३-९ चैत २०७५ | 17-23 March 2019

‘उत्पादित दूध सबै बिक्री हुँदैन’

Share:
  

प्रदेश–२, गण्डकी प्रदेश र प्रदेश–३ ले चीनबाट उन्नत गाई ल्याउन गरेको सम्झौताको विरोधमा उत्रिएका केन्द्रीय पशुपन्छी पालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी भन्छन्, “प्रदेश सरकारको निर्णयले किसान विस्थापित हुन्छन्।”

चीनबाट उन्नत नश्लका गाई ल्याउने प्रदेश सरकारहरुको निर्णयप्रति तपाईंहरुको आपत्ति किन ?

अहिले नै उत्पादन भइरहेको दूध सबै बिक्री हुन नसक्दा बेलाबेला ‘मिल्क होली डे’ हुने गरेको छ । अर्कोतिर निश्चित गाई अट्ने किसानका गोठमा बाच्छीको व्यवस्थापन गर्न धौ–धौ परिरहेको छ । यस्तो अवस्थामा थप गाई ल्याउँदा किसान विस्थापित हुन्छन् ।

चीनबाट गाई ल्याउँदा किसान कसरी विस्थापित हुन्छन् ?

कार्यविधिमा चीनबाट आयात गरिएका गाई किसानलाई वितरण गरिने उल्लेख छैन, ठूला फार्महरुलाई दिने भनिएको छ । सरकारको अनुदान र सहयोगमा ठूला फार्महरुले धेरै परिमाणमा दूध उत्पादन गर्दा साना किसानको दूध खेर जान्छ । दूध नबिकेपछि किसानहरु आफ्नो पेशाबाट विस्थापित हुन्छन् ।

अहिले उत्पादन र बजारको अवस्था कस्तो छ ?

अहिले वार्षिक दूध उत्पादन २० लाख टन छ । त्यसमध्ये ७ लाख टन दूध दुई हजार सहकारीले संकलन गरेर विभिन्न उद्योगमा पठाउँछन् । सहकारीमा आबद्ध किसानको संख्या पाँच लाख छ । त्यसैगरी ८ लाख टन दूध अनौपचारिक क्षेत्र (घर घरमा वितरण) मा बिक्री हुन्छ । बाँकी ५ लाख टनमध्ये केही भौतिक पूर्वाधारको अभावमा बजारसम्म आइपुग्दैन, बाँकी घरमै खपत हुन्छ ।

उत्पादन धेरै हुँदा उपभोक्ताले सस्तो मूल्यमा पाउने र निकासीको सम्भावना पनि हुँदैन र ?

अहिलेको बजार मूल्यबाट नै किसानलाई लागत उठाउन धौ–धौ छ । किसानले घाटा खाएर उपभोक्ताले सस्तो मूल्यमा पाउनुपर्ने भन्ने कुरा जायज हुन सक्दैन । विदेश निकासीको त सम्भावना नै छैन । चीन र भारतमा उनीहरुकै उत्पादन प्रशस्त छ । फेरि, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्योग हामीकहाँ छैनन् ।

अहिले किसानका समस्या के छन् ?

अनुत्पादक पशुको समस्या छ । उन्नत गाईबाट जन्मिएका बाच्छा प्रयोगमा आउँदैनन् । त्यसकारण बाहिरबाट माउ गाई ल्याउनु भन्दा बाच्छी मात्र जन्माउने सिमेन ल्याएर किसानलाई वितरण गर्नुपर्दछ । सरकारले किसानको उत्पादन बजारमा निर्धक्कसँग बेच्न सक्ने अवस्थाका साथै सहज ऋणको व्यवस्था गरिदिनुपर्छ ।

comments powered by Disqus

रमझम