्था कायम रह्यो भने अबको दुई वर्षपछि नेपालबाट महिला क्रिकेट नै हराउन सक्ने जोखिम छ ।

comments powered by Disqus

रमझम